बायो इन्जिनियरिङ र फोहोर व्यवस्थापनको लागि भेटिवर पद्धति रामवाण

person explore access_timeकात्तिक २९, २०७९ chat_bubble_outline0

विश्वमै वातावरणीय विनाश र ह्रास भएको छ । हाम्रो मुलुकको लागि माटोको क्षयीकरण ठुलो  पर्यावरणीय र आर्थिक भार बनेको लुकेको छैन । विश्वमै जलवायु परिवर्तनले सङ्कट निम्त्याएको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो छैन । हामी बाढी, पहिरो, नदी कटान, कृषि उत्पादनमा क्षति, फोहोरमैला आदि समस्या भोग्दै र झेल्दै आइरहेका छौँ ।


सन् २०२० मा मात्रै बाढी, पहिरोका कारण ३६० जनाले ज्यान गुमाए ।   नेपाल रेडक्रस सोसाइटीको अध्ययनअनुसार यसले २३,४७८ परिवार तथा १,१७,३९० व्यक्तिलाई यस विपद्ले असर पुर्यायो । यसमा ५,१२५ घर क्षति भए भने आंशिक रूपले क्षति ७,४५७ घरधुरी भएको देखिन्छ । पहिरोको कारण ७ हजार परिवार अस्थायी रूपले विस्थापित हुन पुगे ।



प्राकृतिक विपत्तिले मानवीय क्षति त छँदैछ । विषाक्त पदार्थसहितको फोहोर खोलानाला, नदी अथवा पानीका स्रोतहरूमा सूक्ष्म हानिकारक जीवहरूको ख्याल नगरी ‘लिचेट’ (फोहोरको झोल पदार्थ) पानीका स्रोतमा मिसाइरहेको देखिन्छ ।



हामीले प्रकृतिको आन्तरिक मूल्यलाई विचार गर्दै दैनिकी सहज बनाउन सेवाहरूको मूल्य र आर्थिक मूल्याङ्कन प्रणालीमा प्राकृतिक विषयहरू समाविष्ट गर्नुपर्ने आवश्यकता छ । हामी नीति प्रक्रिया र कार्यान्वयनका विभिन्न पाटोहरुमा असफल छौँ । जस्तै विषयवस्तुको निश्चितता, पहुँच निर्णय– निर्धारण, अनुकूल नीति, कार्यान्वयन पाटो र अनुगमन तथा संस्थागत आकार दिन र दीर्घकालीन प्राथमिकताहरू आदि । यो अवस्था हेर्दा हामीले आफ्नै बलबुतामा दिगो रूपले माटो, पानी र हावाको व्यवस्थापन गर्नुपर्ने जिम्मेदारी देखिन्छ । यसका लागि भेटिवर घाँस रामवाण सावित हुन सक्छ ।

के हो भेटिवर घाँस ?

भेटिवर अङ्ग्रेजी नाम हो । यो धान, गहुँजस्तै घाँस प्रजातिको विरुवा हो । भेटिवर घाँसलाई संस्कृतमा उसिरा भनिन्छ । हिन्दीमा खस र कसैकसैले खुस–खुस पनि भन्दछन् । यो एक बहुबर्से घाँस जातको वनस्पति हो । यसले उर्वर बीउ उत्पादन गर्न सक्दैन, यो गुच्छादार विरुवा हो । भारतमा पहिलेदेखि नै यसको प्रयोग गरेको पाइन्छ । यो झारको रुपमा नफैलिने अद्वितीय र अद्भुत घाँस हो । यसको जरा वरपरको क्षेत्रमा फाइदाजनक सूक्ष्म जीवहरूको प्रक्रियाहरूलाई चलायमान बनाउनुको साथै उत्तेजित गराउँछ ।

यसले माटोको नुनिलोपनदेखि अम्लीयपन ३ देखि ११ सम्म र तापमान १५ देखि ५५ डिग्री सेल्सियससम्म सहन सक्छ । यो विरुवा अत्यन्त खडेरीदेखि कम्तीमा तीन महिनासम्म पानीमा पूर्ण डुबेर पनि बाँच्न सक्छ भन्ने प्रमाणित भउको छ । यसको व्याख्या आयुर्वेदिक पित्त दोष उपचारको लागि गरिएको पाइन्छ । त्यस्तै वेद, चरक संहिता र सुसुर्ता संहितामा उल्लेख गरेको पाइन्छ ।

परापूर्वकालदेखि  भेटिवर घाँस र यसका जरा तिनको सुगन्ध, औषधीय र भूक्षय नियन्त्रणको लागि प्रयोग भएको देखिन्छ । यसको डाँठ दुई मिटरसम्म बढ्छ भने जरा तीन मिटर गहिराइसम्म जान्छ ।

रोपिएको तीन महिनाभित्रै यसले नङ र मासु जोडिएजसरी माटो समाउँछ । लिचेट फोहोरको झोलमा रहेका विषादी पदार्थ क्याडेमियम, निकल, फलाम, एन्टिबायोटिकको संरचना भत्काएर खाद्य पदार्थका रूपमा ग्रहण गर्दछ । यो समुद्र सतहदेखि २५ सय मिटर उचाइसम्म लगाउन सकिन्छ ।

आशाजनक वनस्पति स्रोतहरू जुन यसअघि उपेक्षित वा बेवास्ता गरिएका थिए, तिनलाई प्रयोग गरी विकासोन्मुख देशको समस्या समाधान गर्ने विशेष प्रतिज्ञासहित सन् १९७० कै दशकमा बोर्ड अन साइन्स एन्ड टेक्नोलोजी फर इन्टरनेशनल डेभलपमेन्ट, राष्ट्रिय अनुसन्धान परिषद्को एक डिभिजनले  भेटिवर पद्धतिमा कार्य गरेको देखिन्छ ।

माटो र पानी संरक्षणको लागि विश्व बैंकद्वारा कृषि खण्डको लागि प्रविधि पहिलो पटक विकसित गरिएको थियो । पछि आएर जैविक इन्जिनियरिङ र वातावरणीय फाइटोरे मेडिएसनमार्फत् गैरकृषि क्षेत्रलाई समेट्न विस्तार गरिएको थियो ।

सन् १९५६ मा फिजीमा जोन ग्रीनफिल्डले उखु खेतीसँगै यसको सफल प्रयोग गरेका थिए । कामकै सिलसिलामा जोन ग्रीनफिल्ड भारत आएपछि त्यहाँ मैसुरमा  प्रयोग भइरहेको भेटिवर पद्धति देखेर दङदास परेको देखिन्छ । यसै आधारमा धेरै अगाडिदेखि भारत र अन्य मुलुकमा अभ्यासमा रहेको भेटिवर घाँस पद्धति यहाँ  ‘दिगो र समावेशी विकासका लागि अनुसन्धान तथा उत्प्रेरणा केन्द्र’, संस्थाले अगाडि ल्याएको छ ।

भेटिवर पद्धति नै किन ?

भेटिवर प्रणाली (भीएस) माटो र पानी संरक्षणको एक प्रणाली हो । यसले भेटिवर घाँसको प्रयोग गर्दै धेरै जमिन र पानीसम्बन्धि चुनौती समाधान गर्न उत्तम अभ्यास विधिलाई बुझाउँछ । भेटिवर प्रणाली एउटा वर्णनात्मक नाम हो जसमा भेटिवर घाँस प्रविधि पर्दछ । यो घाँस प्रविधि ठाउँ, समस्या, आवश्यकता, वातावरण, लागत आदि अध्ययन र अनुसन्धान गरी धेरै फरक, फरक प्रयोग गर्न सकिन्छ ।

भेटिवर पद्धति परिस्थिति र आवश्यकताअनुसार एक्लै कार्यान्वयन गर्न सकिन्छ । यो अन्य परम्परागत हार्डइन्जिनियर समाधानहरू जस्तै रिटेनिङ वाल, ग्याबियन बास्केट, जियोटेक्स्टाइल आदिसँगको संयोजनमा लागू गर्न सकिन्छ । भेटिवर प्रणाली संसारमा एक सय भन्दा बढी देशहरूमा प्रयोग गरिएको छ ।

जस्तै माटो र पानी संरक्षण, पूर्वाधार स्थिरीकरण, प्रदूषण नियन्त्रण, फोहोर पानी उपचार, विपद न्यूनीकरण र पुनःस्थापना, नदी किनारा र बगर नियन्त्रण, आँधीको क्षतिको रोकथाम र अन्य वातावरणीय सुरक्षाका प्रयोगहरू बायोइन्जिनियरिङ,   फाइटो रिमेडिएसन र बायोरिमेडीएसन  मार्फत प्रयोग गरिएको छ ।

भेटिवर पद्धतिले सबै क्षेत्रमा उत्कृष्ट नतिजा दिएको देखिन्छ । जस्तै  थाइल्याण्डका राजाको पहलपछि सन् १९९३ बाट  राजमार्ग निर्माण र मर्मत सम्भारका परियोजनामा भूक्षय नियन्त्रण र स्थिरीकरणको लागि प्रत्येक वर्ष भेटिवर घाँसका ४.५ मिलियन भन्दा बढी स्लिप रोपिएको छ । ३२ सय किमी लामो  हो ची मिन्ह सडकमा, संवेदनशील कटिङ र फिलिङ गरिएको सडकको १ हजार किमीका बिभिन्न ठाउँमा भिरालो स्थिरीकरण भेटिवर पद्धतिद्वारा गरियो ।

नेपालमा बनिरहेको फास्ट ट्रयाकमा, मुग्लिङ–नारायणगढ सडकदेखि मुलुकभरिका सडक र ग्रामीण सडकहरुमा भेटिवर पद्धतिसहित बायो इन्जिनियरिङ वा इको फ्रेन्डली इन्जिनियरिङ गर्न सकिन्छ ।

कतिपय अफ्रिकी मुलुकहरुको अध्ययन गर्दा, भेटिवर पद्धतिले दिगो भूमि स्थिरिकरण गरिदिए हामी के खाने भन्ने ठेकेदारहरुले प्रश्नहरु उब्जाएको पनि देखिन्छ । यसले हाम्रो मुलुकमा पनि भएको ठेकेदारी प्रथाको कमिशनका कारण जनप्रतिनिधि र प्राविधिक कर्मचारीको पनि चासो कम रहेको देखिन्छ ।      

भेटिवरले लामो समयसम्म खडेरी, बाढी, चरम तापक्रम, उच्च स्तरको लवणता, सोडियम बढी भएको, अम्लता, क्षारीयता र विषाक्त धातुहरुको विस्तृत श्रृङ्खलासहित चरम जलवायु परिवर्तन सहन सक्छ । यस घाँसको द्रुत वृद्धि दर, उच्च बायोमास, स्थानीय प्रजातिहरूमा गैरआक्रमक प्रभाव, प्रदूषणमा सहनशीलता र जराको विशिष्ट व्यवहारको कारणले महत्वपूर्ण छ ।

भेटिवर पद्धति जलवायु संकट मानवीय सुरक्षासँग जोडिएको विषय हुनुको साथै संयुक्त रास्ट्र संघले अगाडी सारेका १७ लक्ष्य, उद्देश्य र कार्यान्वयनका पाटोसंग जोडिन्छ । भेटिवर घाँसले कार्बन सीक्वेस्ट्रेशन २० देखि ३० टन प्रतिवर्ष बनाउन सक्छ । यसको जरा, पात र काण्डले  ठुलो मात्रामा बायो मास उत्पादन गर्न सक्छ । बायो मासको  मात्रा स्थान, माटो र जलवायुमा निर्भर गर्दछ ।

भेटिवरको प्रयोग गरेर दूषित फोहोरमैला फाल्ने साइटहरूको लिचेट उपचारमा उत्कृष्ट नतिजा दिएको छ । भारी धातु र नुन भएको लिचेट भेटिवरको अद्वितीय विशेषताले उपचार गर्दछ । भेटिवरको उच्च वाष्प ट्रान्सपिरेसन क्षमताको कारणले ओसिलो खपत हुन्छ र प्रदूषकहरूले बोटको वृद्धिलाई इन्धन गर्न सूक्ष्म र म्याक्रो पोषक तत्त्वको रूपमा काम गर्दछ । भेटिवर प्रयोग गर्ने प्रणालीले ल्यान्डफिलमा वर्षाको घुसपैठलाई पनि कम गर्छ, जसको परिणामस्वरूप कम लिचेट उत्पादन हुन्छ ।

भेटिवर पद्धतिसहितको बायो इन्जिनियरिङ प्रयोग गर्न हाम्रो मुलुकका ७ सय ५३ रिुमा सहजै सकिन्छ । यसलाई हामीले काठमाडौंबाट एक वर्षलाई भनेर फोहोर फाल्न सुरु गरिएको सिसडोल ल्याण्ड साइट क्लोज अप गर्न वा त्यहाँ कोल्पू खोलामा मिसाइरहेको फोहोरको झोलको उपचार गर्न सक्छौ ।     

भेटिवर पद्धति वातावरणमैत्री र आर्थिक रुपले कम लागत लाग्ने पद्धति हो । सामाजिक रुपले पनि सहज र अनुकूल रहेको छ । स्थानीय औजार, स्रोत र साधन यसमा प्रयोग गर्न सजिलो र सहज छ । निर्वाहमुखी कृषिलाई बाजुरा, मुगु र हुम्लाका कर्णाली तटीय क्षेत्रमा जलवायु विपद्ले खलबल्यायो, सो को निराकरणको लागि माटोको ओसिलोपन बचाएर राख्ने गुणलाई सो क्षेत्रमा कृषि–वन पद्धति विकास गर्न सकिन्छ ।

भेटिवरको गाँज लगभग सय  वर्षसम्म बाँच्छ । कीरा, रोग र आगोको लागि अत्यधिक प्रतिरोधी छ । भेटिवर घाँस धान, मकैमा लाग्ने किराहरू आफूतिर आकर्षित गर्ने  ट्रयाप बिरुवाको रूपमा पनि प्रयोग गरी सफल भएको छ । त्यसैले, नेपालको भूगोलको अवस्थालाई यो साह्रै महत्वपूर्ण छ । यसलाई तीनै तहका सरकारले नीति, वार्षिक बजेट, योजना र आयोजनामा तत्काल कार्यान्वयनमा ल्याउनु अत्यावश्यक छ ।

पहाडको पहिरो, बाढी, गेग्र्यान र भग्नावशेष बगाउने रोक्नदेखि नेपालको तराई हुँदै भारतीय क्षेत्रमा हुने डुबान, नदी कटान रोक्न यो घाँस जातिको बिरुवा सक्षम छ । सामान्य आँखाबाट हेर्दा अपत्यारिलो, सामान्य देखिएता पनि यो विशिष्ट गुण रहेको भेटिवर घाँसको जात हाम्रो जीवन दैनिकी सहज बनाउने कुन्जी नै हो भन्न सकिन्छ । 

लेखक न्यौपाने स्थानीय विकास र संघीयताका अध्येता हुन्  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।