सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

यस्तो जेल जहाँ कैदीले जीवनसाथीसँग बिताउन पाउँछन् निजी पल

मङ्गलबार, २५ असोज २०७९, १२ : २७
मङ्गलबार, २५ असोज २०७९

भारतको पञ्जाब राज्यमा कैदीलाई एउटा खास सुविधा दिइएको छ, जसको व्यापक चर्चा भइरहेको छ । हत्या मामिलाका ६० वर्षीय अभियुक्त गुरजीत सिंह त्यस्तो सुविधा भोग गर्ने पहिलो कैदी हुन् । उनी तरन तारन जिल्लाको गोइन्दवाल जेलमा छन् । उनले विशेष सुविधा उपभोग गर्दै भने, ‘जेल भनेको जेल नै हो, कुनै पनि जेलमा कैदीले एक्लोपन महसुस गर्छ नै, तर केही दिनअघि जब मेरी पत्नी मलाई भेट्न आइन्, हामीले यहाँ एकान्तमा केही घण्टा बितायौं, मेरोलागि यो ठुलो राहतको कुरा थियो ।’

गुरदासपुर घर भएका गुरजीत यो सुविधाका लागि पञ्जाब सरकारप्रति आभार प्रकट गर्दछन् । भारतमा पञ्जाब राज्य जेलभित्र पति–पत्नीलाई एकान्तमा भेट्न सुविधा दिने पहिलो राज्य बनेको छ । यो नियमपछि कैदीले आफ्नो पति वा पत्नीसँग एकान्तमा भेट्न पाउने भएका छन् । यस क्रममा उनीहरुलाई शारीरिक सम्बन्ध राख्न पाउने छुटसमेत छ ।

गुरजीत भन्छन्, ‘विवाह प्रेमको पवित्र बन्धन हो, त्यसैले सरकारले विवाहित दम्पतीलाई जेलमा निजी भेटघाटको मौका दिएको छ, हामीले त्यसको लाभ लिनुपर्छ ।’ पञ्जाबमा यसअघि कैदीलाई शारीरिक सम्पर्कको अनुमति थिएन । जेलमा भेट्न आउने व्यक्तिले सम्बन्धित कैदीसँग निश्चित दुरीमा रहेर फोनमार्फत कुरा गर्नु पर्दथ्यो । आगन्तुक र कैदीबीच शीशाको पर्खाल हुन्थ्यो, उनीहरुले एक अर्कालाई देख्न सक्थे तर छुन पाउँदैन थिए ।

पञ्जाबका विशेष महानिर्देशक (जेल) हरप्रित सिद्धु भन्छन्, ‘कोही जेलमा छ, तर उसकै पति वा पत्नी जेल बाहिर छ भने जेल बाहिर रहेका ती व्यक्तिलाई सजाय दिनुको अर्थ छैन, हामी कैदीको तनाव काबुमा रहोस् र समाजमा उसको फिर्ती सुनिश्चित होस् भन्ने चाहन्छौं ।’

पञ्जाबको जेलमा कैदीलाई उसको जीवनसाथीसँग एकान्तमा भेट गर्न दिने फैसला भारतमै यस प्रकारको पहिलो पाइलट प्रोजेक्ट रहेको उनले बताए । उनले भने, ‘२० सेप्टेम्बरमा यो सुविधा तीन जेलमा सुरु गरियो, ३ अक्टोबरसम्म राज्यको २५ जेलमध्ये १७ वटामा यो सुविधा लागू भइसकेको छ ।’

दम्पतीको मिलन वा उनीहरुबीच यौन सम्बन्ध एउटा आवश्यकता रहेको उनको भनाइ छ । ‘विभिन्न मुलुकका जेलमा पनि यस्तो अनुमति छ,’ उनले भने, ‘अदालतका विभिन्न आदेशले पनि यस प्रकारको कदमको समर्थन गरेकाले हामीले यो महसुस गरेका हौं ।’

अधिकारीहरुका अनुसार पहिलो साता नै कैदीका तर्फबाट यस प्रकारको भेटका लागि ३८५ वटा आवेदन प्राप्त भएको थियो ।

ठगी सम्बन्धमा जेल सजाय पाएका ३७ वर्षीय जोगा सिंह पनि यो सुविधाबाट लाभान्वित हुनेमध्ये एक हुन् । उनले भने, ‘मैले आफ्नो परिवारलाई महिनौंदेखि भेट्न पाएको थिइनँ । यो कुरालाई मलाई भित्रैदेखि सताइरहेको थियो । तर नयाँ नियमअनुसार मैले जेलभित्रै आफ्नी पत्नीसँग एकान्तमा भेट गर्न पाएँ, यसले मलाई ऊर्जा प्रदान गरेको छ ।’

गोप्य भेटघाटका लागि कोठाको प्रवन्ध

गोइन्दवाल साहिबको एउटा जेलमा अन्य जेलजस्तै ‘डबल क्लियरेन्स सेक्युरिटी सिस्टम’ छ । जेलभित्र कैदीलाई आफ्नो जीवनसाथीसँग एकान्तमा भेट गर्ने सुविधाका लागि पहिलो तलामा कोठा बनाइएको छ । कोठामा डबल बेड, वाशरुम, एउटा मेच, दुई वटा कुर्सी, एउटा सानो स्टुल, पानीले भरिएको जग र दुई वटा गिलास राखिएको छ ।

जेल वार्डन ललित कोहलीले भने, ‘जब कोठाभित्र दम्पती जान्छन्, बाहिरबाट ढोका बन्द गरिन्छ । जोडीलाई दुई घण्टासम्म भित्र बस्न अनुमति दिइन्छ ।’

यस क्रममा उनीहरुलाई केही आवश्यक परेमा घण्टी बजाएर मगाउन सकिने सुविधा छ । यस्तो अनुमति पाउनका लागि कैदीको चालचलन र रेकर्ड हेर्ने गरिएको कोहली बताउँछन् ।

जेल अधिकारीहरुका अनुसार यस प्रकारको सुविधा केवल यौन सम्पर्कका लागि मात्र नभएर पारिवारिक सम्बन्धलाई मजबुत बनाउनका लागि पनि हो । यस्तो सुविधाले कैदीमा पुनर्वासको सम्भावनालाई वृद्धि गर्दछ ।

अति जोखिमपूर्ण मानिएका कैदी, ग्याङस्टार्स, आतंकवादीको हकमा भने यो सुविधा नरहेको अधिकारीहरु बताउँछन् । यस्तै, क्षयरोग, एचआइभी, यौन संक्रमित रोग भएका कैदीलाई पनि यस्तो सुविधा उपलब्ध हुने छैन ।

पछिल्लो तीन महिना जेलमा कुनै प्रकारको अपराधमा संलग्न भएकाले पनि यस्तो सुविधा पाउने छैनन् । तीन महिनादेखि आफ्नो ड्युटी नगरेका कैदीलाई पनि यस्तो सुविधाबाट वञ्चित गरिने छ ।

यो नियम अन्तर्गत त्यस्ता कैदीलाई सुविधा दिइने छ, जो लामो समयदेखि जेलमा छन्, जसको कम्तीमा एउटा बच्चा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप