शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा दुई सय बढीको म्हः पूजा

बुधबार, ०९ कात्तिक २०७९, १७ : ४६
बुधबार, ०९ कात्तिक २०७९

नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदान–प्रदानका साथै भैरहवामा दुई सय बढीको म्हः पूजा गरिएको छ । नेवार समुदायमा मनाइने नेपाल संवत्का अवसरमा नेवाः खलः सिद्धार्थनगरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपस्थित सबैको म्हः पूजा गरिएको हो । सोही कार्यक्रममै गृहमन्त्री बालकृष्ण खाणको पनि म्हः पूजा गरिएको छ ।

म्हः पूजा चन्द्रमानक नेपाल संवत् अनुसारको नयाँ वर्षको सुरुआत कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व भएको नेवाः खलः सिद्धार्थनगरका पूर्वअध्यक्ष विजयगोविन्द श्रेष्ठले बताए । यस पर्वमा हिन्दू तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैँलाई पूजा गरी सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गरिन्छ ।

यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्यरूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिबिम्बित गरी आफैँले आफ्नो पूजा गर्ने गरिएको श्रेष्ठले बताए । यस दिन आफ्नो प्रतिबिम्ब सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दीर्घायुको कामना गर्ने गरिएको छ ।

श्रेष्ठका अनुसार नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । समग्र देवता ऊर्जा शक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको श्रेष्ठले बताए ।

नेपाल संवत् र विक्रम संवत्मा २४ दिनको मात्र फरक परेता पनि नेपाल संवत्लाई नेवारी समुदायको मात्र रहेको भन्दै यसलाई हेयको दृष्टिले हेर्ने गरेको नेवारी अगुवाहरुको गुनासो छ । नेवार अगुवा विजय गोविन्द श्रेष्ठले विक्रम संवत् भारतबाट आयातित संवत् भएकाले यसको सट्टा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिनुपर्ने बताए ।

गृहमन्त्री खाणले यस विषयमा छलफल अगाडि बढाउने बताए । उनले कवि र साहित्यकारहरू देश र समाजको प्रतिबिम्ब भएको उल्लेख गरे । नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःलाई सम्झिँदै उनले जुनसुकै भाषाको भए पनि साहित्यकारहरू नेपालको गहना रहेको बताए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री खाणले नेपालले पटक–पटक विपद्हरू भोगेको र यसको मार अहिलेसम्म परिरहेको बताए । उनले कोभिडको समयमा देखिएको समस्याको असर अहिले अर्थतन्त्रमा परेको बताए । “कोभिड महामारीकै बीचमा बैंक ब्याजहरू नियन्त्रण गरिने काम भयो, तर यसको असर अहिले कोभिड महामारी सकिएपछि देखिँदैछ”, खाणले भने, “म नेपालका बैंकहरूलाई आग्रह गर्न चाहन्छु, नेपालका उद्योगी र आम नागरिकको जीवन सहज भयो भने मात्र बैंकलाई प्रतिफल दिइरहने भएकाले बैंकहरू यस विषयमा गम्भीर हुनुपर्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप