शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जी २० सम्मेलनमा सी जिनपिङ र जस्टिन ट्रुडोबीच भनाभन भएको भिडियो भाइरल

बुधबार, ३० कात्तिक २०७९, २२ : ४२
बुधबार, ३० कात्तिक २०७९

चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा दुई नेताबीच असन्तुष्ट भनाभन भएको देखिन्छ । भिडियोमा चिनियाँ राष्ट्रपति ट्रुडोप्रति गुनासो गर्दै ट्रुडोसँग कुरा राख्छन् ।

सीको बोली अंग्रेजीमा अनुवाद गर्ने व्यक्तिले भनिरहेका थिए, ‘हामी बीचमा जो विषयमा छलफल भयो, ती पत्रपत्रिकामा लिक भयो, त्यो ठीक होइन...र वहसको उपयुक्त तरिका यो होइन । हामीले एक अर्कासँग सम्मानजनक रूपमा कुराकानी गर्नुपर्छ, अन्यथा परिणाम के हुन्छ भन्न गाह्रो छ ।’

दुई नेता बीचको यो भिडियो इन्डोनेसियाको बालीमा भएको जी २० सम्मेलनको अन्तिम दिनको अनौपचारिक कार्यक्रमको हो । त्यसपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोले शान्तपूर्वक जवाफ दिन्छन्– ‘ क्यानडामा हामी स्वतन्त्र र खुला संवादमा विश्वास गर्छौं र हामी त्यसलाई निरन्तरता दिइरहनेछौं । हामी सकारात्मक रूपमा सँगै काम गर्न तत्पर हुनेछौं, तर त्यसमा हामीबीच असहमत कुरा हुनेछ भनेर स्वीकार्नुपर्छ ।’

ट्रुडोको जवाफपछि दुवै नेता हात जोडेर आ–आफ्नो बाटोमा हिँडेको देख्न सकिन्छ । उनी जाँदा चिनियाँ राष्ट्रपतिले ‘धेरै राम्रो, तर पहिले त्यस्तो अवस्था सिर्जना गर्नुस्’ भनेको सुनिन्छ ।  बालीमा चलिरहेको जी २० सम्मेलनमा त्यहाँ उपस्थित एक क्यामेराम्यानले दुई नेताबीचको यो झगडालाई कैद गरेका थिए । 

क्यानडाका प्रधानमन्त्री ट्रुडोले मंगलबार सी जिनपिङलाई भेटेका थिए । पछि क्यानडाको प्रधानमन्त्रीको कार्यालयले ट्रुडोले क्यानडाको चुनावमा चिनियाँ हस्तक्षेपको बारेमा जिनपिङलाई चिन्ता व्यक्त गरेको बतायो ।  मंगलबारको १० मिनेट भएको सी र ट्रुडोबीचको छलफलमा रुस–युक्रेन संकट, उत्तर कोरियाको अवस्था र जलवायु परिवर्तनको विषय पनि उठाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप