बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस लुम्बिनी प्रदेशको घोषणापत्र : प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता

बिहीबार, १७ कात्तिक २०७९, २१ : ५०
बिहीबार, १७ कात्तिक २०७९

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बिहीबार घोषणापत्र सार्वजनिक गर्दै पार्टीका प्रदेशका सभापति अमरसिंह पुनले कृषि, पर्यटन, उद्योग, व्यापार, ऊर्जा तथा सिंचाइलाई प्राथमिकतामा राखिएको बताए ।

उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास गर्दै स्वरोजगारी सिर्जनाका लागि महत्वपूर्ण कार्यक्रम घोषणापत्रमा रहेको बताए । लुम्बिनी प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने लक्ष्य घोषणापत्रमा उल्लेख छ । त्यसका लागि बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रित गरेर विकासका योजना अगाडि बढाउने जनाइएको छ ।

अहिले केन्द्र सरकार अन्तर्गत रहेको लुम्बिनी विकास कोषलाई साझेदारीमा राख्न केन्द्रलाई सुझाव दिइएको प्रदेश सभापति पुनले बताए । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र प्रदेशकै मुख्य गौरव भएकाले लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामूहिक कार्यक्षेत्रभित्र राख्नु पर्नेमा जोड दिइएको उनको भनाइ छ ।

आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर कांग्रेस प्रदेश समितिले ल्याएको घोषणापत्रमा वुटवल–भैरहवा, तुलसीपुर–घोराही र नेपालगञ्ज–कोहलपुर ट्राम अथवा रेल सम्भाव्यता अध्ययन गरी उपयुक्त योजना अघि बढाउने भनिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताललाई विशिष्टिकरण गर्ने, अन्य सरकारी अस्पतालहरूको स्तरवृद्धि गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ । अत्यावश्यक औषधि कारखाना प्रदेशमा स्थापना गर्ने, दीर्घरोग तथा डायलासिस उपचार पूर्ण रुपमा निःशुल्क बनाउने योजना कांग्रेसले ल्याएको छ ।

प्रदेशलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने, एक पालिका एक प्राविधिक शिक्षालय, स्वरोजगार सिर्जना गरी वैदेशिक रोजगारीलाई घटाउन उद्यमशीलता प्रबर्द्धनका लागि विशेष योजना ल्याउने संकल्प कांग्रेसले गरेको छ ।

मोतीपुर, नौवस्ता र धर्नालक्ष्मीपुरलाई औद्योगिक तथा विशेष व्यापारिक केन्द्र बनाउने योजना पनि कांग्रेसले घोषणापत्रमा समेटेको छ । गरिब, विपन्न र पिछडिएका वर्गको विस्तृत अभिलेखीकरण गरी आधारभूत सुविधा उपलब्ध गराउन विशेष कार्यक्रम र योजना ल्याइने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप