शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अन्डरग्राउन्ड पार्किङको अनुमगन गर्दै पोखरा महानगर, अटेर गर्नेलाई अल्टिमेटम

शुक्रबार, २८ असोज २०७९, २० : १२
शुक्रबार, २८ असोज २०७९

पोखरा महानगरले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न सूचना जारी गरेको शुक्रबार ४५ औँ दिन पुगेको छ । महानगरले जारी गरको अल्टिमेटम १० दिन बढी हुँदा पनि पालना नभएपछि शुक्रबार नगरप्रहरी, कर्मचारी र इन्जिनियरसहितको टोलीले मुख्य चोकमा अनुगमन थालिएको हो । 

टोलीले पार्किङ अनुमति लिएर नियमविपरीत व्यवसाय गर्नेहरुलाई अल्टिमेटमसहित कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका नगरप्रहरी प्रमुख तथा प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले यसबीचमा दसैँ भएकाले व्यवसायीलाई दुःख नदिएको तर, अब पनि अटेर गर्नेलाई कानुनी दायरामा ल्याउने बताए । ‘महानगर अब चुप बस्दैन,’ प्रमुख थापाले भने, ‘पहिलो चरणमा उहाँहरुलाई खबर गरेर हटाउने समय दिएका छौँ । यदि अटेर गरे सामान जफतसहित उहाँहरूकै खर्चमा महानगरले अन्डरग्राउन्ड खाली गर्छ ।’ 

महानगरले भदौ १३ गते पहिलो पटक सूचना जारी गरेको थियो । मेयर धनराज आचार्यले अन्डरग्राउन्डमा व्यापार व्यवसायी गर्नेलाई सवारी पार्किङ गरेर महानगरलाई सहयोग गर्न अनुरोध गरेका थिए । तर, अन्डग्राउन्ड खाली नभएपछि शुक्रबार ४२ वटा भवनमा अनुगमनसहित अल्टिमेटम दिएको इन्जिनियर सुदीप दवाडीले बताए । ‘अनुगमनमा धेरै व्यवसायी पोजेटिभ देखिनुभछ । यत्रो वर्ष त व्यापार गर्‍यौँ । अब तिहारसम्म छोडिदिनुस् भन्नुभएको छ । तिहारपछि पनि अटेर गरे हामी नगर प्रहरी परिचालन गरेर हटाउँछौँ,’ इन्जिनियर दवाडीले सुनाए । 

उनका अनुसार पोखरामा करिब २५० अन्डरग्राउण्ड अनुमति लिएका भवन छन् । तर, पार्किङ गर्ने करिब ६० भवन मात्र भएको छन् । ‘महानगर अझै २ सयभन्दा बढिले पार्किङ नगरी व्यवसायी गरिरहेका छन् । केहीले हाम्रो महानगरको सूचना पछि खाली गर्नुभएको छ । उहाँहरुलाई धन्यवाद पनि दियौँ,’ इन्जिनियर दवाडीले भने ।  
 
टोलीले मुख्य चोकहरू महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजारमा अनुगमन गरेको छ । यहाँ अफिस समयमा चारपांग्रे सवारी पार्किङ गर्ने ठाउँ पाउन मुस्किल हुन्छ । चारपांग्रे सवारी प्रयोगकर्ताले दुई पांग्रे सवारी लिएर बजार डुल्नुपर्ने अवस्था छ । पार्किङ गर्न अर्को व्यक्तिले कुन बेला निकाल्छ, हेरेर बस्नुपर्छ । कुनै बेला त्यो पनि पाइँदैन ।

०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले पार्किङलाई व्यवस्थित गर्न अन्डरग्राउन्ड खाली गर्न सूचना जारी गरे पनि त्यो सम्भव भएन । बरु पार्किङ शुल्क उठाउने ठेक्का लगाइयो । अहिले पार्किङ दुई पांग्रे सवारी पार्किङ गरेको ५ र ४ पांग्रे सवारीका २० रुपैयाँ लिइन्छ ।  त्यो ठेक्काले पनि नागरिकले कर तिरे अनुसार पार्किङको समस्या ज्यूँका त्यूँ छ । महानगरको मुख्य चोकमा निर्माण हुने घरले अहिले अन्डरग्राउन्ड बनाउनै पर्ने व्यवस्था छ । नत्र त्यो नक्सा पास नहुने मेयर धनराज आचार्य बताउँछन् । ‘अन्डग्राउन्ड खाली गरेर पार्किङ गर्ने आफ्नै साधन हो । हामीले बाहिर दिनुस् भनेका छनौं । यति पब्लिकलाई दिनुहुन्छ भने, शुल्क लिएर उहाँहरुले दिनसक्नुहुन्छ,’ मेयर आचार्यले भने ।

पोखरा महानगरले आर्थिक वर्ष ०७६ /७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवनको नक्सापास गर्दा दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरेको थियो । यो आर्थिक वर्षमा अन्डरग्रान्डको पार्किङ गर्नेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइरहेको छ । तर, राजस्व छुट लिएपनि महानगरभित्रका २०० सयभन्दा बढी घरले व्यापार व्यवसाय सञ्चालन गरिरहेको महानगरमा अभिलेख छ । 

इन्जिनियर दवाडीले नक्सा पास र घर निर्माण गर्दा गरिएको वाचा सबैले पालना गर्नुपर्ने बताए । ‘अघिल्लो पटकै जनप्रतिनिधि हुँदा अन्डरग्राउन्डलाई पार्किङकै लागि प्रयोग गर्नेहरुलाई राजश्व छुटको दिँदै आएका छौं । त्यो पालना गर्ने धेरै छैनन्,’ उनले भने । पोखरामा ८ सय सार्वजनिक बस छन्, २५ सयभन्दा बढी दुई पांग्रे सवारी र २२ सयभन्दा बढी ट्याक्सी छन् । निरन्तर चल्ने सावरीको यकिन डाटा महानगरसँग छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप