शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘संसदीय दलमा शेरबहादुरजीभन्दा अर्को उपयुक्त पात्र छैन’

घन्टी ‘नानीमैया फेनोमिना’ हो, पाँच वर्षपछि नामोनिसान मेटिन्छ : डा. शशांक कोइराला
बिहीबार, २२ मङ्सिर २०७९, ०७ : ३१
बिहीबार, २२ मङ्सिर २०७९

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा नै उपयुक्त पात्र भएको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई मंगलबार भेटेपछि रातोपाटीसँगको कुराकानीमा कोइरालाले यस्तो बताएका हुन् ।

गठबन्धनको निरन्तरताका लागि कांग्रेसमा देउवाभन्दा अर्को उपयुक्त पात्र नभएको उनको भनाइ छ । उनले आफू यसपटक मन्त्री बन्ने तयारीमा रहेको पनि सुनाए । नयाँ राजनीतिक दलको उदयलाई भने कोइरालाले ‘नानीमैया फेनोमिना’को संज्ञा दिए । आफूहरुले राम्ररी काम गर्दा पाँच वर्षपछि नयाँ पार्टीहरुको नामोनिसान मेटिने उनको दाबी छ ।

कांग्रेसका पूर्वमहामन्त्री कोइरालासँग देउवासँगको भेट, संसदीय दलको नेता, नयाँ प्रधानमन्त्री र नयाँ दलको उदयका विषयमा रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, नेता कोइरालासँग गरिएको कुराकानीको संम्पादित अंश –

मंगलबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्नु भएको थियो, खास के के कुराकानी भयो ?

नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाएकोमा र सातौं पटक डडेल्धुराबाट निर्वाचित भएकोमा बधाई दिएँ । उहाँले पनि मलाई बधाई दिनुभयो । म पनि नवलपुरबाट लगातार चौथो पटक निर्वाचित भएको छु ।

सभापति देउवा संसदीय दलको नेता बन्ने तयारीमा लाग्नु भएको छ । तपाईसँग उहाँले सहयोग माग्नु भएन ?

उहाँले सहयोग माग्नु भयो । मलाई सहयोग गर भन्नुभयो ।

तपाईले के जवाफ दिनु भयो त ?

तपाईलाई कहिले सहयोग गरेको छैन र भनेँ । तपाईलाई सहयोग नै गरेको छु । भोलिका दिनमा पनि मेरो सहयोग रहन्छ भनेँ ।

कांग्रेसमा आधा दर्जन नेता संसदीय दलको नेता बन्ने होडमा छन् । को कोसँग भेटघाट भयो ? देउवा बाहेक तपाईसँग अरु क–कसले सहयोग मागेका छन् ?

रामचन्द्र दाइ (पौडेल)सँग भेटवार्ता भयो । उहाँले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो । मैले छलफल गरौंला नि भनेँ ।

चुनावताका तपाईले पनि प्रधानमन्त्रीमा दाबी गर्नु भएको थियो । प्रधानमन्त्री हुन पार्टी संसदीय दलको नेता हुनुपर्छ । तपाईले संसदीय दलको नेताका लागि सहयोग माग्नु भएको छैन ? कि ‘ब्याक’ भइसक्नु भयो ?

‘ब्याक’ भएको छैन । परिस्थिति आयो भने प्रधानमन्त्री बन्न म किन पछाडि पर्छु र ? संसदीय दलका लागि अंकगणित पनि त अनुकुल हुनुपर्छ ।

कांग्रेसभित्र युवा नेतृत्वको पक्षमा जबरजस्त माहोल बन्दै गएको छ । जनअपेक्षा पनि त्यही खालको देखिन्छ । यसलाई तपाईले कसरी हेरिराख्नु भएको छ ?

शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री भइहाल्नु भयो । मेरो दृष्टिकोणले उहाँले अब मुलुक अरुले चलाउनुपर्छ भन्नुपर्ने हो । तर उहाँको मनस्थिति त्यस्तो लागेन । पार्टीमा उहाँ नै मुख्य व्यक्ति हो ।

उहाँले माओवादीसँग डिल गर्नुभयो । माधव नेपालसँग डिल गर्नुभयो । अरु शीर्षस्थ नेतासँग पनि उहाँले नै परामर्श गर्नुभयो । अहिले पनि उहाँको पहिलो ठाउँ देख्छु । हामी आउँदा सबै नौलो हुन्छ । यसअघिको वार्तालापमा हामी त थिएनौं ।​

अहिले गठबन्धन अगाडि बढाउन शेरबहादुर देउवा नै चाहिन्छ भन्न खोज्नु भएको हो ?

त्यो ठिक हो । उहाँको विकल्प पनि देखिँदैन ।

त्यसो भए गठबन्धनका लागि देउवा नै सजिलो पात्र हो भन्ने तपाईको बुझाइ हो ?

हो । गठबन्धनको राजनीतिमा शेरबहादुरजी पोख्त हुनुहुन्छ । गठबन्धनको राजनीति र रणनीतिमा उहाँको बेग्लै क्षमता छ ।

सभापति देउवालाई विस्थापित गर्न भन्दै महामन्त्री गगन थापा आक्रामक रुपमा अगाडि आइराख्नु भएको छ । उहाँ संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुने सम्भावना देख्नुहुन्छ ?

अब महामन्त्रीले पनि प्रधानमन्त्री बन्ने इच्छा प्रकट गर्नु भएको छ । उहाँले पहिले संसदीय बोर्डमा लड्नुगर्‍यो ।

गगन थापा लड्छु भनेर अगाडि आइसक्नु भएको छ त ?

लड्छु भनेरमात्र हुँदैन । गगनजीलाई अहिले हेर्दा गाह्रो छ । शेरबहादुरजीसँग उहाँले फेस गर्न सक्नुहुन्न । मैले गाह्रै देख्छु ।

तपाई कांग्रेसभित्रको गुटगत राजनीतिभन्दा बाहिर हुनुहुन्छ । तपाई कांग्रेसभित्रको साझा नेताजस्तो देखिनुहुन्छ । संसदीय दलको नेतामा कस्तो समीकरण बन्ने देख्नु हुन्छ ?

परिस्थिति अहिले नै क्लियर बनेको छैन । समानुपातिक सांसदको टुंगो लागेपछि सबै थाहा हुन्छ । यो हेर्दा शेरबहादुरजी बहुमतमा देखिनुहुन्छ ।

पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइरालाले तपाईबाट सहयोग नपाएको गुनासो गर्नु भएको थियो । अहिले उहाँ पनि संसदीय दलको नेताका लागि चुनाव लड्ने तयारीमा हुनुहुन्छ । उहाँसँग संवाद भएको छ कि छैन ?

उहाँसँग संवाद र भेटघाट भएको छैन ।

चुनाव जितेपछि बधाई साटासाटाका लागि टेलिफोन संवाद पनि भएको छैन ?

अहिलेसम्म केही भएको छैन । उहाँले मलाई फोन गर्नु भएको छैन । मैले पनि उहाँलाई फोन गरेको छैन । केही दिनमा कुरा हुन्छ होला ।

संसदीय दलको नेतामा शेखर कोइरालालाई सहयोग गर्नु हुन्छ ? कि महाधिवेशनमा जस्तै तटस्थ बस्ने मुडमा हुनुहुन्छ ?

अहिले पनि हेर्नुपर्छ । अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुरजी नै हो । हुन त उहाँ (शेखर कोइराला) मेरो दाइ हो । मैले अघि भनेँ नि । सबै दलसँग वार्ता शेरबहादुरजीले गर्नु भएको छ । नयाँ मान्छे आयो भने त्यो वार्ता फेरि प्रारम्भ गर्नुगर्‍यो। कुन बाटो लिन्छ भन्ने स्पस्ट पनि हुँदैन । नयाँ मान्छे आउँदा अन्योलतातर्फ गइन्छ कि भन्ने मलाई चिन्ता हो । त्यसैले शेरबहादुरजी नै मलाई उपयुक्त पात्र हो जस्तो लागेको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावअघिकै गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिने निष्कर्ष निकालेका छन् । यसप्रति तपाईको धारणा के छ ?

गठबन्धन त हुनुगर्‍यो । हामीसँग अरु विकल्प पनि छैन । सरकार बनाउनुपर्छ । गठबन्धन हामीलाई चाहिन्छ, चाहिन्छ । पाँच वर्ष स्थायी सरकारका लागि चुनावअघिकै गठबन्धनलाई निरन्तरता दिएर जानुपर्थ्यो र त्यही अनुसार गठबन्धनले निर्णय गरेको छ । यो राम्रो हो । यसलाई मैले सकारात्मक रुपमा दिएको छु ।

गठबन्धनको सरकार बन्दा आलोपालो प्रधानमन्त्रीको कुरा सुनिन्छ । पाँच वर्ष स्थायी सरकार कसरी बन्छ ?

सबैले आ–आफ्नो क्षेत्रबाट इमानदार पूर्वक काम  गर्‍यो भने भइहाल्छ नि ।

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट कुनै पनि दलले प्रस्ट बहुमत प्राप्त गर्न सकेन । संसदीय समीकरण पनि भद्रगोल बन्ने आकलन गरिएको छ । पाँच वर्ष यो संसद जान्छ कि जाँदैन भनेर विश्लेषण भइरहेको छ । तपाईले के देख्नु भएको छ ?

यो सरकारले सन्तुलित हिसाबमा पाँच वर्ष चलाउने हो भने सबैलाई सन्तुष्ट राख्नु गर्‍यो । कोही कसैले पनि बागी हुनु भएन । सरकारले दिएका कार्यक्रमहरु उपयुक्त हुनुगर्‍यो । हरेक ठाउँमा विकास चाहिएको छ। मैले पनि मेरो निर्वाचन क्षेत्रमा त्यत्रो विकासको प्रतिबद्धता गरेर आएको छु ।

मैले यो गर्छु, त्यो गर्छु भनेको छु । त्यो त गर्नुगर्‍यो । त्यो सन्तुलन मिलाएर सरकार चलाउनुपर्ने छ । कांग्रेसले यसलाई सन्तुलन मिलाउँछ । यो संसद पाँच वर्ष सजिलै चल्छ ।

गठबन्धनमा नयाँ सरकारको नेतृत्व गर्ने सवालमा कांग्रेस र माओवादीबीच रस्साकस्सी चलिरहेको छ । अहिलेको जनादेशले कसको नेतृत्व खोजेको छ ?

नेपाली कांग्रेस पहिलो पार्टी पनि हो । कांग्रेसकै सरकार बन्नुपर्छ । कांग्रेसले नै सरकार चलाउने जनादेश पाएको छ । गठबन्धनका सबै नेताहरु यो विषयमा जानकार हुनुहुन्छ । नेताहरुबीच कसले ३ वर्ष चलाउने र कसले २ वर्ष चलाउने भन्ने होला । त्यो नेताहरुले वार्तामार्फत टुङ्गो लगाउनु होला ।

पहिलो चरणमा कांग्रेसले नै गर्नुपर्छ भन्ने तपाईको अडान हो ?

हो । कांग्रेसले नै त गर्नुगर्‍यो नि ।

नयाँ सरकारको कार्यदिशा के हुनुपर्छ जस्तो लाग्छ ?

मैले धेरै ठाउँमा भनेको छु । हामीले कृषिमा कहिल्यै पनि हात हालेनौं । तपाईलाई थाहा छ, कृषिमा अहिलेको बजेट कति छ ? १ प्रतिशत मात्र छ । अब हामीले त्यसलाई परिवर्तन गर्नुपर्छ । कोभिड–१९ले पर्यटन धरासयी बनेको छ ।

बल्ल रिभाइभ हुँदैछ । हाइड्रोको काम भइरहेको छ । त्यसलाई केही गर्नु पर्दैन । अर्को पक्ष भनेको हाम्रो कृषि नै हो । कृषिलाई आधुनिकीकरण गर्नुपर्छ । युवाहरुलाई कृषिमा प्रोत्साहन गर्नुपर्छ । त्यो मसँग खाका छ ।

लगातार ४ पटक सांसदमा निर्वाचित हुनुभयो । अहिलेसम्म मन्त्री हुनु भएको छैन । यस पटक मन्त्री बन्ने मुडमा हुनुहुन्छ कि हुनुहुन्न ?

मन्त्री नभएरै चार पटक जितेँ । चुनाव जित्नका लागि के मन्त्री बन्न जरुरी छ र ?

कृषि क्षेत्रमा आमुल परिवर्तन गर्ने खाका छ भन्नुहुन्छ मन्त्री नभएर कसरी कार्यान्वयन गर्नुहुन्छ त ?

मैले शेरबहादुरजीलाई यस पटक म मन्त्री हुनुपर्छ भनेको छु । यसमा उहाँ सकारात्मक हुनुहुन्छ । मंगलबार धेरै कुराकानी हुन पाएन । फेरि कुराकानी हुन्छ ।

त्यसो भए यसपटक मन्त्री हुने मुडमा हुनुहुन्छ ?

मन्त्री त हुनै गर्‍यो नि । विगतमा पनि शेरबहादुरजीले मन्त्री हुने हो भनेर सोध्नु भएको थियो । साथीहरुलाई अवसर दिनुस् भनेँ । म मन्त्री भइनँ । यसपटक म आफै मन्त्री हुन्छु भनेको छु ।

कुन मन्त्री बन्ने इच्छा छ ?

मलाई कृषि मन्त्री बनाइदिए हुन्छ । म सर्वप्रथम कृषिको बजेट बढाउँछु ।

तपाई राजनीतिभन्दा अगाडि स्वास्थ्य क्षेत्रमा हुनुहुन्थयो । स्वास्थ्य छाडेर कृषिमन्त्री हुने इच्छा किन राख्नुभयो ?

डाक्टर मान्छे भएकाले स्वास्थ्य मन्त्री हुने कुरा पनि ठिकै हो । तर यतिबेला कृषिमा काम गरेर देखाउनुपर्ने बेला छ । रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न जरुरी छ । रोजगारीका दैनिकजसो हजारौं युवा विदेशिनु पर्ने बाध्यता छ । यसलाई रोक्नका लागि लगानी बढाएर कृषिमा आधुनिकीकरण गर्नु अहिलेको आवश्यकता हो ।

यसअघि कृषिमन्त्री भएकाहरुले पनि कृषिलाई आधुनिकीकरण गर्ने कुरा गरे तर काम गर्न सकेको देखिएन । तपाई कृषिमन्त्री हुँदा कसरी चमत्कार गर्नुहोला ?

मैले अघि भनेँ नि, कृषिमा बजेट बढाउनु गर्‍यो । त्यसपछि कृषिलाई आधुनिकीकरण गर्ने कार्यक्रम मसँग कति छ कति ! हामीले आफूलाई कृषि प्रधान देश भन्छौं तर बजेट एक प्रतिशत छ । भएन, कुरा मिलेन नि !

यो निर्वाचनबाट केही नयाँ दलको उदय भएको छ ? नयाँ पार्टीको उदयलाई कसरी विश्लेषण गरिराख्नु भएको छ ?

एउटा कुरा, युवाहरु आएका छन् । उनीहरुलाई इतिहास थाहा छैन । कसरी कांग्रेसले लड्यो, कसरी क्रान्ति ग¥यो, जेल गयो, कति दुःख झेले भन्ने उनीहरुलाई थाहा छैन । दोस्रो कुरा, पार्टीसँग फ्रस्टेसन छ । यो घन्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ भन्ने छ । हेर्नुस् त कत्रो मत ल्याएको ! यो सब नानीमैयाले जसरी जितेकी थिइन् नि, त्यही फेनोमिना हो घन्टीले पाएको यत्रो मत ।

नानीमैया जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी भोलिका दिनमा गुमनाम हुन्छ त ?

हुन्छ ... हुन्छ । हामीले राम्ररी पाँच वर्ष काम गर्ने हो भने यिनीहरुको नामोनिसान मेटिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप