आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आम निर्वाचन : सुदूरपश्चिममा १८ हजार सुरक्षाकर्मी परिचालन

शुक्रबार, २५ कात्तिक २०७९, १४ : ०७
शुक्रबार, २५ कात्तिक २०७९

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर ६ हजार ३ सय सुरक्षाकर्मी परिचालन भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।  निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बीसवटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकताअनुसार मात्रै परिचालन हुने जनाइएको छ । मतदानस्थलमा भने निर्वाचनको दुई–तीन अगाडि मात्रै सुरक्षाकर्मी खट्नेछन् । रावलका अनुसार निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन् ।  

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ । 

प्रतिनिधिसभा १६ र प्रदेशसभा ३२ वटा निर्वाचन क्षेत्र रहेको सुदूर पश्चिममा दुई हजार एक सय ४६ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सात सय १० अति संवेदनशील, सात सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्र सामान्य रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एक हजार एक सय ६१ मतदानस्थल रहेको यो प्रदेशमा सामान्य भन्दा संवेदनशील मतदानस्थलको सङ्ख्या बढी छ । अति संवेदनशील ३ सय ५२ र संवेदनशील ४ सय ४ गरी प्रदेशभरि सात सय ५६ मतदानस्थल संवेदनशील रहेका हुन् । ४ सय ५ मतदानस्थल भने सामान्य सूचीमा रहेको सुरक्षा निकायले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप