मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओमिक्रोन बीए.५’ ले कोरोना सङ्क्रमणको चौथो लहर ल्याउला ?

सङ्क्रमण दर बढेर ६.४८ प्रतिशत पुग्यो
बिहीबार, ३० असार २०७९, ०७ : ०५
बिहीबार, ३० असार २०७९

नेपालमा असार महिनाको दोस्रो हप्तादेखि कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएको छ । ओमिक्रोन भेरियन्टको ‘बीए.५’ उपप्रजातिका कारण सङ्क्रमण बढ्न थालेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

नेपालमा पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या २०० नाघेको छ । पाटन अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले विदेशमा जस्तै नेपालमा ओमिक्रोन भेरियन्टको बीए.५ उपप्रजातिकै कारण सङ्क्रमण बढेको हुन सक्ने बताए ।

सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए. ४, बीए. ५ भेरियन्टका कारण सङ्क्रमितको दर तीव्र गतिमा बढेको सुनाउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत साता अर्थात् असार २३ गते बिहीबार देशभर ७८ जना सङ्क्रमित भएका थिए भने शुक्रबार ९८ जनामा सङ्क्रमण पुष्टि भयो । यस्तै, शनिबार  १०२, आइतबार १२१, सोमबार १६८ र मंगलबार १७७ जनामा सङ्क्रमण पुष्टि भयो ।

२९ जेठमा कुल परीक्षण गरिएका नमुनामध्ये ०.५५ प्रतिशत अर्थात् १९ जनामा सङ्क्रमण पाइएको थियो भने ठिक एक महिनापछि सङ्क्रमण दर बढेर ६.४८ प्रतिशत पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासिनीले कोरोना सङ्क्रमितमध्ये ८० प्रतिशतलाई लक्षण नदेखिन सक्छ । २० प्रतिशतलाई मात्रै लक्षण देखिने भएकाले अहिले सङ्क्रमितको सङ्ख्या कम देखिए पनि वास्तविक सङ्क्रमितको सङ्ख्या निकै बढी हुन सक्ने जिकिर गर्छन् ।

उता पाटन अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. कोइरालाले पनि समुदायमा सङ्क्रमित अझै बढी हुन सक्ने बताउँछन् । नेपालमा पछिल्लो समय विदेश जानेहरूले मात्र कोरोना परीक्षण गराउने गर्दछन् । लक्षण देखिएर परीक्षण गराउनेको सङ्ख्या न्यून रहेको उनको भनाइ छ । त्यसैले पनि समाजमा धेरैलाई सङ्क्रमण भएर पनि परीक्षण गर्न नआएका कारण ‘रेकर्ड’ मा सामेल नभएका हुनसक्ने उनले बताए ।

चौथो लहरको सम्भावना कति ?

इडीसीडीका पूर्व निर्देशक डा. मरासिनी कोरोना महामारीको चौथो लहर सुरु भएको बताउँछन् । तेस्रो लहरमा सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर घट्दै दैनिक सात÷आठ जनासम्म मात्रै सङ्क्रमित हुँदै आएको अवस्थामा पछिल्लो समय सङ्क्रमितको ग्राफ फेरि लगातार उकालो लागेकाले चौथो लहर सुरु भएको मान्न सकिने उनको भनाइ छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अधिकारी पनि कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको बताउँछन् । ओमिक्रोन भेरियन्टको बीए. ५ उपप्रजाति सङ्क्रामक भएकाले सङ्क्रमण दर बढ्ने उनको भनाइ छ ।

बीए.५ सङ्क्रामक भए पनि स्वास्थ्यमा जटिलता कति ल्याउँछ भन्ने कुरा अनुसन्धानकै विषय बनेको उनी बताउँछन् । उनका अनुसार कोरोनाविरुद्धको खोप लगाएको अवधि ६ महिना कटिसकेकाहरूमा अहिलेको सङ्क्रमणले केही जटिल लक्षण देखिएको छ । कोरोनाविरुद्धको खोप लगाएर ६ महिना कटिसकेकाहरूमा सङ्क्रमण हुँदा फोक्सोमा समस्या नदेखाए पनि घाँटीमा समस्या देखिएको र ज्वरो तथा रुघाखोकी पाइएको उनले बताए ।

पाटन अस्पतालमा उपचारका लागि आउने सङ्क्रमितहरूमा अघिल्ला लहरहरूमा जस्तो स्वास्थ्यमा जटिलता नदेखिएको पनि उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा कोरोनाविरुद्धको खोप लगाए पनि जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने, भेला, जमघट, विवाह जस्ता भिडभाड हुने कार्यक्रममा नियमित रूपमा जनस्वास्थ्यका मापदण्ड पालना नगरिएकाले सङ्क्रमणको ग्राफ तीव्र गतिमा उकालो लाग्न सक्ने बताए ।

खोप लगाउँदैमा बेवास्ता नगर्न आग्रह

कोभिड–१९ विरुद्धको खोप लगाउँदैमा सङ्क्रमण हुँदैन भन्ने भ्रममा नपर्न पनि विज्ञहरूले सुझाव दिएका छन् । कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना कटिसकेका र बुस्टर डोज नलगाएकाहरूमा सङ्क्रमणको उच्च जोखिम रहेको सङ्क्रामक रोग विशेषज्ञ डा. अधिकारी बताउँछन् । बुस्टर डोज नलगाएका र खोप नै नलगाएकालाई तत्काल खोप लगाउन उनको सुझाव छ ।

खोप लगाएको भन्दै जनस्वास्थ्यका मापदण्डलाई पालना नगर्दा खोप नलगाएका परिवारका सदस्य तथा अन्य जटिल तथा दीर्घरोगी, ज्येष्ठ नागरिकलाई सङ्क्रमण भएर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सबैजना सतर्क हुनुपर्ने उनको भनाइ छ ।

डा. कोइरालाले सामान्य रुघाखोकी लागे पनि कोरोना परीक्षण गर्न सुझाव दिए । सरकारले परीक्षणको दायरालाई फराकिलो बनाउनु पर्ने उनको भनाइ छ । परीक्षणको दायरालाई फराकिलो बनाएमा वास्तविक सङ्क्रमण दर पत्ता लाग्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप