मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्न रस्साकस्सी

काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादीबाट जोगबहादुर महराको सम्भावना प्रबल
सोमबार, २६ मङ्सिर २०७९, १५ : १०
सोमबार, २६ मङ्सिर २०७९

प्रतिनिधि तथा प्रदेश सभाको समानुपातिकको पनि करिब करिब सांसद टुङ्गो लागेपछि लुम्बिनी प्रदेशमा संसदीय दलको नेता बन्नको लागि रस्साकस्सी सुरु भएको छ । 

संसदीय दलको नेता बन्नसाथ भावी मुख्यमन्त्रीको बन्ने सम्भावना धेरै रहन्छ । त्यसैले, दलको नेता बन्न खास गरी ठुला दल काँग्रेस, एमाले र माओवादीका आकाङ्क्षी  सांसदहरू आन्तरिक तथा बाह्य लवङ्गको लागि दौडधुपमा व्यस्त छन् ।

उनीहरू आफ्ना पार्टीका केन्द्रीय नेताहरूसँग ‘लबिङ’ गरिरहेका छन् । कतिपयले पार्टीभित्र वरिष्ठ भएकाले दलको नेता हुने दाबी गरेका छन् भने केहीले संसदीय अनुभव अनि मन्त्री भएका आधारमा भावी मुख्यमन्त्रीको आकाङ्क्षा राखेका छन् । 

काँग्रेसमा चौधरी, खनाल र रज्जाकको दौडधुप 

सत्ता गठबन्धन कायम रहेका नेपाली काँग्रेसले मुख्यमन्त्री पाउने सक्ने सम्भावना धेरै रहेकोले नेपाली काँग्रेसमा अहिले लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भएकामध्ये तीनजना संसदीय दलको नेताको लागि  दौडधुपमा छन् । ती हुन्, डिल्लीबहादुर चौधरी, राजु खनाल र अब्दुल रज्जाक । 

दाङ ३ क बाट निर्वाचित डिल्लीबहादुर चौधरी यसअघि २०७० मा संविधानसभा सदस्यका साथै राज्यमन्त्री बनेका थिए । २०७४ सालमा सोही क्षेत्रबाट प्रदेश सभा जितेर हाल सहरी विकास तथा पर्यटन मन्त्रीको जिम्मेवारीमा छन् । खास गरी कमैया मुक्ति आन्दोलनको क्रममा बेस संस्थाको अध्यक्ष भएको नाताले शेरबहादुर देउवासँग २०५७ सालदेखि नै विशेष सम्बन्ध बनाएका चौधरी मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । त्यसैले, संसदीय दलको नेता बन्ने आन्तरिक तयारीमा अहोरात्र खटेका छन् । 

यस्तै दाङ २ ख का राजु खनाल हाल नेपाली काँग्रेसको प्रदेश उपसभापति हुन् । उनले पार्टीको महाधिवेशनमा देउवा प्यानलका नेता पराजित गरी लुम्बिनी प्रदेश उपसभापति जितेका थिए । संविधान सभा सदस्यको रूपमा समेत काम गरेको अनुभव रहेकाले आफ्नो दाबी स्वाभाविक रहेको उनको भनाइ छ । 

उता अर्का आकाङ्क्षी रुपन्देही क्षेत्र नम्बर १ ख बाट प्रदेश सांसद बनेका रज्जाक २०७० को चुनावबाट संविधानसभा सदस्य र केही समय राज्यमन्त्री पनि भएका थिए । सुरुदेखि नै देउवा समूहका उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । प्रदेशसभा सदस्यमध्ये पार्टी वरियतामा माथि रहेकाले दलको नेतामा आफ्नो दाबी भएको बताउँछन् । 

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसबाट १७ जना प्रत्यक्ष र १० जना समानुपातिक गरी २७ जना सांसद छन् । लुम्बिनीमा गठबन्धनको सरकार भएमा काँग्रेस र माओवादी केन्द्र कसले नेतृत्व गर्ने भन्ने रस्साकस्सी चल्ने छ । अहिले माओवादी केन्द्रका मुख्यमन्त्री रहेकाले अब पालो काँग्रेसको रहेको काँग्रेस पदाधिकारीहरू बताउँछन् । 

एमालेमा को कसको दौड ?

लुम्बिनी प्रदेशमा सबैभन्दा  ठुलो दल रहेको एमालेभित्र पनि संसदीय दलको नेता बन्न तीव्र रूपमा दौड अगाडि बढेको छ । यहाँ रुपन्देही २ ‘क’ बाट प्रदेश सांसद चुनिएका लीला गिरी मुख्य दाबेदार हुन् । यस्तै अन्य पात्रमा रुपन्देही २ (ख) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ, यसअघि प्रदेशसभामा प्रमुख सचेतक रहेका रुपन्देही ५ (क) का भूमिश्वर ढकाल पनि संसदीय दलको नेताको रूपमा लविङ्गमा छन् । 

एमालेको पोलिट्ब्युरो सदस्यसमेत रहेका लीला गिरीले आफू वरिष्ठ भएकाले प्रदेशमा एमाले संसदीय दलको नेतामा दाबी स्वाभाविक रहेको बताउँछन् । उनको यसअघि प्रदेशको मन्त्रीको  जिम्मेवारी लिएर काम गरेको अनुभव समेत छ । 

यस्तै प्रदेशका अर्का पूर्व मन्त्री तथा एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि दलको नेतामा दाबी  गरेको बताए । उनले पार्टीको आवश्यकता र कामको मूल्याङ्कनको हिसाबले आफूले संसदीय दलको जिम्मेवारी  पाउनुपर्ने बताए । 

यस्तै हाल पार्टीको सचेतकसमेत रहेका भमिश्वेर ढकाल पनि संसदीय दलको दौडधुप लागेका छन् । प्रत्यक्ष र समानुपातिक गरी लुम्बिनी प्रदेशसभामा २९ सिट पाएर एमाले पहिलो दल बनेको छ। 

माओवादी केन्द्रबाट महरा मात्र दाबेदार

लुम्बिनी प्रदेशमा माओवादीबाट जोगबहादुर महराको संसदीय दलको नेता निश्चित जस्तै छ । रोल्पा क बाट निर्वाचित महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा बसेर कामसमेत गरेका नेता हुन् ।

मुख्यमन्त्री बन्ने प्रयाससहित गुल्मीबाट चुनाव लडेका माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल पराजित भएपछि महरा निर्विकल्प जस्तै रहेका छन् ।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री माओवादीको भाग परेमा पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका महरा मुख्यमन्त्री बन्नेछन् । लुम्बिनी प्रदेशमा माओवादीबाट महरासहित ५ जना प्रत्यक्ष तथा समानुपातिकबाट ४ जना गरी ९ जना सांसद भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप