शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हरिवंश आचार्यको घरमा देउसी खेल्न पुगे बालेन शाह

बिहीबार, १० कात्तिक २०७९, ०७ : ३०
बिहीबार, १० कात्तिक २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेल्न पुगेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए । 

उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिए । 

सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड ९एमआरआर० ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुगेका थिए । अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए ।

 आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनुपर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुसी लागेको छ,’ अभिनेता आचार्यले भने । देउसीमा अभिनेता आचार्य र मेयर साह देउसी भट्ट्याउँदै नाचेका थिए । साथीभाइहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप