शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री लक्ष्मी बर्देवाको ‘दिदीबहिनीटीका’

बिहीबार, १० कात्तिक २०७९, ०९ : ३४
बिहीबार, १० कात्तिक २०७९

तिहार मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । उज्यालोको पर्व भनिने तिहारको अर्काे आकर्षण झिलिमिली बत्ती हो । तिहारको समयको वातावरण र रौनकसमेत अन्य भन्दा भिन्न हुने भएकोले यो चाडले हरेकको मनमा उत्साह थप्छ । तिहारमा घर घरमा बनाइने सेलरोटी, मिठाइको बास्ना मनपर्छ । त्यसमा पनि मलाई सेलरोटी मनपर्छ, सेलरोटी बनाउन पनि आउँछ ।

तिहारमा देउसी भैलो खेल्न चलन पनि छ । तर मैले अहिलेसम्म खेलेको छैन । घरमा देउसी भैलो खेल्न आउने गरेका छन् । उनीहरुलाई खुसी बनाएर पठाउँछु । तिहारमा काग, कुकुर, गाई पूजालगायत बिभिन्न चलन छ । मलाई भने लक्ष्मीपूजा बढी मनपर्छ ।

दिदीबहिनीबीच टीका

तिहारको महत्वपूर्ण पक्ष भनेको भाइटीका हो । मेरो त दाइभाइ कोही छैन, दुई बहिनी मात्र हुन् । पहिले तिहार खल्लो महसुस हुन्थ्यो । बहिनीलाई टीका लगाउन थालेपछि भने रमाइलो महसुस भएको छ ।

हुन त पहिले म कजन दाजुभाइलाई टीका लगाउँथे । त्यो समय तिहार विषेश भएजस्तो लाग्थ्यो । कहिले त मसँग टीका थाप्ने ९१० जना हुन्थे । आफूले गरेको तयारी, ठिक पारेको सामान केही पुग्दैन थियो । कहिले कुर्दाकुर्दै दिन त्यसै बित्थ्यो । कोही आउँदैन थिए ।

एक वर्ष त्यस्तै भयो । म र बहिनीहरु सबै तयारी गरेर कजन दाजुभाइको पर्खाइमा थियौ । तर टीका थाप्न कोही आएनन् । मेरो माइली बहिनी रुन थाली । उनी आफ्नो कुरो सजिलै बाहिर राख्न पनि सक्दिनन् । उनी रोएको देख्दा चित्त दुख्यो । मैले मन बलियो बनाएर सम्झाएँ, ‘अवदेखि कसैलाई नकुर्ने । म तिमीहरुलाई टीका लगाइदिन्छु, तिमीहरु मलाई लगाउनू ।

त्यो दिन दिदीबहिनीले मिलेर एकअर्काेलाई टीका लगाएर सुरुवात गर्यौ । त्यो समयदेखि हामी दिदीबहिनी नियमित एकअर्काेसँग टीका थाप्छौ । त्यसरी टीका लगाउन थालेको १२/३ वर्ष भयो ।

धेरैले गर्छन् दिदीबहिनी टीका

दिदीबहिनी बीचको टीका अहिले एकदमै राम्रो लाग्छ । बुबाआमाले आफ्नो छोरो नभएर हामीले टीका लगाउन नपाएको फिल अहिलेसम्म गराउनु भएको छैन । उहाँहरु जसरी मनाएपनि भैहाल्यो नि भन्नुहुन्छ । म बहिनीहरुलाई एकदमै माया गर्छु । उनीहरुका खुसीका लागि हामीले त्यसरी टीका लगाउन थालेका हौ । विगत ८ वर्षदेखि मेरी माइली बहिनी कामको सिलसिलामा बाहिर छिन् । उनी बाहिर हँुदा भने टीका अलि खल्लो लाग्छ ।

पहिले त दिदीबहिनी बीच टीका हाम्रो मात्र हो कि भन्ने लाग्थ्यो । तर अहिले बुझ्दा जाँदा यस्तो अरुले पनि गर्दा रहेछन् ।

हामीले विगत १२÷१३ वर्षदेखि मनाउँदै आएको दिदीबहिनी बिचको टीका कसैले थाहा पाएको छैन । काठमाडौमा बसेको एउटा फाइदा हो यो । एक घरको कुरो अर्काे घरले थाहा पाउँदैन । टीकाका कलर दिदीबहिनीले लगाउँदा एक कलर र दाजुभाइले लगाउँदा अर्काे कलर हुने पनि होइन । हाम्रो दिदीबहिनी बीचको भाइटीका कतिपय आफन्तलाई समेत थाहा छैन होला ।

यस्ता कुरामा विश्वास लाग्दैन

अहिले दाजुभाइ नहुने दिदीबहिनीले अरुलाई दाजुभाइ बनाएर भाइटीका लगाउने चलन छ । मलाई अहिले त्यो कुरोमा विश्वास लाग्दैन । किनभने आफन्त दाजुभाइले त धोका दिए, अरुले के गर्दा हुन् जस्तो लाग्छ ।

अहिले भाइटीकाकै लागि दाजुभाइ बनाउने पक्षमा म छैन । दाजुभाइ बनाउन त सकिन्छ, त्यो रिलेसनमा भाइटीका गरौ भन्ने लाग्दैन । किनभने जीवनभर निभाउनुपर्ने दिदीभाइको सम्बन्ध बनाएको दाजुभाइबाट नहुन सक्छ ।

अर्काे कुरो दिदीभाइको सम्बन्ध भाँडाकुटी खेल जस्तो पनि होइन । चाहेको बेला बनाउन मिल्ने, नचाहिएको बेला तोड्ने । पहिलेको धेरै समय म दाजुभाइ नभएर रोएको छु । त्यो क्षण म फेरि फर्काउन चाहन्न ।

बहिनीले मसलाको भाग दिन्छिन्

दिदीबिहिनीबीचको हाम्रो भाइटीका दाजुभाइ र दिदीबहिनीहरुजस्तै हुन्छ । टीकाको नियम सतप्रतिसत फलो गरेर मनाउँछौ । बहिनीहरुले मलाई दाजुभाइलाई दिनेजस्तो सेलरोटी, फलफुल र मसलाको भाग रेडी गरेर दिन्छन् ।

म भने उनीहरुलाई कहिले पैसा, कहिले उपहार र कहिले दुबै बस्तु दिन्छु । तिहारका लागि ड्रेस किनिदिन्छु । हामीले निधार खाली नराख्ने हिसावले टीका लगाउँछौ ।

यस पटकको मेरो टीका अलि खल्लो छ । माइली बहिनी विदेशमा भएकोले नेपालमा कान्छी बहिनीमात्र छिन् । यो वर्ष उनको र मेरो भाइटीका हुन्छ ।

दिदीबहिनीले भाइटीका गर्न थालेदेखि आफूलाई कहिल्यै पनि दाजुभाइ नभएको फिल भएको छैन । बहिनीहरुले के सोच्छन्, कहिल्यै सोधेको छैन । मेरो जस्तै फिल उनीहरुको पनि पक्कै हुन्छ होला ।

अभिनेत्री बर्देवासँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप