शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आधा दर्जन नेताको दाबीः कसले मार्ला बाजी ?

मङ्गलबार, २६ मङ्सिर २०७४, १६ : ११
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं – संघीय र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर लडेका एमाले र माओवादी केन्द्रबीच ३ नं प्रदेशको सरकार गठनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ  ।

एमालेका मात्र यो प्रदेशमा धेरै प्रभावशाली नेताहरु प्रदेश सभामा निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रका पनि प्रभावशाली नेताहरुले प्रदेश सभामा चिर्वाचित भएका छन् । त्यसैले  ३ नम्बरमा मुख्यमन्त्रीका लागि रोचक प्रतिस्पर्धा हुने देखिएको हो । 

एमाले  उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौ क्षेत्र नं ८ को ख प्रदेश सभाबाट ५ हजार १ सय ६९ मत ल्याएर विजयी भएकी छन् । एमालेको ३ नम्बर प्रदेशमा सबै भन्दा सिनियर नेता उनी नै हो ।  उनलाई ३ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । उनी दुई पटक मन्त्री भइसकेकी छन् । 

शाक्य पछि धादिङका राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार मानिन्छन् । पाण्डे धादिङ क्षेत्र नं १ को प्रदेश सभा क बाट २७ हजार ३ सय ३३ मत ल्याएर विजयी भए । 
 पाण्डेपनि २०६५ सालमा स्थानीय विकास मन्त्री भएका थिए ।  उनले आफुलाई मुख्यमन्त्रीको रुपमा प्रचार गरेका थिए । उनले ३ प्रदेशको मुख्यमन्त्री भए सो क्षेत्रको विकास  र समृद्धिमा नयाँ आयाम थप्ने दाबी गर्दै भोट मागेका थिए । 

 एमालेका केशव स्थापितले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदार भएको बताउँदै आएका छन् । 
उनी  काठमाडौं क्षेत्र नं ६को प्रदेश सभा क बाट ८ हजार २२ मत ल्याएर विजयी भएका हुन् ।  उनी यो भन्दा पहिला काठमाडौको मेयर भइसकेका छन् । पछिल्लो समय भएको स्थानीय तहको निर्वाचनमा पनि  उनले पुन काठमाडौंको मेयर हुने हरसम्भव कोसिस गरेका थिए । तर सफल हुन सकेनन् । 

माओवादी केन्द्रका शाकिलराम जमरकट्टेल पनि मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिन्छन् । उनी माओवादी केन्द्रको मजदुर संगठनका प्रमुख हुन् । उनी धादिङ क्षेत्र नं १को प्रदेश सभा ख बाट २३ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका हुन् । 

यदि माओवादीले ३ नं प्रदेशको मुख्यमन्त्री हुने अवसर पाए उनीनै  प्रमुख दाबेदार हुनेछन । यसो त जम्कटेलपछि   राधिका तामाङलाई पनि मुख्यमन्त्रीको रुपमा लिइएको छ । पूर्व कृषि विकास राज्यमन्त्री समेत रहेकी उनी नुवाकोटको क्षेत्र नं १ को क प्रदेशबाट १८ हजार १ सय ३७ मत ल्याएर विजयी भएकी हुन् । 

 एमालेका दोलखाको क्षेत्र नं १ को ख बाट पशुपति चौलागाई विजयी भएका छन् । उनी एमालेका प्रभावशाली नेतामा पर्छन् । यीनले पनि आफूलाई मुख्यमन्त्रीको रुपमा प्रचार गरेर भोट मागेका थिए । उनी २३ हजार ५८ भोट ल्याएर विजयी भएका हुन् ।   उनी एमालेभित्र मुख्यमन्त्रीको लागि प्रमुख दाबेदार मानिन्छन् । 

सिन्धुपाल्चोकबाट एमालेका प्रभावशाली नेता अरुणप्रसाद नेपाल क्षेत्र नं १ को क बाट २१ हजार ७ सय १२ मत ल्याएर विजयी भएका छन् ।  उनलाई पनि मुख्यमन्त्रीको रुपमा हेरिएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नं २ को क बाट एमालेका सानुकुमार श्रेष्ठ ८ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन् ।

एमालेका पोलिटव्युरो सदस्य उनी काठमाडौंका पार्टी इन्चार्ज पनि हुन् । उनको पनि मुख्यमन्त्रीको रुपमा चर्चा हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप