सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागले दियो श्रम तथा रोजगार कार्यालयलाई थप अधिकार

शुक्रबार, ०४ कात्तिक २०७९, १२ : ५०
शुक्रबार, ०४ कात्तिक २०७९

वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने अधिकार दिएको छ ।  

त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) का लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने अधिकार पनि पाएका छन् ।  

वैदेशिक रोजगारको लागि व्यक्तिगत श्रम स्वीकृति दिने अधिकार पनि पाएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने अधिकार पाएका हुन् ।  

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम इजाजतपत्र वाला शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने अधिकार समेत कार्यालयहरूले पाएका छन् । त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४७ र ४८ मा उल्लेखित व्यवस्थाको पालना गरे÷नगरेको अनुगमन गर्ने अधिकार पनि पाएका छन् । 

धनगढी, सुर्खेत, पोखरा,जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने अधिकारी यसअघि नै प्रत्यायोजित गरिएको थियो । तर, ती कार्यालयले राम्रोसँग काम गर्न सकेका थिएनन् । उनीहरूले प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्नेगरी अधिकार समेत थियो । तर, कार्यान्वयनको गति भने सुस्त थियो । 

यात्रुको चाप घटेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको जजिरा एयरवेजले आफ्नो उडान तालिकामा कटौती गरेको थियो । हप्तामा सातै दिन उडान भर्दै आएको जजिराले यात्रुको अभाव देखाउँदै सातामा तीन दिनमा झारेको थियो । 

विमानस्थल परिसरमा श्रम कार्यालय बुटवलबाट हेल्प डेक्स राखेको छ । जहाँबाट श्रम स्वीकृति लिए÷नलिएको हेर्ने गरिन्छ । श्रम स्वीकृति लिन निकै समस्या हुने गरेपछि श्रमिकहरूको रोजाई काठमाडौं नै हुने गरेको छ । जसले गर्दा विमानस्थलले यात्रु पाउन नसकेको हो । 

यसका लागि आवश्यक व्यवस्था गरिदिन भन्दै विमानस्थल कार्यालयले पटक–पटक सरकारले पत्र लेखेको थियो । तर, यस विषयमा कुनै चासो दिएको थिएन । एक मात्र उडान भर्दै आएको जजिराले उडानमा कटौती गरेपछि विभागले थप अधिकार दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप