बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा कांग्रेस र माओवादी केन्द्रका ९ जना बागी उम्मेदवारलाई कारबाही

शुक्रबार, २८ असोज २०७९, १५ : ५७
शुक्रबार, २८ असोज २०७९

कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ९ जना बागी उम्मेदवार कारवाहीमा परेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका ७ र माओवादी केन्द्रका २ सहित ९ जना कारवाहीमा परेका हुन् ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कैलाली निर्वाचन क्षेत्र नं. २ (ख) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाहीलाई कारवाही गरिएको बताए । निर्वाचन क्षेत्र नं. ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरिएको उनको भनाइ छ । निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाहीलाई पनि कारवाही गरिएको उनले बताए ।

यस्तै, निर्वाचन क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठकलाई पनि कारवाही गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति भट्टले बताए । शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बम विरुद्ध उम्मेदवारी दिएका हुन् । निर्वाचन क्षेत्र नं. क्षेत्र नं. ५ (ख) बाट उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि कारवाही भएको छ । कांग्रेसका विद्यार्थी नेता रहेका भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाका स्वकीय सचिव समेत हुन् । सभापति भट्टले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बागी उम्मेदवारहरूलाई स्वतः कारवाही गरिएकाले जिल्लाबाट कारवाही नगरेको स्पष्ट पारे ।

माओवादीका को–को परे कारवाहीमा ?

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले पनि गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनालाई कारबाही गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही भएको जनाइएको हो ।

कैलाली निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका माओवादीका भोजराज सापकोटा र निर्वाचन क्षेत्र ५ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले जनाएका छन् । सापकोटा माओवादी केन्द्रका गौरीगंगा नगर समिति उपाध्यक्ष हुन् भने बस्नेत साधारण सदस्य हुन् ।

कैलाली क्षेत्र नं. ४ प्रदेशसभा (क) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नं. ५ प्रदेशसभा (क)मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप