शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाका को-को ग्रीन जोन र रेड जोनमा ?

आइतबार, ०६ कात्तिक २०७९, १२ : २८
आइतबार, ०६ कात्तिक २०७९

 २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट १० सिट जितेका महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा नेपाल (हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले यस पटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ ।​ लोसपाले गत चुनावमा जनता समाजवादी पार्टी नेपाल (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) सँग गठबन्धन गरेर १० सिट प्रत्यक्ष जितेको थियो । तर यस पटक सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर ९ सिटमा मात्र उम्मेदवारी दिएको छ ।

९ सिटमध्ये हालसम्म महन्थ ठाकुर, शरतसिंह भण्डारी, अनिलकुमार झा, रामप्रकाश चौधरी, जयप्रकाश ठाकुर र लालबाबु सिंह ‘ग्रीन जोन’ देखिएका छन् भने राजेन्द्र महतोसहित अरु ३ जना उम्मेदवार ‘रेड जोन’मा देखिएका छन् ।

महोत्तरी–३ मा महन्थ ठाकुर

लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभातर्फ महोत्तरी–३ मा उम्मेदवार छन् । सो क्षेत्रमा माओवादी केन्द्रका नेता रामकुमार शर्मा पनि उम्मेदवार थिए तर पार्टीको निर्देशनअनुसार उनले उम्मेदवारी फिर्ता लिएका छन् । यद्यपि, उनी पार्टीप्रति असन्तुष्ट छन् र, उनले जसपा–एमाले गठबन्धनलाई सघाउने घोषणा गरिसकेका छन् ।

ठाकुरको अर्को चुनौती भनेको तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल पनि हुन् । लोसपाबाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा गठन गरेका हुन् । लोसपामा हुँदा वृषेशचन्द्र लाललाई महन्थ ठाकुर निकट नेताका रुपमा चिनिन्थ्यो । विगतको चुनावमा उनी महन्थ ठाकुरको पक्षमा निकै खटेका थिए तर यसपटक उनी महन्थ ठाकुरकै विरुद्धमा उम्मेदवार बनेका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरको तुलनामा जसपाका उम्मेदवार कमजोर देखिन्छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा आएको मत अनुसार लोसपाका अध्यक्ष ठाकुर ‘ग्रीन जोन’मा छन् ।

सो क्षेत्रका वडामा स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा जनता समाजवादी पार्टीले १४ हजार ३५७, लोसपाले १२ हजार ७३५, एमालेले १० हजार ८२०, कांग्रेसले ९ हजार ४३, माओवादी केन्द्रले पाँच हजार १९५, नेकपा एकीकृत समाजवादी पाटीले २ हजार ५७०, राष्ट्रिय जनता पार्टीले ६१८ ले मत प्राप्त गरेको छ ।

यस आधारमा सत्ता गठबन्धनको पक्षमा २९ हजार ५४३ मत देखिन्छ भने जसपा–एमाले गठबन्धनको पक्षमा २५ हजार १७७ मत छ । अर्थात लोसपाका अध्यक्ष ठाकुर चार हजार ३६६ मतले अगाडि छन् । 

महोत्तरी–२ मा शरतसिंह भण्डारी

महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी पनि सुरक्षित अवस्थामा देखिएका छन् । स्थानीय तह चुनावमा ल्याएको मतका आधारमा उनी ‘ग्रीन जोन’ देखिन्छ ।

जसपा–एमाले गठबन्धनको तुलनामा उनी १७ हजार मतले अगाडि छन् । सत्ता गठबन्धनले वडामा ४२ हजार २७७ मत ल्याएको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार १७७ मत मात्र ल्याएको छ । सो क्षेत्रका वडामा लोसपाले १७ हजार ५७७, कांग्रेसले १६ हजार ९३८, माओवादी केन्द्रले ६ हजार ५०६, नेकपा एकीकृत समाजवादीले एक हजार १९६, जसपाले आठ हजार ५३२, एमालेले सात हाजर ५७, राप्रपाले १२९ मत ल्याएका छन् । भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

सो क्षेत्रमा तमलोपाबाट डा.विजयकुमार सिंहले पनि उम्मेदवारी दिएका छन् । पहिला शरतसिंह भण्डारीसँग लोसपामै रहेर काम गरेका विजय सिंहले भण्डारीकै मत काट्ने छन् । एमालेका रामपरीक्षण यादव र जनमतका उमेश कुमार यादवले पनि उम्मेदवारी दिएका छन् । उनीहरुबाट भण्डारीलाई खासै फरक नपर्ने लोसपाका नेताहरु बताउँछन् ।

महोत्तरी–२ मा भण्डारीसहित १७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । त्यसमध्ये नौजना स्वतन्त्र उम्मेदवार छन् ।

सप्तरी–२ मा जयप्रकाश ठाकुर

मधेस प्रदेशमा सबैभन्दा बढी चासोको क्षेत्र सप्तरी–२ छ । सो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट सीके राउत पनि उम्मेदवार छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर उम्मेदवार छन् ।

जयप्रकाश ठाकुरले पहिला पनि सो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट उपेन्द्र यादव विजयी हुँदा दोस्रो स्थानमा माओवादी केन्द्र र तेस्रो स्थानमा जेपी ठाकुर थिए । त्यतिबेला जसपा र लोसपाबीच गठबन्धन थियो । तैपनि जेपी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

राजनीतिभन्दा व्यापारमा सक्रिय जेपी ठाकुर यसपटक लोसपाबाट टिकट लिएर सत्ता गठबन्धनको तर्फबाट चुनाव लडेका छन् । एमाले–जसपा गठबन्धनबाट भने जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । उनी ‘हेभी वेट’ नेता भएका कारण जेपी ठाकुर उनको अगाडि टिक्न नसक्ने धेरैको आकलन छ ।

​स्थानीय तहको मत परिणामलाई आधार मान्दा यो क्षेत्रमा सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धन ४३३ मतले अगाडि छ । स्थानीय तहको मत परिणामअनुसार पाँच दलीय सत्ता गठबन्धनसँग सप्तरी–२ को वडा तहमा ३३ हजार १८४, जसपा–एमाले गठबन्धनको ३३ हजार ७१७ र जनमत पार्टीको चार हजार ५४२ मत छ ।

सप्तरी–२ मा जम्मा ३७ वटा वडा छन् । वडा तहमा जसपाले १४ हजार ४०३, कांग्रेसले १० हजार ८०७, लोसपाले १० हजार ४३५, माओवादी केन्द्रले नौ हजार ५३४, एमालेले पाँच हजार ९५१, जनमत पार्टीले चार हजार ५४२, नेकपा एकीकृत समाजवादीले दुई हजार ४०८ र राप्रपाले एकहजार ४८ मत ल्याएका छन् ।

सप्तरी २ मा चार जना स्वतन्त्रसहित विभिन्न दलका १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सप्तरी–३ मा लक्ष्मीकान्त मण्डल

सप्तरी–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका दिनेश यादवले उम्मेदवारी दिएका छन् भने लोसपाका तर्फबाट लक्ष्मीकान्त मण्डल उम्मेदवार छन् । अन्यत्र लोसपाले सत्ता गठबन्धनसँग तालमेल गरे पनि यो क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाले छुट्टै उम्मेदवारी दिएको हो । यहाँ एमाले–जसपा गठबन्धनबाट एमालेका ताराकान्त चौधरी उम्मेदवार छन् ।

स्थानीय तह निर्वाचनमा वडा तहको मत परिणाम हेर्दा लोसपाका लक्ष्मीकान्त मण्डल ‘रेड जोन’ छन् । लोसपाले सप्तरी–३ मा सात हजार ७४८ मतमात्र ल्याएको छ भने जसपा–एमाले गठबन्धनले ३३ हजार ६१६ र सत्ता गठबन्धनले २८ हजार ३०० सय मत ल्याएका छन् ।

यो क्षेत्रमा चार दलीय सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धन बलियो देखिएको छ । सो क्षेत्रमा जसपाले मात्र १९ हजार ४५८ मत ल्याएको छ भने कांग्रेसले १८ हजार ३२३, एमालेले १४ हजार १५९, लोसपाले सात हजार ७४८, नेकपा एकीकृत समाजवादीले पाँच हजार २२६, माओवादी केन्द्रले चार हजार ७५१, जनमत पार्टीले तीन हजार ६६५, राप्रपाले एक हजार २२७ मत ल्याएका छन् ।

धनुषा–३ मा अनिलकुमार झा

चर्चामा रहेको अर्को क्षेत्र हो धनुषा–३, जहाँबाट लोसपाका कार्यकारिणी सदस्य अनिलकुमार झाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनले सो क्षेत्रको वडामा प्राप्त गरेको मत परिणामलाई जोड्दा नेता झा १० हजार २४२ मतले अगाडि छन् । पाँच दलीय सत्ता गठबन्धनले ३५ हजार ५८१ मत वडामा हासिल गरेको थियो भने जसपा–एमाले गठबन्धनले २५ हजार ३३९ मत हासिल गरेको थियो । दलगत रुपमा कांग्रेसले २२ हजार ४२८, एमालेले १७ हजार ९६, लोसपाले आठ हजार ७६३, जसपाले आठ हजार २४३, नेकपा एकीकृत समाजवादीले तीन हजार ७२५, जनमत पार्टीले दुई हजार ४९१, माओवादी केन्द्रले ६६५, राप्रपाले ५०१ मत ल्याएको थियो ।

यसअघि सो क्षेत्रबाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनाव जितेका थिए । सो निर्वाचनमा महतोलाई नेकपा एमालेले पनि सघाएको थियो ।

नेता महतो आफ्नो गृह जिल्ला सर्लाही फर्केपछि रौतहटबाट नेता झा धनुषा (जनकपुर) आएका छन् । उनी पनि सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । सत्ता गठबन्धनमा रहेका पाँचवटै दलको मत काउन्ट गर्दा नेता झाको अवस्था निकै मजबुत देखिन्छ ।

यद्यपि, अनिल झालाई बहिरिया भनेर आरोप लाग्न थालेको छ । विपक्षीहरुले पनि झामाथि बाहिरियाको आरोप लगाउँदै मतदातालाई भड्काउने काम गरिरहेका छन् । सो क्षेत्रमा २१ जना स्वतन्त्र उम्मेदवार छन् । नेता झाका लागि यो सबैभन्दा ठूलो चुनौती हो । ती स्वतन्त्र उम्मेदवारले कसको मत काट्छन् भन्ने प्रस्ट छैन ।

२१ जना स्वतन्त्र उम्मेदवारसहित सो क्षेत्रमा ३१ जना उम्मेदवार छन् । जहाँ एमाले–जसपा गठबन्धनबाट एमाले नेतृ जुली महतो उम्मेदवार छिन् भने जनमत पार्टीबाट शम्भुनाथ साहले उम्मेदवारी दिएका छन् ।

सर्लाही–२ मा राजेन्द्र महतो

सर्लाही–२ मा राजेन्द्र महतोलाई पनि चुनौती देखिएको छ । सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतका आधारमा महतो ‘रेड जोन’मा छन् । सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने सहमति गरे पनि सर्लाही–२ मा महतोको पक्षमा सहमति हुन सकेन । महतो एक्लै चुनाव लड्दैछन् भने उता चार दलीय गठबन्धन र जसपा–एमाले गठबन्धन पनि प्रतिस्पर्धामा छ ।

सो क्षेत्रको वडामा कांग्रेसले २४ हजार ६२०, जसपाले १९ हजार ६४२, लोसपाले १२ हजार ३६६, माओवादी केन्द्रले सात हजार ७३७, एमालेले सात हजार ६७९, जनमत पार्टीले तीन हजार ४२, नेकपा एकीकृत समाजवादीले दुई हजार २२१, राप्रपाले ७४२ मत ल्याएको थियो । यस आधारमा सत्ता गठबन्धनसँग ४३ हजार ५७८ र जसपा–एमाले गठबन्धनसँग २७ हजार ३२१ मत देखिन्छ । यो क्षेत्रको वडा तहमा स्थानीय तह निर्वाचनमा लोसपाले १२ हजार ३६६ मत ल्याएको थियो ।

त्यहाँ सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका छन् । लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने सहमति गरे पनि सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेको छ । त्यहाँ गठबन्धनको आधिकारिक उम्मेदवारका रुपमा महिन्द्र राय यादव छन् ।

एमाले–जसपा गठबन्धनबाट सो क्षेत्रमा एमालेका राजनारायण साह उम्मेदवार छन् । मतको हिसाबले दुई गठबन्धनको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । तर नेता महतो पनि त्यहाँका लागि शक्तिशाली उम्मेदवार नै हुन् । उनले कांग्रेस र माओवादीभित्र देखिएको विवादको फाइदा लिन खोजेका छन् ।

२०७० को संविधानसभा चुनावमा महिन्द्रराय यादवले राजेन्द्र महतोलाई पराजित गरेका थिए । त्यसपछि महतोले २०७४ को निर्वाचनमा सर्लाही छाडेर धनुषा–३ बाट उम्मेदवारी दिएका थिए । यसपटक महतो महेन्द्रराय यादवसँग प्रतिस्पर्धाका लागि सर्लाही फर्केका छन् ।

सर्लाही–२ मा १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १७ जनामध्ये आठ जना स्वतन्त्र उम्मेदवार छन् ।

पर्सा–१ मा लक्ष्मणलाल कर्ण

लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण पर्सा–१ बाट उम्मेदवार छन् । उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् । स्थानीय तहको वडा तहमा प्राप्त दलगत मत परिणामअनुसार कर्ण पनि ‘रेड जोन’मा छन् ।

यहाँ जसपा–एमाले गठबन्धनबाट जसपाका प्रदीप यादव उम्मेदवार छन् । स्थानीय तह निर्वाचनमा वडाहरुमा दलगत मत हेर्दा एमाले–जसपा गठबन्धनको तुलनामा सत्ता गठबन्धनको मत आठ हजार ७०४ ले कम छ । सो निर्वाचनमा पर्सा–१ अन्तर्गतका वडामा जसपाको १५ हजार ७०६, एमालेको १३ हजार ३३५, कांग्रेसको १२ हजार ९०२, माओवादी केन्द्रको तीन हजार ७४६, लोसपाको २ हजार ८६, नेकपा एकीकृत समाजवादीको एक हजार ६०३, राप्रपाको ५७७ मत छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेता कर्णका लागि पर्सा–१ नयाँ क्षेत्र हो । उनी २०७४ मा पर्सा–४ बाट चुनाव जितेका थिए । यसपटक उनी क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । सो क्षेत्रमा जसपाको राम्रो संगठन छ ।

सर्लाही–१ मा रामप्रकाश चौधरी

सर्लाही–१ मा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा लोसपाका रामप्रकाश चौधरी मैदानमा छन् । स्थानीय तहमा सो क्षेत्रका वडामा दलहरुले प्राप्त गरेको मतको आधारमा चौधरी ‘ग्रीन जोन’मा छन् । सो क्षेत्रमा जसपा–एमाले गठबन्धनभन्दा चार दलीय सत्ता गठबन्धन ३१ हजार ५४४ मतले अगाडि छ । सो क्षेत्रमा सत्ता गठबन्धन दलको मत जोड्दा ५४ हजार ३३४ हुन्छ भने जसपा–एमाले गठबन्धनको २२ हजार ७९० मत देखिन्छ ।

सो क्षेत्रका वडामा कांग्रेसले २५ हजार ८३२, एमालेले १७ हजार ८१९, माओवादी केन्द्रले १५ हजार ९९५, लोसपाले ६ हजार ४६६, नेकपा एकीकृत समाजवादीले छ हजार ४१, जसपाले चार हजार ९७१, राप्रपाले एक हजार ५३, जनमत पार्टीले ६८१ मत ल्याएका थिए ।

सो क्षेत्रमा जसपा–एमाले गठबन्धनबाट जसपाका प्रमोद साह, जनमतबाट राम विश्वास रायसहित १९ जनाले उम्मेदवार छन् । तीमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

२०७४ को निर्वाचनमा जसपाका प्रमोद साह (यसअघि तत्कालीन राजपा (लोसपा) बाट सो क्षेत्रमा चुनाव जितेका थिए । 

बारा–३ मा लालबाबु सिंह

बारा–३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् लालबाबु सिंह भुइहार । उनी कांग्रेसबाट लोसपामा आएका हुन् । २०७४ को निर्वाचनमा बारा–४ बाट उम्मेदवार भएका उनी त्यतिबेला तेस्रो स्थानमा सीमित रहेका थिए । यसपटक उनी आफ्नै क्षेत्र बारा–३ बाट उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रमा जसपा–एमाले गठबन्धन भएको छैन । जसपा र एमालेले सो क्षेत्रमा आ–आफ्ना उम्मेदवार खडा गरेका छन् । त्यसले गर्दा लालबाबु सिंहलाई सहज भएको छ । जसपाबाट रामबाबु यादव र एमालेबाट ज्वालाकुमारी साह उम्मेदवार छन् । जसपाका रामबाबु यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । ज्वालकुमारी साह भने प्रदेशसभामा माओवादीको तर्फबाट विजयी भएकी थिइन् । नेकपा विभाजन हुँदा उनी माओवादी छाडेर एमालेमा गएकी हुन् ।

स्थानीय तह २०७९ मा सो क्षेत्रमा सत्ता गठबन्धनले हासिल गरेको मतको आधारमा सो क्षेत्रमा सत्ता गठबन्धनसँग ३१ हजार ४०३ मत देखिन्छ । सो क्षेत्रमा एमालेको २३ हजार ६५४ र जसपाको ११ हजार २७९ मत देखिन्छ ।

स्थानीय तह निर्वाचनमा सो क्षेत्रमा कांग्रेसले १७ हजार ५५४, माओवादी केन्द्रले आठ हजार २४८, नेकपा एकीकृत समाजवादीले तीन हजार ३९५, लोसपाले दुई हजार २०६ मत ल्याएको थियो । यस आधारमा लोसपाका लालबाबु ‘ग्रीन जोन’ मा देखिएका हुन् । सो क्षेत्रमा तीन जना स्वतन्त्रसहित २१ जना उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप