बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभातर्फ सातमध्ये ४ प्रदेशमा घट्यो एमालेको समानुपातिक मत

आइतबार, १८ मङ्सिर २०७९, १४ : २७
आइतबार, १८ मङ्सिर २०७९

हालै सम्पन्न निर्वाचनबाट सात प्रदेशमध्ये ६ प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो नम्बरमा स्थापित भएको छ । यद्यपि, पार्टी विभाजन नभएको भए एमाले सातवटै प्रदेशमा पहिलो बन्ने थियो भन्ने निर्वाचन आयोगले जारी गरेको मत परिणामले देखाउँछ ।

यतिमात्र होइन, पार्टी विभाजनकै कारण ४ वटा प्रदेशमा अघिल्लो निर्वाचनको तुलनामा एमालेको मत घटेको देखिन्छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा २०७४ को प्रदेशसभा निर्वाचनको तुलनामा प्रदेशसभा निर्वाचन २०७९ मा समानुपातिकतर्फ एमालेको मत घटेको हो ।

प्रदेश १

२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले प्रदेश १ मा समानुपातिकतर्फ ६ लाख ७३ हजार ७०९ मत पाएको थियो ।

२०७९ को प्रदेशसभा निर्वाचनमा भने एमालेले प्रदेश १ मा समानुपातिकतर्फ ६ लाख ६५ हजार ४६० मत पाएको छ । २०७४ को तुलनामा २०७९ मा एमालेले प्रदेश १ को प्रदेशसभा समानुपातिकमा ८ हजार २४९ मत कम पाएको हो ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले भने प्रदेश १ मा ५५ हजार ९५७ मत पाएको छ । एमाले विभाजन नभएको भए नेकपा एकीकृत समाजवादीले पाएको उल्लेखित मत एमालेकै खातामा जाने थियो ।

मधेस प्रदेश

मधेस प्रदेशमा २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ २ लाख ४९ हजार ७३४ मत पाएको थियो । २०७९ को प्रदेशसभा निर्वाचनमा एमालेले मधेस प्रदेशसभाको समानुपातिकतर्फ ३ लाख ५१ हजार ७६८ मत पाएको छ । मधेस प्रदेशमा भने एमालेले पार्टी विभाजनका बाबजुद अघिल्लो निर्वाचनको तुलनामा आफ्नो मत बढाएको छ । २०७४ को तुलनामा २०७९ को प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशमा एमालेले समानुपातिकतर्फ एक लाख २ हजार ३४ मत बढाएको छ ।

एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले मधेस प्रदेशमा समानुपातिकतर्फ एक लाख १३ हजार ९१५ मत पाएको छ ।

७ प्रदेशमध्ये ६ वटा प्रदेशमा समानुपातिकतर्फ पहिलो रहेको एमाले मधेस प्रदेशमा मात्र दोस्रो स्थानमा छ । तर, पार्टी विभाजन नभएको भए यो प्रदेशमा पनि एमाले पहिलो पोजिसन मै हुने नेकपा एकीकृत समाजवादीले पाएको मतबाट प्रस्ट हुन्छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेले ६ लाख ७७ हजार ३१७ मत समानुपातिकतर्फ पाएको थियो । हालै सम्पन्न निर्वाचनमा भने यो प्रदेशमा एमालेले समानुपातिकतर्फ ५ लाख ६२ हजार ६७५ मत पाएको छ । अर्थात्, अघिल्लो निर्वाचनको तुलनामा एमालेले एक लाख १४ हजार ६४२ मत कम पाएको हो । जबकि, एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले हालै सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभातर्फ समानुपातिकमा ६४ हजार १०८ मत पाएको छ ।

गण्डकी प्रदेश

यस्तै, गण्डकी प्रदेशमा नेकपा एमालेले हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ३ लाख ६७ हजार ९८९ मत पाएको छ । जबकि, यो प्रदेशमा २०७४ को प्रदेशसभा निर्वाचनमा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाएको थियो । अघिल्लो निर्वाचनको तुलनामा एमालेले ५ हजार ५१२ मत कम पाएको हो । यो प्रदेशमा नेकपा एकीकृत समाजवादीले १५ हजार ७६ मत पाएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा प्रदेशसभा निर्वाचन २०७९ मा एमालेले समानुपातिकतर्फ ५ लाख ७० हजार ९२१ मत प्राप्त गरेको छ । जबकि, अघिल्लो निर्वाचनमा यो प्रदेशमा एमालेले समानुपातिकतर्फ ५ लाख ३३ हजार ६१३ मत पाएको थियो । यो प्रदेशमा एमालेले पार्टी विभाजनका बाबजुद अघिल्लो निर्वाचनको तुलनामा हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा आफ्नो मत बढाएको छ । लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ ४२ हजार ६२१ मत पाएको छ ।

कर्णाली प्रदेश

यस्तै, कर्णाली प्रदेशमा एमालेले प्रदेशसभाको समानुपातिकतर्फ एक लाख ८३ हजार ९५० मत पाएको छ । २०७४ को निर्वाचनमा यो प्रदेशमा एमालेले समानुपातिकतर्फ एक लाख ६९ हजार ७५५ मत पाएको थियो । २०७४ को निर्वाचनको तुलनामा एमालेले अहिले कर्णाली प्रदेशमा समानुपातिकतर्फ १४ हजार १९५ मत बढाएको छ । यो प्रदेशमा नेकपा एकीकृत समाजवादीले भने समानुपातिकतर्फ ३५ हजार ८२६ मत पाएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ४८ हजार ८४० मत पाएको छ । यो प्रदेशमा २०७४ को निर्वाचनमा एमालेले समानुपातिकतर्फ २ लाख ६० हजार ९५५ मत पाएको थियो । अघिल्लो निर्वाचनको तुलनामा अहिले एमालेले यहाँ १२ हजार ११५ मत कम पाएको हो । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले ४१ हजार ८३९ मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप