प्रदेशले अपनत्व नदेखाएको मनमोहन प्राविधिक विश्वविद्यालयको गुनासो
मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले आफूलाई प्रदेश १ कै गौरव मान्न प्रदेश सरकारसँग माग गरेको छ । प्रदेश सरकारले खुलेर अपनत्व ग्रहण नगर्दा पर्याप्त बजेट नपाएको बताउँदै उक्त विश्वविद्यालयले सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएको हो ।
देशकै पहिलो प्राविधिक विश्वविद्यालयले गरिब, दलित र जेहेन्दार घाइते अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न र पर्याप्त बजेट विनियोजन गर्न प्रदेश १ सरकारसँग आग्रह गरेको हो । उपकुलपति डा. सुभाषश्री पोखरेलले पहिलो शैक्षिक सत्रदेखि नै एमटीयुले आफ्नै स्रोतबाट विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने बताए ।
‘पर्याप्त स्रोत नभएकोले अपेक्षा अनुसार छात्रवृत्ति दिन सकेनौं । प्रदेश सरकारले बजेट दिए धेरैभन्दा धेरै गरिब र सीमान्तकृत समुदायका विद्यार्थीलाई निःशुल्क पढाउन सक्ने थियौं,’ पोखरेलले भने, ‘देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले स्थापनादेखि नै आर्थिक समस्या झेल्नुपरेको छ ।’
प्रदेश १ सरकारले पहल गरेरै पोलिटेक्निकल कलेजलाई विश्वविद्यालय बनाएको बताउँदै उनले पोलिटेक्निकलको अरबौंको संरचना नभएको भए सरकारले विश्वविद्यालय बनाउन सक्ने अवस्था नरहेको ख्याल गर्न पनि आग्रह गरे । ‘यो संरचना बनिबनाउ थिएन भने प्रदेश सरकारले यो स्तरको विश्वविद्यालय स्थापना गर्नै सक्दैन थियो,’ पोखरेलले भने, ‘सडक तथा पुलका आयोजनाहरुलाई प्रदेश सरकारले गौरवको आयोजना भनेजस्तै मनमोहन प्राविधिक विश्वविद्यालयलाई पनि गौरवको रुपमा लिनुप¥यो ।’
उक्त विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ अन्तर्गत स्नातक तहमा भर्ना खुलेको छ । स्कूल अफ इन्जिनियरिङ्ग अन्तर्गतको बी.ई इन सिभिल इन्जिनियरिङ्ग र बीइ इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियरिङमा भर्ना खुलेको हो ।
उनका अनुसार दोस्रो पटक सञ्चालन हुन लागेको स्नातक तहको पहिलो चार वर्षे इन्जिनियरिङ विषयमा सिभिलतर्फ ४८ जना र ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्सतर्फ २४ जना विद्यार्थीहरु भर्ना हुनेछन् ।
स्नातक तहको इन्जिनियरिङ संकायमा रेल्बे र पानी जहाज, भौतिक पूर्वाधार निर्माणदेखि स्वदेशी उद्योगहरुलाई आवश्यक सुहाउँदो जनशक्ति उत्पादन गराउने विभिन्न विषयमा पठनपाठन गरिने स्कुल अफ इन्जिनियरिङका डिन डा. प्रचण्डमान प्रधानले जानकारी दिए । उनका अनुसार स्नातक तहको इन्जिनियरिङ विषय पठनपाठनका लागि आधुनिक ल्याबसहित सबै भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार छ ।
विश्वविद्यालयका रजिष्ट्रार दिननाथ फुँयालका अनुसार स्नातक तहको चार वर्षे सिभिल इन्जिनियरिङ अध्ययनका लागि साधारण नेपाली विद्यार्थीले ५ लाख ८५ हजार, विदेशी विद्यार्थीले ८ लाख ७७ हजार ५ सय र प्रयोजित विद्यार्थीका लागि ७ लाख ३१ हजार २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
विश्वविद्यालयले दश वर्षे कार्ययोजना बनाएको छ । पहिलो पाँच वर्ष योजना अन्तर्गत आर्थिक वर्ष २०७८ देखि २०८२ सम्ममा विभिन्न प्राविधिक विषयका ७ वटा स्नातक र पाँच वटा स्नातकोत्तर विवषयहरु संचालन गर्ने लक्ष्य छ । दश वर्षमा स्नताक, स्नातककोत्तर र विद्यावारिधि गरी २८ वटा विभिन्न विषय सञ्चालन गर्ने लक्ष्य छ । सबै कार्यक्रम सञ्चालन भएपछि विश्वविद्यालयमा २ हजार ८ सय ३१ जना विद्यार्थीले पठनपाठन गर्न पाउने जनाइएको छ ।
मेडिकलतर्फको शैक्षिक सत्र आगामी आर्थिक वर्षबाट
स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज अन्तर्गतको स्नातक तहको मेडिकल फार्मेसी र पब्लिक हेल्थको शैक्षिक कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरू गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० बाट मेडिकलतर्फ पठनपाठन गराउन स्नातक तहको पाठयक्रम निर्माण गरेर काउसिन्सलबाट स्वीकृत पनि गराइसकेको उपकुलपति पोखरेलले जानकारी दिए ।
विश्व विद्यालयले सञ्चालन गर्ने कोर्षको लागि छुट्टै पाठ्यक्रम बनाउने उनले बताए । विश्वविद्यालयले उत्पादन र समृद्धिसँग जोडेर पाठ्यक्रम बनाउने उनको भनाइ छ ।
‘मेडिकल फार्मेसीको कक्षाहरु सञ्चालनमा आएपछि विश्वविद्यालयले मेडिसिन प्लान्टको लागि उत्पादन गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने योजना छ,’ उनले भने ।
उपकुलपति पोखरेलले आगामी पाँच वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालय दक्षिण एसियामा चिनिएको प्राविधिक विश्वविद्यालय हुने दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण