बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–१० मा ह्याट्रिकको तयारीमा कांग्रेसका राजन केसी

माओवादीकी अञ्जना र एमालेका हिमेशको आ–आफ्नै दाउ
बुधबार, २३ कात्तिक २०७९, ०८ : ५५
बुधबार, २३ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १० मा भिन्न समीकरण देखिएको छ । अन्यत्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धन कायम रहेको अवस्थामा काठमाडौँ–१० मा भने कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौँ–१० मा कांग्रेसबाट राजेन्द्रकुमार केसी, नेकपा माओवादी केन्द्रबाट अञ्जना विशंखे उम्मेदवार छन् । यस्तै, नेकपा एमालेबाट हिमेस केसी, राप्रपाबाट बलराम थापा उम्मेदवार छन् ।

यो क्षेत्रलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता राजेन्द्र (राजन) केसीले आधार इलाका बनाएका छन् । दोस्रो संविधानसभा (२०७० साल)मा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्दै यो क्षेत्रमा आफूलाई स्थापित गरेका हुन् । २०७४ को निर्वाचनमा पनि उनी विजयी भए ।

राजन तेस्रो पटक संसदीय यात्राका लागि प्रतिस्पर्धा गर्दैछन् । उनलाई माओवादी केन्द्रकी विशंखे र एमालेका हिमेशले कडा टक्कर दिएका छन् ।

प्रदेशसभातर्फ पनि सत्तारुढ गठबन्धन भत्किएको छ । प्रदेशसभा ‘क’ मा पनि कांग्रेस, एमाले र माओवादीबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रदेशसभा ‘क’बाट कांग्रेसका पुकार महर्जन, एमालेका शिवभक्ति बलामी र माओवादीबाट दिलीप महर्जन उम्मेदवार छन् ।

यस्तै प्रदेशसभा ‘ख’ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रमा आलेमगर उम्मेदवार बन्दा माओवादी केन्द्रबाट गणेशबहादुर कुँवर र एमालेबाट रामशरण आलेमगरले उम्मेदवारी दिएका छन् ।  

राजनको मनोबल उच्च

पहिलो संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डसँग पराजित भएका राजनले दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई पराजित गरे । त्यतिमात्र होइन, २०७४ को संसदीय निर्वाचनमा वाम गठबन्धनका बाबजुद उनले काठमाडौँ–१० मा जित हासिल गरे ।

एउटा निर्वाचनमा माओवादीकै अध्यक्षलाई पराजित गरेको र अर्को निर्वाचनमा एमाले र माओवादीसहितको वाम गठबन्धनका बाबजुद जित हासिल गरेका कारण उच्च मनोबल बनाइसकेका राजनलाई अहिले आफ्नो क्षेत्रमा सत्तारुढ गठबन्धन भत्किए पनि एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको साथले धेरथोर हौसला बढाएको छ । त्यसैले उनी आफू जित्नेमा ढुक्कजस्तै देखिन्छन् ।

राजनका प्रतिस्पर्धी अञ्जना र हिमेश पनि उनलाई पराजित गर्न जोडबल लगाएर चुनाव प्रचार गरिरहेका छन् । चुनावको मिति नजिकिएसँगै तीनै दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।

के भन्छन् उम्मेदवार ?

माओवादी केन्द्रकी उम्मेदवार अञ्जनाले कांग्रेस उम्मेदवार राजन केसीले २०७० सालदेखि यस क्षेत्रको प्रतिनिधित्व गर्दै आए पनि विकास निर्माणमा ध्यान नदिएको गुनासो मतदातामा व्याप्त रहेको सुनाइन् ।

‘१० वर्षमा राजनले केही गरेनन् भनिरहेका छन् यहाँ मतदाताले,’ उनले भनिन्, ‘दक्षिणकालीमा गयो भने सडकको उस्तै हालत छ । कीर्तिपुरबासीले १० वर्ष भयो पानी पिउन पाएका छैनन् । पानीको समस्या हल गर्दिन्छु भनेर भोट माग्नुभयो तर अहिलेसम्म पानी आएन भन्ने गुनासो छ ।’

तर, कांग्रेस उम्मेदवार राजनले विगत ३० वर्षदेखि आफू मतदातासँगै भएकाले चुनाव जित्ने दाबी गरे । आफू कीर्तिपुरकै स्थायीवासी भएकाले यस क्षेत्रका जनताको विकास निर्माण र सेवामा सदैव समर्पित हुन पाएको उनको भनाइ छ ।

‘कीर्तिपुर नगरपालिका आफैमा नेवार जातीको बाहुल्यता भएको र नयाँ बस्तीसमेत रहेकाले अनेकतामा एकतासहित विशेष संस्कृतिले भरिएको छ,’ उनले भने, ‘यो नगरपालिकालाई सांस्कृतिक सहर र पर्यटकीय सहरको रूपमा र नेवार जातिको भाषा, लिपी, धर्म सबैलाई जगेर्ना गरेर हामीले काम गरेका छौँ ।’

आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पूर्वाधारको क्षेत्रमा निकै प्राथमिकता दिएको उनको भनाइ छ । ‘हामीले थुप्रै सडक बनाएका छौँ । खानेपानीको व्यवस्था गरेका छौँ । यहाँको संस्कृतिको संरक्षण गर्ने काम गरेका छौँ,’ उनले भने ।

एमाले उम्मेदवार हिमेस पनि जित हासिल गर्नेमा ढुक्कजस्तै देखिन्छन् । उनले यस क्षेत्रमा अहिले ‘राजन केसी हराउ अभियान’ चलिरहेको भन्दै यो नै आफूहरुका लागि जितको बलियो आधार रहेको बताउँछन् । पानीको अभाव पूर्ति गर्ने, विकास निर्माण गर्ने आश्वासन दिएर यसअघि जितेका केसीले आफ्नै प्रतिबद्धता पूरा नगरेका कारण जनताले विकल्प खोजेको उनको भनाइ छ । मतदाताले परिवर्तन खोजेको र त्यसको मुख्य विकल्पका रुपमा एमाले अघि बढेको उनी बताउँछन् ।

मेरो जनसम्बन्ध र यहाँको पूर्वाधार विकास नै मैले चुनाव जित्ने बलियो आधार हो : राजन केसी

काठमाडौँ १० का उम्मेदवार, नेपाली कांग्रेस

चुनावी गतिविधि कसरी सञ्चालन गरिराख्नुभएको छ ?

यस क्षेत्रमा कांग्रेसको आफ्नो किसिमको संरचना छ । त्यसकारण यहाँ हामीलाई सहज पनि छ । अहिले घरदैलो अन्तर्गत कीर्तिपुर वडा नम्बर १, २, ३ मा छौँ । हाम्रो क्षेत्रमा दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिका पर्छन् । हरेक वडामा आम मतदाता समक्ष हाम्रा एजेण्डा लिएर गइरहेका छौँ । अब अर्को आमसभा गरेर घरदैलो गर्ने कार्यक्रम छ ।

घरदैलो कति सकाउनुभयो ?

करिब करिब आधा सकियो होला । आधा बाँकी छ । यसपाली निर्वाचन आचारसंहिताले १५ दिनमात्रै घरदैलो गर्ने समय दिएकाले ८ दिनमा आधा सकियो होला ।

तपाईं यो क्षेत्रबाट २/२ पटक निर्वाचित भइसक्नुभयो । केके योजना पूरा गर्नुभयो ? केके योजना लिएर जनतामा पुग्नु भएको छ ?

यस क्षेत्रका तीन वटा नगरपालिकाका आफ्नै विशेषता छन् । दक्षिणकाली नगरपालिका आफैमा धार्मिक रूपमा परिचित छ । कृषिको अथाह सम्भावना छ । तरकारी खेतीका लागि कृषकलाई प्रोत्साहन गरेका छौँ । व्यापक रूपले सम्भावना भएको तरकारी खेती उत्पादन भइरहेको छ ।

कीर्तिपुर नगरपालिका आफैमा नेवार जातीको बाहुल्यता भएको र नयाँ बस्तीसमेत रहेकाले अनेकतामा एकता भएको विशेष संस्कृतिले भरिएको छ । यो नगरपालिकालाई सांस्कृतिक सहर र पर्यटकीय सहरको रूपमा र नेवार जातीको भाषा, लिपी, धर्म सबैलाई जगेर्ना गरेर हामीले काम गरेका छौँ । र यहाँका नागरिकलाई सम्मान गरेका छौँ । पूर्वाधारको सम्बन्धमा हामीले सडक बनाएका छौँ । खानेपानीको व्यवस्था गरेका छौँ । यहाँको संस्कृतिको संरक्षण गर्ने र पूर्वाधारको विकासमा पाँच वर्षमा उल्लेख्य काम गरेका छौँ ।

अबको पाँच वर्षमा भने हामीले रोजगारीमा बढी ध्यान दिने छौँ । मुलुकको साधन स्रोतलाई प्रयोग गरेर आम युवाहरूलाई रोजगारी दिनेछौँ ।

काठमाडौँ–१० मा सत्ता गठबन्धन तोडिएको छ, यो अवस्थामा तपाईंले चुनाव जित्ने बलियो आधार के–के हो ?

बलियो आधार भनेको मेरो निरन्तर ३० वर्षको आम मतदाता समक्ष रहँदै आएको सक्रियता नै हो । मैले जनताको सेवा गरेको छु । म कीर्तिपुरको स्थायीवासी भएको नाताले मेरो आधार भनेको मैले निरन्तर यहाँको आम मतदातालाई गरेको सेवा, उहाँहरूसँगको सजिलो भेटघाट र यहाँको पूर्वाधार विकास नै हो ।

यो गठबन्धन सरकार बनिसकेपछि भ्रष्टाचार, महँगीले जनताको ढाड सेकिसक्यो, त्यसैले यसबाट छुटकारा पाउन एमालेलाई मत दिनुपर्छ भनेर एमालेका कार्यकर्ता मत मागिरहेका छन् नि ?

२०७४ सालमा वाम गठबन्धनलाई जनताले दुई तिहाई मत दिएकै हो । त्यो दुई तिहाई मत जनताको सेवाका लागि हुनुपर्नेमा, समृद्धिका लागि हुनुपर्नेमा अहम् र दम्भका कारण त्यो ६४ प्रतिशत बहुमत खेर गयो । मतलाई उहाँहरूले अपमान गर्नुभयो । जसको कारण ५ वर्षको स्पष्ट जनादेशलाई तीन वर्षमै उहाँहरुले यो मुलुक कांग्रेसकै पोल्टामा पार्नुभयो । त्यतिबेला कति भ्रष्टाचार भयो ? कति लुटतन्त्र भयो मुलुकमा ? आम जनताले देखेकै हो ।

२०७४ सालमा अभूतपूर्व दुई तिहाई बहुमतको जनादेश थियो, त्यो जनादेशलाई केपी ओलीको अहम् र अहंकारले अपमान भयो । त्यसकारण यतिखेर भ्रष्टाचार भयो, महँगी भयो भन्नु हास्यास्पद हो । जति विकृति भयो, विसंगति भयो, लुटतन्त्र भयो, यही केपी ओलीको पालामा तीन वर्षमा भएको आम मतदातालाई थाहा छ ।

तपाईं काठमाडौँ क्षेत्र नम्बर १० बाट निर्वाचित भएमा आगामी पाँच वर्षको अवधिमा के के कुरामा परिवर्तन भएको देख्न पाउनेछन् ?

यहाँ पानीको समस्या छ, यो समस्यामा हामीले धेरै काम गर्‍यौँ । तर, पानीको स्रोतको अभावमा पर्याप्त पानी अहिले पनि कीर्तिपुरबासीलाई उपलब्ध गराउन सकिएको छैन । त्यसले गर्दा हामीले अहिले मेलम्चीको पानी काठमाडौँ महानगरबासीले खाँदैगर्दा कीर्तिपुरबासीलाई पनि खुवाउनुपर्छ भनेर विश्वविद्यालयकै कम्पाउण्डमा ६० लाख लिटरको ट्यांकी बनायौँ र हामीले पानी वितरण पनि गर्‍यौँ । २/३ हप्ता वितरण गर्दा मेलम्ची आफैमा दुर्घटनामा पर्‍यो, अब फेरि पानी आउँछ ।

हामीले यहाँका परम्परागत स्रोत पनि संरक्षण गर्दै आएका छौँ । यहाँ पर्याप्त पानी पाइसकेको अवस्था छैन । मेलम्चीको पानी आउने अवस्था आइसकेको छ । मेलम्ची आएपछि कीर्तिपुरबासीलाई पानी दिनेछौँ । 

काठमाडौँ क्षेत्र नम्बर १० मा ​रेकर्ड ब्रेक हुनेवाला छ​:अञ्जना विशंखे

काठमाडौँ १० का उम्मेदवार, नेकपा माओवादी केन्द्र

चुनावी प्रचार र घरदैलो अभियान कसरी गर्नु भएको छ ?

प्रदेशमा दुई जना उम्मेदवार हुनुहुन्छ । संघीय संसदको उम्मेदवार म आफै छु । गठबन्धन नभएकाले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा माओवादीका उम्मेदवार छौँ । बिहान बेलुका घरदैलो हुन्छ । दिउँसो बचेको समयमा विभिन्न महिला, युवा, विभिन्न गुठी समूह लगायत संघ संस्थाका व्यक्तिहरुलाई भेटेर भोट माग्छौँ ।

यस क्षेत्रमा तपाईंको उम्मेदवारी किन ?

काठमाडौँ क्षेत्र नम्बर १० मा मेरो उम्मेदवारी रणनीतिक महत्वको योजना सहितको विकास र समृद्धिसँग सम्बन्धित छ । यहाँको ऐतिहासिक र सांस्कृतिक सम्पदा संरक्षणका लागि मेरो अग्रसरता हो । यो काठ क्षेत्र भनेको के हो ? यहाँको पर्यावरण, वातावरण, प्राकृतिक स्रोत, साधनको संरक्षण गर्नुपर्ने छ । यहाँको जात्रादेखि लिएर ऐतिहासिक र पुरातात्त्विकको महत्त्वको यो क्षेत्र १५ सय वर्ष अघि किरातको राजधानी थियो । मातातीर्थ किरातकालीन राजधानीसमेत हो । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने ठाउँ छ ।

यस्तै, अरु थुप्रै ट्रेकिङ रुटहरु बनाउन सकिन्छ । यस क्षेत्रमा एक सयभन्दा बढी दुर्लभ जडीबुटी यहाँ छन् । यस क्षेत्रमा ३ सयभन्दा बढी चराचुरुंगी र एक सयभन्दा बढी प्रकारका पुतली पाइन्छन् । यो पर्यावरणलाई जोगाउन सक्यौँ भने आन्तरिक र बाह्य पर्यटकलाई ल्याएर बेरोजगार समस्यालाई थोरै भए पनि सम्बोधन गर्न सकिन्छ ।

यस क्षेत्रमा विगत १० वर्षदेखि कांग्रेसका राजन केसीले नेतृत्व गर्नुभयो । उहाँले जनताको काम होइन, जागिरेको रुपमा मात्रै काम गर्नुभयो । कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरिको भाषा संस्कृतिको महत्त्वलाई बुझ्नु भएन । यहाँको ऐतिहासिक सम्पदाको संरक्षण गर्दै सम्बर्द्धनमा लागेको देखिएन ।

यस क्षेत्रमा पानीको स्रोत प्रशस्त छन् । यहाँका पानीको स्रोतहरुलाई निजीकरण गरियो । अब निजीकरण हुनबाट जोगाउनु पर्ने भएको छ । यहाँ पानीका उद्योग प्रशस्त छन् तर यहाँका जनताले पानी खान पाएका छैनन् । यस्ता खालका समस्या हल गर्नको निम्ति मेरो उम्मेदवारी हो ।

घरदैलोमा जाँदा कस्ता गुनासो र समस्या पाउनुभयो ?

यो काठ क्षेत्रमा जसरी सहरीकरण बढ्दै गयो, त्यसलाई व्यवस्थापन गर्न सकिएन । खासमा यो क्षेत्र सहरभन्दा पनि गाउँ नै गाउँ हो । यहाँको स्रोत साधन व्यवस्थित गर्न सकिएन । बाटोको समस्या उस्तै छ । पानी पर्दा हिलो र सुक्खा हुँदा धुलैधुलो हुने अवस्था छ । यस क्षेत्रमा चल्ने गाडीको रुट समेत व्यवस्थित गरिएको छैन । सहरी ढलको समस्या उस्तै छ । कहाँ खोला हो ? कहाँ कुलो भन्ने धेरैलाई थाहा छैन । यो १५/२० वर्षमा यति माफियाकरण बढ्यो कि खोला नालामा समेत घर बनाउने प्रचलन बढ्यो । खोला आएर घर बगाएको होइन खोलामाथि घर बनाएर बगाएको स्थिति छ । आत्मनिर्भर अर्थतन्त्र समेत परनिर्भर हुँदै गएको छ । अब अगुवा बनेर यी समस्या हल गर्ने योजनामा छु ।

यस क्षेत्रको पर्यावरणदेखि ऐतिहासिक सम्पदाको संरक्षण, बाटो, सडक, पुलपुलेसा, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न तपाईंसँग कस्ता योजना छन् ?

हामी संसदमा जाने भनेको सबै ठिक्क पाएर ल्याइदिने स्थानीय तहको जस्तो भूमिकाका लागि होइन । हामीले नीतिगत रुपमा कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्नेक्रममा मन्त्रालयगत रुपमा कहाँ कहाँ समस्या छन् ? जस्तै भूमिको समस्या भए भूमि मन्त्रालय, अव्यवस्थित सहरीकरणको समस्या सहरी मन्त्रालय र ऐतिहासिक महत्वको क्षेत्रका भए संस्कृति मन्त्रालय अन्तर्गत पहल गर्ने हो । हामी जनप्रतिनिधि भई सकेपछि यहाँको मुख्य समस्या के हो भन्ने पहिल्याएर हल गर्ने हो । हामीले कानुनका पाटा र मन्त्रालयगत रुपमा कहाँ समस्या छन्, त्यसको हल गर्ने हो ।

राजनीतिक अस्थिरताले विकासलाई अवरुद्ध गर्‍यो । त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रतीय व्यवस्थामा जान मत मागेकी छु । यो देशको विकास र समृद्धि गर्ने हो भने शासन व्यवस्था बदल्न जरुरी छ । त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्थामा ढिलो चाँडो जानुपर्छ । यहाँबाट निर्वाचित भएर गएपछि शासन व्यवस्था फेर्नेमा मेरो मत प्रकट हुने छ ।

तपाईंको प्रतिस्पर्धी राजन केसी दुई पटक सांसद र मन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । त्यसमा पनि २०७० मा उहाँ तपाईंकै पार्टी अध्यक्षलाई हराएर निर्वाचित हुनु भएको थियो । अहिले उहाँसँग चुनाव लड्न कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

तपाईं राजन केसीले प्रचण्डलाई हराएको कुरा गर्नुहुन्छ । प्रचण्डले राजन केसीलाई २०६४ सालमा हराएको हो ।  २०७० सालमा हाम्रो पार्टी टुटफुट र विभाजन भयो । प्रचण्ड हराउन अभियान नै चलाएको मौकामा उहाँले चुनाव जित्नुभयो । अहिले स्थिति ठिक उल्टो भएको छ । अहिले राजन केसी हराउन अभियान चलेको छ । जनताले १० वर्षमा राजनले केही गरेन भन्ने छ । हुँदाहुँदै चन्द्रागिरि क्षेत्रमा राजनले कोल्टेसमेत फेरेनन् भन्ने छ । दक्षिणकालीमा गयो भने सडकमा जान सक्ने अवस्था छैन । त्यस वरपरको विकास केही देखिँदैन । चन्द्रागिरि र दक्षिणकालीमा विकास भएन, कीर्तिपुरमा गर्‍यो होला भन्ने छ । तर, कीर्तिपुरवासीले १० वर्ष भयो, पानी पिउन पाएका छैनन् । पानीको समस्या हल गर्दिन्छु भनेर भोट माग्नु भएको थियो । अहिलेसम्म पानी आएन ।

त्यसो भए राजन केसीलाई पराजित गर्नुहुन्छ ?

उहाँकै कारणले काठमाडौँ क्षेत्र नम्बर १० मा उहाँको रेकर्ड ब्रेक हुनेवाला छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप