शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एल क्लासिको आज : दुई नम्बर ९ को भिडन्त

आइतबार, ३० असोज २०७९, १३ : ४९
आइतबार, ३० असोज २०७९

गत सिजन रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन करिम बेन्जेमाको गोल वर्षाले महत्त्वपूर्ण भूमिका खेलिरहँदा बार्सिलोनाले रियलको ‘फायरपावर’ को बदलामा आफ्नो ‘फायरपावर’, ‘फरवार्ड’को बदलामा ‘फरवार्ड’ तयार गर्ने योजना बुन्दै थियो ।

गत सिजन प्रति खेल ०.९६ गोलको दरले बेन्जेमाले सबै प्रतियोगिताका ४६ खेलमा ४४ गोल गर्दै आफूलाई बालोन डो’ओर उपाधिका लागि प्रमुख दाबेदारका रूपमा उभ्याएका छन् । ​बेन्जेमालाई काउन्टर दिन बार्सिलोनाले यो जेनेरसनको अर्का चर्चित ‘नम्बर ९’ रोबर्ट लेवान्डोस्कीलाई भित्र्याएको छ । गत सिजन बायर्न म्युनिखका लागि उनले प्रति खेल १.०९ गोलको दरले ५० गोल बढी गर्न सफल भएका थिए । आइतबार सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले स्यान्टियागो बेर्नेबाउमा बार्सिलोनाको आतिथ्य गर्दा दुई फरवार्ड बेन्जेमा र लेवान्डोस्की आमनेसामने हुँदैछन् । 

यो सिजन दुवै टोली ला लिगामा अपराजित रहेका छन् । दुवै टोलीको समान अङ्क भए पनि बार्सा गोलअन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ भने ३४ वर्षीय लेवान्डोस्की ८ खेलमा ९ गोल गर्दै सबैभन्दा धेरै गोल गर्नेको सूचीमा शीर्ष स्थानमा छन् ।

‘लेवान्डोस्की यो सिजन बार्सिलोनाका लागि प्रभावशाली देखिएका छन्,’ बार्सिलोना तथा स्पेनका पूर्व डिफेन्डर अल्बर्ट फेररले भने, ‘लेवान्डोस्कीले बार्सिलोनालाई एउटा थप कुरा दिएका छन् जुन टोलीले मिस गरिरहेको थियो । गोल गर्नु र बक्समा सधैँ चुनौतीका रूपमा रहनुका साथै उनले अन्य खेलाडीलाई पनि कुन ठाउँमा रहने भनेर सिकाइरहेका हुन्छन् । उनले खेलको ९० मिनेट अन्य खेलाडीलाई मद्दत गर्दै गोलको अवसरहरू सिर्जना गरिरहेका हुन्छन् । ज्याभीको खेल्ने तरिका र ओसमान डेम्बेले र राफिनाजस्ता विंगरहरुको पासले गर्दा पोलिस खेलाडीलाई झन् मद्दत मिलेको छ ।’

गत सिजन लिग उपाधितर्फ अघि बढिरहँदा करिम बेन्जेमा बिना कार्लो एन्चेलोटीको टोली बार्सिलोनासँग ४–० ले स्तब्ध बनेको थियो । ‘त्यो ठुलो दुर्घटना थियो,’ उनले भने, ‘उनीहरूले आफ्नो रणनीतिदेखि सबै बदलेका थिए । यो सिजन त्यस्तो हुन्छ जस्तो लाग्दैन ।’ 

त्यो हार रियलको स्वाभिमानमा ठुलो धक्का थियो । बार्सिलोनासँग पराजित भएपछि बेन्जेमा खेलमा फर्किए र टोलीलाई लिग र च्याम्पियन्स लिगको उपाधि दिलाए । 

यो सिजनको सुरुवातमा नै फ्रेन्च फरवार्डले यूईएफए सुपर कपको फाइनलमा रियललाई जित दिलाउन गोल गरे । उनी क्रिस्टियानो रोनाल्डोपछि क्लबको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । तर, केही समय चोटग्रस्त बनेपछि ३४ वर्षीय खेलाडीको गोल वर्षामा धक्का लागेको छ ।

रियलका कप्तानको खुट्टामा चोट लागेपछि मड्रिड डर्बीसहित दुई खेल गुमाएका छन् । यो सिजन उनले लिगका ५ खेलमा ३ गोल गरेका छन् । तर उनले गोलमात्र नभएर खेलको सम्पूर्ण अवस्थामा प्रभाव पार्ने गरेका छन् । लेवान्डोस्कीभन्दा कम खेल खेले पनि उनले धेरै गोलको अवसर सिर्जना गरेका छन् । विपक्षीको पोष्टमा उनको टचको औसत पनि लेवान्डोस्कीको भन्दा राम्रो रहेको छ ।

‘बेन्जेमाले गोल गर्न सक्छन् र पछाडि ड्रप गर्दा पनि मिडफिल्डरहरुसँग राम्रो तालमेल बनाउँदै गोलको अवसरहरू सिर्जना गर्न सक्छन्,’ फेररले भने, ‘दुई खेलाडीबीच प्रमुख भिन्नता भनेको बलसँग बेन्जेमालले धेरै कुरा गर्न सक्छन् । बल साथमा नहुँदा लेवान्डोस्कीले धेरै गर्न सक्छन् ।’

रियलको टोलीमा बेन्जेमाको प्रभावले भिनिसियस जुनियर, रोड्रिगो र फेडेरिको भालभर्डेजस्ता युवा स्टारहरूका साथै फ्रान्सका मिडफिल्डर एडुवार्डो कामाभिङ्गा र औरेलियन टुचेमानीको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप