आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–९ का एमाले उम्मेदवारको प्रतिबद्धता : सबै सडक धुलो र हिलोमुक्त बनाउने घोषणा

आइतबार, २० कात्तिक २०७९, १३ : ५९
आइतबार, २० कात्तिक २०७९

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेका छन् । ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनीहरूले यस्तो घोषणा गरेका हुन् ।  सो क्षेत्रमा एमालेको तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश ९ (१) का हरिकृष्ण डंगोल र प्रदेश ९(२) मा केशवप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् । 

तीनै जनाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा कलंकी–नागढुंगा सडक खण्डको विस्तारित लेनलाई सहज गर्न बल्खु खोलामा थप पक्की पुल बनाइने, कलंकी–नागढुंगा, कलंकी–भीमढुंगा–धादिङ्ग , फस्कूचोक–नर्सरी भन्ज्याङ्ग–स्युचाटार नर्सरी, नर्सरी भन्ज्याङ्ग–स्वीजरल्याण्ड पार्क,  तीनथाना–मच्छेगाउँ  सडक लगायतका रणनीतिक सडकहरूको विस्तार तथा स्तरोन्नति गरिने उल्लेख छ । 

आर्थिक सामाजिक अन्तर्गत दहचोक कालु पाण्डे समाधि–कंकाली–नर्सरी–थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौला  पदयात्रा  मार्ग  र  सो  मार्गमा आवश्यक  पर्यटकीय पूर्वाधार सञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइने घोषणापत्रमा उल्लेख छ । त्यस्तै छिमेकी धादिङ जिल्लाका ग्रामीण क्षेत्रका उत्पादन मुख्य सहरी क्षेत्रमा उपभोगका लागि गाउँ–शहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने, सघन करेसाबारी खेती, कौसी खेती, हाइड्रोपोनिक, घरभित्रै गरिने जस्ता  सहरी खेतीका विभिन्न  प्रकारलाई भान्साबाट उत्सर्जित हुन फोहोरसँग एकीकृत गरी प्रभावकारी ढंगबाट सञ्चालन गरिने नीति अघि बढाइने प्रतिवद्धता छ । 

केपी ओली सरकारका शिक्षा, विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य र  सहरी विकास मन्त्री भएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले घोषित प्रतिबद्धता अनुसार काम गर्ने वचनबद्धता समेत व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप