शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गरौं– केपी ओली

बिहीबार, ०१ मङ्सिर २०७९, २१ : २४
बिहीबार, ०१ मङ्सिर २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताएका छन् । झापाको गौरीगञ्जमा आज आयोजित चुनावी सभामा उनले सो कुरा बताएका हुन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने समेत बताए । “त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।” 

पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताए । उनले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताए । “जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ”, उनले भने, “हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।” 

अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गरिने बताए । उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने समेत बताए । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताए । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । गौरीगञ्जमा उनको अन्तिम चुनावी सभा हो । 

यसअघि  झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरे ।
निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, “यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पुर्याउनुस् ।” अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिए ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व कानूनमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप