आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कविता : इच्छापत्र

शनिबार, २५ भदौ २०७९, ०६ : २४
शनिबार, २५ भदौ २०७९

थोपा–थोपा आँसुको बिचमा 
श्रद्धाञ्जली दिन नपरोस्
तिम्रो ईच्छा, तिम्रो बृद्धि 
सधैँ तिम्रै हातमा रहिरहोस् ।
जहाँ फुलहरूले 
तिमीलाई पर्खियोस्
त्यही फुल टिपेर
तिमीलाई विदाई गर्ने
ईच्छापत्र कोर्दैछु 
जुन ईच्छापत्रमा तिम्रो 
भाग्य र भविष्य कोरियोस् ।
हो, आज म 
त्यही ईच्छापत्रको खोजीमा छु
जुन ईच्छापत्रमा 
सबैको साझा भविष्य 
सबैको साझा उद्देश्य 
सबैको साझा संकल्प रहिरहोस् ।
जहाँ सिरा र धमनीहरूले 
श्वासप्रश्वासमा सहयोग गरून्
फोक्सोले मुटुको चाललाई
नियन्त्रण गरोस्  ।
मस्तिष्कहरू आपसमा 
समानताको खोजीमा रहुन् 
बस म यही ईच्छापत्रको 
खोजीमा छु ।
....
सारा ईच्छाहरू 
देश विकासमा तल्लीन होऊन्
देशको साझा लक्ष्य 
देशको साझा अठोट
सबै सबै 
साझा बनेर हाम्रो 
संकल्पको आधार बनुन् 
हराएका ईच्छाहरू 
विकासका मूलधार बनुन्
विचारको मूलप्रवाहमा 
आएका ईच्छाहरू 
एउटा अविरल प्रवाहको
कोशेढुंगा सावित होऊन् । 
...
हिजोका दिनमा तिमी र म
भेटिएका ठाउँहरु 
आज एउटा अनौठो 
दृष्यको उपज जस्तै भएको छ । 
जहाँ हिजो तोप र बारुदहरुले
भरिएको डाँडा पाखा 
आज उराठलाग्दा पाखामा 
रुपान्तरण भएका छन्
केवल 
निस्सासिदो यादहरुले 
ती तिम्रा इच्छापत्रसंगै
आज पनि तिम्रो याद आइरहेको छ । 
....
पूर्वको भोजपुर हो 
या पश्चिमको फिली 
कैयौ योद्धाहरुले आफ्नो ज्यान 
दिएको त्यो क्षण 
चाहे आलोक होस् या जमिन
संगै लडेका साथीहरु आज 
उनै योद्धाको इच्छापत्रको 
खोजी गर्दै भ्रष्टको 
टाउकोमा आफ्नो टाउको 
मिलाउँदै आफूलाई 
अव्वल  भ्रष्टको दाँजोमा 
पुर्याइरहेका छन् । 
...
रोल्पाको थवाङदेखि 
भोजपुरको साल्पा सिलिछो पहाडको 
काखमा आफूलाई 
कर्मठ योद्धा भनी चिनाउने
विर्खे, साने, हिमाल, गोपाल, बादल
सबै सबै आज 
तिनै युद्धमा सहिद भएका योद्धाहरुको 
संकल्पमा आफूलाई दुराचारको नाइके 
बनाइरहेका छन् । 
सहिदको आमा आफ्नो 
मनलाई थम्थमाउदै 
तिनै लासरुपी आवाजहरुलाई 
सुन्न विवश छन् 
किनकि 
त्यहाँ आफ्ना सन्तानको इच्छापत्र 
बेचिएको छ । 
...
चितवनको शक्तिखोरदेखि 
कामीडाँडासम्मका कुराहरु 
लुकाउन सक्ने क्षमता भएका
मेरा राजनीतिक नायकहरुलाई 
सलाम गर्ने अठोट थियो 
तर ?
ती सलाम वेकार छन् यहाँ 
किनकि, 
त्यहाँ योद्धाहरुको 
इच्छापत्र च्यातिएको छ । 
...
चालिस बुँदे मागपत्र बुझाएर 
युद्धमा होमिएका ब्वाँसाहरु 
आज आफ्नो पेट भरेर 
फ्याउरा जस्तो कराइरहेका छन् 
अनि छिन्न भिन्न भएर आ–आफ्नो 
पोल उघारिरहेका छन्
कागले आफ्नो नाम 
आफैले काढेजस्तो गरी 
सहिदका इच्छापत्रलाई धुमिल पार्दै
काठमाडौंको सेकुवा, सुकुटी 
र, आलो मासुमा आफ्नो 
गिद्धेनजर लगाउँदै 
बसिरहेका छन् 
स्यालले साँढेको फल हेरेझै गरेर । 
...
कालिकोटको मान्मादेखि 
इलामको देउमाईसम्ममा 
आन्दोलनले केवल केही ठाउँमा 
‘नो भोट’को सबक त सिकायो 
तर ?
त्यसले शासकलाई शासन गर्न 
थप सजिलो बनाउँदै लगेको छ । 
फेरि पनि 
दुई किनाराका यात्रीहरु 
एकै भगालोमा सामेल हुने भन्दै 
जनताको आँखामा छारो हाल्दै 
शासन गर्ने नयाँ शैली 
अपनाउँदै छन् यहाँ 
किनकि,
फेरि पनि सयौँको इच्छापत्र 
हराउनेछ यहाँ ।  

साल्पासिलिछो, भोजपुर  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिकुमार श्रेष्ठ 'सिजन'
मणिकुमार श्रेष्ठ 'सिजन'
लेखकबाट थप