सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् धनुषामा उम्मेदवारसँग मतदाताका अपेक्षा

शनिबार, २६ कात्तिक २०७९, १४ : १७
शनिबार, २६ कात्तिक २०७९

बलुवा खोलामा पुल निर्माण नहुँदा बर्सेनि वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीय एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कोतिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।

“आफ्नो गाउँदेखि पाँच किलोमिटरको दूरीमा रहेको धनुषाधाम बजारसम्म पुग्न ठूलो समस्या छ”, रामपुरकी श्यामादेवी यादवले भनिन्, “पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्ने गर्छौँ, कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गर्छन् ।”

बाढीको समयमा दुई महिनासम्म त स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुने गरेको यादव बताउँछिन् । यो समस्याबारे वडा र नगरका जनप्रतिनिधिदेखि मन्त्रीसम्म पनि अवगत गराएँ पनि खोलामा पुल निर्माणका लागि कुनै पहल हुनसकेको छैन । पुल निर्माण भएमा गाउँदेखि धनुषाधाम बजारसम्म पाँच किलोमिटर जति दूरी पर्ने छ ।

बालुवा खोलाको बाढीले बर्सेनि गर्दै आएको क्षतिबारे स्थानीयले जनप्रतिनिधिदेखि ठूला नेतालाई गुहार्दै आए पनि सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । “खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाका बारेमा चारैतिर गुहार्दै आएका छौँ, तर हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्”, रामपुरकै सीतादेवी भन्छिन्, “निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पुर्याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराएँ पनि केही हुनसकेको छैन ।” केही महिनाअघि केही प्राविधिक गएर पुलको नाप–नक्सा गरे पनि पुल निर्माणको कुनै काम अघि बढ्न सकेको छैन ।”

त्यसैले अब खोलामा तटबन्धनसँगै पुल निर्माणको सुनिश्चित गर्ने उम्मेदवारलाई मङ्सिर ४ गते हुन गइरहेको प्रनितिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने स्थानीय मतदाताको भनाइ छ । 

चुनावका बेला भोट लिन ठूला–ठूला आश्वासन बाँड्ने नेता पदमा पुगेपछि बिर्सिने गरेको लवटोलियाका रामचन्द्र साहले बताए । उनले भने, “अब जसले हाम्रो कुरालाई मनन् गर्छ र खोलामा तटबन्ध र पुल बनाउने सुनिश्चितता गर्छ हाम्रो मत उहाँलाई नै जान्छ ।”

यता धनुषाधाम नगरपालिकाका निवर्तमान नगरप्रमुख बालेश्वर मण्डलले बलुवा खोलामा पुल निर्माणका लागि पहल गरे पनि सफल हुन नसकेको बताए । “पुल निर्माणका लागि चाहिने जति बजेट नगरपालिकाकासँग भएन, त्यसैले सङ्घीय सरकार र प्रदेश सरकारसँग पहल गरेको थिएँ”, निवर्तमान नगरप्रमुख मण्डलले भने, “पछिल्लो समय के प्रगति भयो, त्यो मलाई थाहा भएन ।” यद्यपि यस विषयमा आफूले पहल गरिरहेको उनको भनाइ थियो ।

 धनुषाको क्षेत्र नं १ मा पर्ने सो क्षेत्रका स्थानीयले आसन्न निर्वाचनमा ठोस प्रतिबद्धता जनाउनेलाई नै मतदान गर्ने बताएका छन् । उक्त क्षेत्रमा प्रनिनिधिसभा सदस्यका लागि पाँचदलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृकाप्रसाद यादव, एमाले–जसपा गठबन्धनबाट जसपाका नेता दीपक कार्की र जनमत पार्टीबाट किशोरी साह (कमल) लगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप