बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रका बागी उम्मेदवार चेपाङको समर्थन बानियाँलाई

मङ्गलबार, १५ कात्तिक २०७९, २१ : ५५
मङ्गलबार, १५ कात्तिक २०७९

मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बागी उम्मेदवार खुसीलाल चेपाङले सोही क्षेत्रका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । 
मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आवश्यक देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगित गर्दै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् । 

नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका चेपाङले आफूले पार्टी र गठबन्धनविपरीत जाँदा मुलुकमा लामो संघर्षबाट प्राप्त गणतन्त्र, संघीयताजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धिमाथि गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरूलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धतिमाथि नै घात हुने देखिएकाले उम्मेदवारी स्थगित गरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरिएको स्पष्ट पारे । 

उनले आफ्नो उम्मेदवारी स्थगित गरी गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर बानियाँलाई विजयी गराउनसमेत सबै शुभचिन्तकहरुमा आग्रह गरेका छन् । ‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा –२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।’ चेपाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

अबको दिनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू पनि उम्मेदवारहरूसँगै घरदैलोमा क्रियाशील हुने समेत उनले जानकारी दिए ।  खुसीलालले आफ्नो उम्मेदवारी फिर्ता लिई गठबन्धनको अभियानमा साथ दिएको भन्दै मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले आभार व्यक्त गरे ।

‘मुलुकको आवश्यकता र हितलाई मध्यनजर गरी खुसीलाल जीले गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्नुभएको छ। यो निकै महत्वपूर्ण निर्णय हो । म यसको स्वागत गर्दछु । उहाँको साथले महत्वपूर्ण सन्देश दिएको छ’ बानियाँले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप