शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन–२ ग्राउण्ड जिरो : यी मतदाता भन्छन्– उम्मेदवार नै चिनेको छैन

शुक्रबार, २५ कात्तिक २०७९, ०७ : ०४
शुक्रबार, २५ कात्तिक २०७९

चितवन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक देशभर उत्कर्षमा पुगेको छ । उम्मेदवारहरू आफ्नो चुनावी अभियानलाई जोडतोडका साथ अघि बढाइरहेका छन् । तर चितवन क्षेत्र नम्बर २ मा केही यस्ता मतदाता पनि भेटिए जसलाई निर्वाचनको रौनकले अझै छोएको छैन । यहाँसम्म कि, उनीहरूलाई आफ्नो क्षेत्रमा को को उम्मेदवार छन् भन्ने पनि थाहा छैन ।

चितवन क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर–२ छत्रपुरका ८३ वर्षीय पूर्णबहादुर गुरुङले २०४६ सालको राजनीतिक परिवर्तन यता मतदान नै गरेका छैनन् । उनी आसन्न निर्वाचनमा भने मतदान गर्ने मनस्थितिमा छन् ।

उनले पञ्चायतकालमा प्रधानपञ्च पदका लागि भएको निर्वाचनमा मतदान गरेका थिए । त्यस यता आफूले कुनै पनि निर्वाचनमा मतदान नगरेको उनले बताए । उनी छत्रपुरमा बसोबास गर्न थालेको डेढ दशक भयो । आफ्नै घर अगाडिबाट उम्मेदवारहरू भोट माग्दै हिँडे पनि उनले कुनै उम्मेदवारलाई चिनेका छैनन् । 

‘मेरै घर अगाडिबाट कयौँ उम्मेदवार भोट माग्दै हिँडेको देखेको छु,’ उनले भने, ‘तर मसँग कसैले अहिलेसम्म भोट मागेको पनि छैन, मैले पनि कुनै उम्मेदवारलाई चिनेको छैन ।’​ ऐलानी जग्गा किनेर बसोबास गर्दै आएका उनी केही वर्ष अघिसम्म रिक्सा चलाउने गर्दथे । उमेर ढल्किएपछि काम गर्न छाडेको उनको भनाइ छ ।

कुनै उम्मेदवार नचिने पनि उनी आगामी निर्वाचनमा नयाँ पुस्तालाई मतदान गर्ने तरखरमा छन् । उनी भन्छन्, ‘मसँग मत दिनुप¥यो भनेर कोही आउनु भएको छैन । तल बाटोबाट हिँड्नु हुन्छ । यहाँ पस्नु हुन्न । मेरो मनको भावना भनेको नयाँ पुस्ताले काम गर्न सक्छन् । त्यसैले उसैलाई भोट दिनुपर्छ ।’

क्षेत्र नम्बर २ अन्तर्गतकै कालिका नगरपालिका वडा नम्बर–२ की टीकामाया श्रेष्ठ पनि उम्मेदवार नै चिन्दिनन् तर मतदान भने गर्ने बताउँछिन् ।

उम्मेदवारका बारेमा आफूले कुनै जानकारी नलिएको उनको भनाइ छ । आफूसँगमा कुनै पनि उम्मेदवारले मत नमागेको तर, सडक सडकमा गाडीसहित घुम्ने गरेको आफूले देखेको उनले बताइन् ।

नेताहरु घरदैलोमा भन्दा पनि अटो तथा गाडीहरूमा माइकिङ गर्दै हिँडेको तर, घर–घरमा पुगेर मत नमागेको उनको भनाइ छ । कालिकामा पछिल्लो समय थुप्रै विकास निर्माणको काम भए पनि अझै विभिन्न समस्या रहेको उनी बताउँछिन् ।

गाउँ नजिकैको खहरे खोलामा छिटै पुल बने भरतपुर आवतजावत गर्न सहज हुने उनको भनाइ छ । सडकहरू पिच भए पनि त्यो नै पर्याप्त नभएको र अबको नेतृत्वले जनताको विषयमा सोचेर छिटै नै काम गर्नुपर्ने उनले बताइन् ।

कालिका नगरपालिका वडा नम्बर १ का जेनी चौधरी र तेतरी चौधरी आफ्नो खेतबारीमा कुलो सफा गरिरहेको अवस्थामा भेटिए ।

उनीहरूले पनि अहिलेसम्म को को उम्मेदवार छ भन्नेबारे आफूलाई जानकारी नभएको बताए । तपाईको क्षेत्रमा उम्मेदवार को को छन् थाहा छ ? भन्ने रातोपाटीको प्रश्नमा उनीहरूको जवाफ थियो, ‘खै को को छन्, थाहा छैन ।’

आफ्नै कामले फुर्सद नभएको बताएका उनीहरूले चुनावको रौनक नेताहरूलाई मात्र लागेको बताए । यद्यपि मतदानमा भने सहभागी हुने उनीहरूको भनाइ छ ।

उम्मेदवार नचिने पनि मतदान गर्ने तेतरीले बताइन् । भोट दिने आफूहरूको अधिकार रहेको र त्यो अधिकार प्रयोग गर्ने उनले जनाइन् ।

उम्मेदवारको बारेमा राम्रोसँग बुझेर मतदान गर्ने उनीहरूले बताए । उनीहरू आम जनताका समस्या समाधान गरिदिने, सडक, पुल, खानेपानी, सिँचाइ जस्ता क्षेत्रको समस्या हेरिदिने उम्मेदवारको खोजीमा छन् ।

आफ्नो क्षेत्रमा सिँचाइको समस्या रहेकाले त्यसको समाधान खोजिरहेका उनीहरू नेताले चुनावको बेलामा मात्र आउने र सबै गरिदिन्छु भने आश्वासन बाँड्ने गरेको तर चुनावपछि फर्केर नआउने गरेको गुनासो पनि सुनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप