गोरखा दरबारको दसैं घरमा विधिपूर्वक जमरा राखियो
गोरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा दसैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभ साइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए ।
मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूल दरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।
बडा दसैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए ।
मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले बताए । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद
-
विल ज्याक्स र विराट कोहलीको उत्कृष्ट ब्याटिङसँगै बैंगलुरुले सजिलै हरायो गुजरातलाई
-
दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
-
खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ : प्रशिक्षक मोन्टी
-
बझाङमा एमालेलाई पछ्याउँदै माओवादी
-
सीईओ अरुणले भने– भारत-नेपालमा हाइड्रोजनको क्षेत्रमा अझ बढी लगानी गर्न चाहन्छ