सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन युद्धसँगै रुसले ३.७ गुणाले बढायो भारततर्फको निर्यात

मङ्गलबार, १७ साउन २०७९, १२ : २१
मङ्गलबार, १७ साउन २०७९

युक्रेनमा सैन्य हमला गरेसँगै रुसले भारततर्फको निर्यात ३.७ गुणाले बढाएको छ । टाइम्स अफ इण्डियाको पछिल्लो रिपोर्टअनुसार पछिल्लो दुई महिनामा रुसबाट भारततर्फ हुने निर्यात ३.७ गुणाले बढेको हो । खासगरी, युक्रेनमा सैन्य हमला सुरू गरेसँगै रुसमाथि पश्चिमा मुलुकहरूले विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाएका थिए । पश्चिमाको प्रतिबन्ध लागेसँगै रुसबाट निर्यात हुने पेट्रोलियम पदार्थको बजार समेत गुमेको थियो ।

आफ्नो परम्परागत बजार गुमे सँगै रुसले एसियाका दुई ठूला मुलुक भारत र चीनलाई पेट्रोलियम पदार्थ निर्यातको नयाँ गन्तव्यका रूपमा विकास गरिसकेको छ । यही कारणले रुसबाट भारततर्फ हुने निर्यात दुई महिनाको अवधिमै ३.७ गुणाले बढेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

रुसले अप्रिल र मे महिनामा मात्रै भारतलाई ५ अर्ब डलरको निर्यात गरेको छ । जसमा कच्चा पेट्रोलियम पदार्थको हिस्सा अधिक छ । जबकी, रुसबाट भारतमा सन् २०२१/२२ मा वर्षभरिमा जम्माजम्मी १० अर्ब डलरको निर्यात गरेको थियो ।

यस्तै, यही वर्षको फेब्रुअरी महिनामा युक्रेनमाथि हमला गरेयता भारततर्फको निर्यात साढे ३ गुणाले बढेको छ । यसअवधिमा रुसबाट भारतमा ८.६ अर्ब डलरको निर्यात भएको छ । सन् २०२१ को यही अवधिमा भारतमा रुसबाट २.५ अर्ब डलरको मात्रै निर्यात भएको थियो ।

भारतको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कच्चा तेलसँगै रासायनिक मल, हिरा, खानेतेल र कोइला लगायतको आयात समेत उल्लेख्य मात्रामा बढेको छ । जसले रुससँगै भारतको व्यापार घाटालाई झनै बढाइरहेको छ ।

सन् २०२२–२३ को पहिलो २ महिनाको अवधिमै भारतले रुससँगको व्यापारमा ४.८ अर्ब डलर व्यापारघाटा ब्यहोरेको छ । जबकी, गत वर्षको यही अवधिमा रुससँगको व्यापारमा भारत ९० करोड डलरले मात्रै घाटामा थियो ।  पछिल्लो समय भारतको घाटा चुलिँदै जानुमा भारतबाट हुने निर्यात घट्नु समेत हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप