शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले समानुपातिकमा मापदण्ड नबनाउँदा एउटैलाई अवसर

मङ्गलबार, १४ भदौ २०७९, ०७ : १९
मङ्गलबार, १४ भदौ २०७९

नेकपा माओवादी केन्द्रको गत असार १९ गतेदेखि २३ गतेसम्म केन्द्रीय समिति बैठक बस्यो । सबै प्रदेश अध्यक्षहरूले आ–आफ्नो प्रदेशको रिपोर्टिङ पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरू समक्ष प्रस्तुत गरे । 

त्यति बेला कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले समानुपातिक सांसद नबस्ने उद्घोष गरिन् । पहिलो संविधान सभा २०७४ सालमा समानुपातिक सांसदमा बसेकी केसी दोस्रो संविधान सभा चुनावमा प्रत्यक्ष वा समानुपातिक कतै बसिनन् । २०७४ सालको चुनावमा रुकुमबाट प्रदेश सभामा चुनाव लड्ने तयारी गरेकी थिइन् । तर, पार्टीका नेता व्यवस्थापन गर्नुपर्ने भन्दै केसीलाई प्रदेशमा एक नम्बर समानुपातिक लिस्टमा राखेर प्रत्यक्षमा रातो कामी र गोपाल शर्मालाई चुनावमा लडाइयो । 

पार्टीमा सबैलाई अवसर दिनुपर्ने भन्दै केसीले गत असार १९ गतेको केन्द्रीय समिति बैठकमै अब आउने चुनावमा समानुपातिकमा नबस्ने घोषणा गरेको एक महिला केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिइन् । ‘अब आउने चुनावमा समानुपातिकमा जादिनँ । एक पटक समानुपातिकमा भई सकेका दोहोर्‍याएर जानुहुँदैन । एउटा मान्छे समानुपातिकमा पटक पटक दोहोरिने कुरा राम्रो होइन’ केसीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी ती केन्द्रीय सदस्यले भनिन्, ‘समानुपातिक अवसर नपाएकालाई दिने हो । एक पटक समानुपातिक भई सकेपछि प्रत्यक्षमा लड्न सक्षम भई सक्छ । समानुपातिक सजिलो पद भयो जसलाई राख्न मन लाग्यो राख्यो । अवसरको न्यायोचित वितरण भएन ।’

पार्टीलाई सही ढङ्गले चलाउने हो भने समानुपातिकमा एक पटक बस्ने व्यवस्था गर्न केसीले माग गरेकी थिइन । ‘पार्टीलाई सही ढङ्गले चलाउने हो भने समानुपातिकमा एक पटक बस्ने व्यवस्था गर्नुपर्छ । यो पार्टीमा कोही सधैँ मतदाता भई रहने कोही समानुपातिक भएर खाइरहन न्यायोचित हुँदैन । पार्टीमा सबैलाई समेटेर लग्नुपर्छ’ केसीको भनाई उद्धत गर्दै ती केन्द्रीय सदस्यले भनिन्, ‘यो मुलुकमा सांसद मन्त्री, प्रधानमन्त्री कति पटक हुने व्यवस्था गर्नुपर्छ ? अमेरिका २ कार्यकाल राष्ट्रपति भयो सकियो । यहाँ बाँचुन्जेल सांसद र मन्त्री हुने व्यवस्था राम्रो भएन ।’ 

तर, कर्णाली प्रदेशकी अध्यक्ष केसीले पार्टी बैठकमा बोलेको विषय बाहिर मिडियामा बोल्दा राम्रो नहुने भन्दै बोल्न अस्वीकार गरिन् । यद्यपि समानुपातिक सांसदमा एक पटक बसेपछि दोहोर्‍याएर बस्न नमिल्ने व्यवस्था आधिकारिक रूपमा निर्णय गरेर जानुपर्ने केसीले जिकिर गरिन् । कर्णाली प्रदेशले समेत संघ र प्रदेशमा एक पटक समानुपातिकमा बसिसकेको व्यक्तिको पुनः नाम सिफारिस नगर्ने बचन दिइन् । 

उता नेपाली काँग्रेस र नेकपा एमालेले समानुपातिक सांसद नदोहोर्‍याउने निर्णय गरिसकेका छन् । आगामी निर्वाचनमा समानुपातिक लिस्टमा नदोहोर्‍याएर नाम सिफारिस गर्न निर्देशन दिइसकेका छन् । 

​नेकपा माओवादीले केन्द्रले समानुपातिक सांसदमा बलियो मापदण्ड बनाउन नसक्दा २०६४ सालदेखि नेताहरू निरन्तर दोहोरिँदै आएका छन् । आगामी निर्वाचनमा समेत माओवादीले समानुपातिक सांसदको हकमा समेत मापदण्ड बनाउने तयारी गरेको छैन । अहिले माओवादीमा प्रत्यक्षमा टिकट पाए प्रत्यक्षबाट, नपाएको अवस्थामा समानुपातिकबाट निरन्तर सांसद पद पाइरहेका छन् । 

पार्टी स्थायी समिति सदस्य एवम् समानुपातिक सांसद अमृता थापामगरले प्रत्यक्ष र समानुपातिक दुबैमा दुई भन्दा बढी कार्यकाल चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने बताइन् । ‘हामीलाई समानुपातिकमा एउटै व्यक्तिलाई बनाइयो भनेर भनिन्छ । प्रत्यक्षमा पनि उस्तै हालत छ । एउटै व्यक्ति हुँदाहुँदा २०४८ सालदेखि लडिरहेको छ’ रातोपाटीसँग कुरा गर्दै थापा मगरले भनिन्, ‘प्रत्यक्ष र समानुपातिक विधि फरक भए पनि पुग्ने संसद्‍मै हो । त्यसैले दुवै प्रणालीमा निश्चित कार्यकाल तोकौँ ।’ तर संसदमा आउनै पर्ने नेताको हकमा भने दोहोर्‍याएर चुनाव लड्ने व्यवस्था गर्नुपर्ने थापामगरले बताइन ।

माओवादीले बनाउँदै बनाएन मापदण्ड 

पार्टी स्थायी समिति सदस्य ओन्सरी घर्ती, जयपुरी घर्ती, सत्या पहाडी, पूर्णाकुमारी सुवेदी निरन्तर सांसद पदमा छन् । ओन्सरी पहिलो संविधान सभा चुनावमा समानुपातिक थिइन् भने दोस्रो संविधान सभा चुनावमा रोल्पाबाट प्रत्यक्ष चुनाव जितेकी थिइन । त्यसपछि ओन्सरी सभामुख भई २०७४ सालको चुनावमा समानुपातिक सांसदमा परिन । ओन्सरी छोटो अवधिका लागि खेलकुद मन्त्री समेत भएकी थिइन् । उनी पार्टी उपमहासचिव वर्षमान पुनकी श्रीमती हुन् । 

यस्तै जयपुरी पहिलो संविधान सभा चुनावमा रोल्पाबाट निर्वाचित भएकी थिइन् । त्यसपछि जयपुरी महिला तथा बालबालिका मन्त्री समेत भएकी थिइन् । दोस्रो संविधान सभा चुनावमा जयपुरीले मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भई चुनाव बहिस्कार गरिन् । २०७४ सालको चुनावमा प्रत्यक्ष चुनाव लड्न खोजे पनि नमिलेपछि जयपुरी समानुपातिक लिस्टमा बसिन् ।

यस्तै सत्या पहाडी पहिलो संविधान सभा २०६४ सालको चुनावमा डोल्पाबाट प्रत्यक्ष चुनाव जितिन् । लगतै शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी समेत सम्हालिन । दोस्रो संविधान सभा २०७० सालको चुनावमा डोल्पाबाट पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक सांसद भइन । सत्या उपमहासचिव शक्तिबहादुर बस्नेतकी श्रीमती हुन् । 

यस्तै स्थायी समिति सदस्य पूर्णाकुमारी सुवेदी पहिलो संविधान सभा चुनावमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भइन्। त्यसपछि उपसभामुख भई संसद्को बैठक समेत सम्हाल्ने अवसर पाइन् । २०७० सालको दोस्रो संविधान सभा चुनावमा पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक लिस्टमा परिन् । 

अर्की स्थायी समिति सदस्य रेखा शर्मा पहिलो संविधान सभा चुुनावमा प्रत्यक्ष वा समानुपातिक कतै परिनन् । दोस्रो संविधान सभा २०७० सालमा समानुपातिक लिस्टमा परेर  सामान्य प्रशासन मन्त्री भइन् । २०७४ सालको चुनावमा भने रेखा समानुपातिक लिस्टमा परिन् । रेखा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काकी श्रीमती हुन् । 

यस्तै अर्की स्थायी समिति सदस्य धर्मशिला चापागाई पहिलो संविधान सभा २०६४ सालको चुनावमा झापा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । त्यसपछि तत्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्य राज्य मन्त्री समेत भएकी थिइन् । दोस्रो संविधान सभा चुनाव २०७० सालमा झापाबाटै पराजित भएकी थिइन । २०७४ सालको चुनावमा भने धर्मशिला समानुपातिक लिस्टमा परेकी थिइन् । 

यस्तै स्थायी समिति सदस्य अमृता थापा मगर पहिलो संविधान सभा २०६४ सालको चुनावमा समानुपातिकमा थिइन भने २०७४ सालको चुनावमा समेत समानुपातिकमा परिन् । थापामगर सचिव हितमान शाक्यकी श्रीमती समेत हुन् । 

अर्की स्थायी समिति सदस्य यशोदा सुवेदी गुरुङ पहिलो संविधान सभा २०७४ र २०७४ सालको चुनावमा गरेर दुई पटक समानुपातिकमा परिन् । सुवेदी बाहुन परिवारमा जन्मेपनि गुरुङ समुदाय अर्थात् जनजाति समुदायबाट समानुपातिकमा सांसद भएको भन्दै पार्टीमा आलोचना समेत भएको थियो । सुवेदी पार्टी महासचिव देव गुरुङकी श्रीमती समेत हुन् ।  

स्थायी समिति सदस्य एवम भूमि सुधार मन्त्री शशी श्रेष्ठ २०७४ सालको चुनावमा समानुपातिक सांसदमा बसेकी थिइन् । श्रेष्ठ यसअघि स्वास्थ्य राज्य मन्त्री मात्रै भएकी थिइन् । उनी स्थायी समिति सदस्य लीलामणि पोखरेलकी श्रीमती समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप