सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा विचाराधीन विधेयकबारे कानुन मन्त्रीबाट राष्ट्रपतिलाई ‘ब्रिफिङ’

बिहीबार, ०९ भदौ २०७९, १७ : ४७
बिहीबार, ०९ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले कानुन निर्माण प्रक्रिया र संसदमा विचाराधीन विधेयकका सम्बन्धमा सरकारको योजना बारेमा ‘ब्रिफिङ’ गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति भण्डारीसँग भएको भेटमा कानुन निर्माण प्रक्रिया, संसदमा विचाराधीन विधेयक लगायतका विषयमा सरकारको योजना ‘ब्रिफिङ’ गरेको मन्त्री शर्माले रातोपाटीलाई जानकारी दिए । सो अवसरमा महान्यायाधिवक्ता खम्मबहादुर खाती पनि सहभागी थिए ।

भेटमा राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवाला र पीडित पक्षले उठाएका विषयबारे चासो राखेकी थिइन् ।

जवाफमा मन्त्री शर्माले पीडित तथा सरोकारवालाले उठाएको विषयलाई संसदीय प्रक्रियाबाटै सम्बोधन गर्न सरकार र राजनीतिक दल तयार भएको राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका थिए ।

उनले देशकै समस्याका रुपमा रहेको यो समस्या समाधानमा देशकै अभिभावकको भूमिकामा रहेको राष्ट्रपतिबाट सबै पक्षको सहयोग जुटाउने भूमिका निर्वाहका लागि आग्रहसमेत गरेका थिए । यस सम्बन्धमा राष्ट्रपतिले सकारात्मक जवाफ दिएको मन्त्री शर्माको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप