शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

हिन्दी चलचित्रको कथासँग मिल्ने एउटा अपराधको कथा

राजश्व विभागका नक्कली कर्मचारीले यसरी गरे होटल र रेस्टुरेन्टमा ‘रेड’
सोमबार, २६ मङ्सिर २०७९, १९ : ५६
सोमबार, २६ मङ्सिर २०७९

पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुरको एक कलेजमा बिबिए अध्ययन गरिरहेकी विद्यार्थी हुन् सिर्जना भट्टराई । प्लस टुको पढाइ सकाएपछि रोजगारीको खोजीमा भौँतारिएकी सिर्जना यति बेला ठगी र किर्ते गरेको अभियोगमा महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा पुगेकी छिन् ।

सिर्जना मात्रै होइन, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका बिन बहादुर बिक, बान्नीगढी अछामका सागर जंग लुहार, सोही स्थानका दुधकला बिक, साँगाचोकगढी सिन्धुपाल्चोककी प्रमिशा तामाङ, नुवाकोट बेलकोटगढीकी अञ्जना तामाङ र बेतकोट कञ्चनपुरका राजीव विष्ट पनि सिर्जना जस्तै हिरासतमा पुगेका छन् ।

यी सबै युवायुवतीको उमेर १९ वर्षदेखि १९ वर्षको थियो । कम्तीमा प्लस टु अध्ययन गरेका उनीहरू रोजगारीका खोजीमा थिए र रोजगारीको खोजीकै क्रममा फेला परेका एक ठगका कारण उनीहरू सबै यति बेला प्रहरी हिरासतमा पुगेका छन् । गत मङ्सिर २३ गते प्रहरीले पक्राउ गरेको राजश्व विभागका नक्कली कर्मचारीको सम्बन्धमा छानबिन गर्दा प्रहरीले स्पेसल २६ नामक भारतीय फिल्मको कथासँग हुबहु मिल्ने गरी ठगीको योजना बनाएको पाइएको छ ।

यस्तो छ स्पेसल २६ को नेपाली संस्करण

तपाईंहरुले अक्षय कुमार, अनुपम खेर लगायतका कलाकार अभिनीत सन् २०१३ मा बनेको फिल्म स्पेसल २६ हेर्नुभएको होला । हेर्नुभएको छैन भने एकपटक त्यो फिल्म हेर्नुहोस् । सोही फिल्मको नेपाली संस्करण मङ्सिर १९ गतेदेखि मङ्सिर २३ गतेसम्म काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा प्रदर्शन भयो ।

रोजगारीको पीडादेखि ठगीको योजनासम्म ...

ग्रामीण क्षेत्रबाट काठमाडौँ आएका धेरैलाई परिवारले प्लस टु सम्म पढ्नलाई खर्च दिए पनि त्यसपछि उच्च शिक्षा अध्ययनका लागि आफैँ जागिर खाएर पढ भन्ने गर्छन् । निम्न, मध्यम वा निम्न मध्यम परिवारका उनीहरूको लागि काठमाडौँमा बसेर पढ्नका लागि पनि रोजगारी बाध्यकारी जस्तै छ । त्यही अवस्थामा रहेकी सिर्जना भट्टराई लगायतका युवायुवती रोजगारीको खोजीमा थिए ।

रोजगारीको खोजीमा रहेको समयमा फेसबुकमा एउटा विज्ञापन आउँछ, सरकारी प्रोजेक्टका लागि कर्मचारीको आवश्यकता । न्यूनतम योग्यता प्लस टु पास । अकाउन्ट र करसम्बन्धी ज्ञान भएकालाई प्राथमिकता । तलब नियमानुसार । अवधि ६ महिना ।

फेसबुकमा यस्तो विज्ञापन देखेपछि सिर्जना भट्टराई लगायतका युवायुवतीले उक्त विज्ञापनमा दिइएको नम्बरमा सम्पर्क गर्छन् । त्यसपछि सम्पर्कमा आउँछन्, कञ्चनपुर जिल्ला बेतकोट नगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल काठमाडौँको थापाथली बस्ने २७ वर्षीय डेबिड धामी ।

आवेदन दिएका विभिन्न युवायुवतीहरूबाट धामीले नै ७ जनालाई सर्ट लिस्टमा राखे । त्यसपछि उनीहरूसँग ह्वाट्सएप ग्रुप बनाएर कुराकानी गर्न थाले ।

आवेदन दिएका युवायुवतीलाई रोजगारी सरकारी रहेको र करारको रोजगारी हुने भनियो । आन्तरिक राजश्व विभागका लागि अनुगमन अधिकृत र अनुगमन सहायकहरू चाहिएको भनियो । अहिले विभिन्न व्यापारिक फर्महरूले कर छली गर्ने गरेको भन्दै उनीहरूमाथि निगरानी गर्न विभागले स्पेसल टिम खटाउन लागेको र त्यसका लागि सरकारी कर्मचारीको मातहतमा रहने गरी करारमा कर्मचारी लिन लागेको भनियो ।

रोजगारीको खोजीमा रहेका युवायुवतीहरू पनि सरकारी जागिर पाउने भएपछि मक्ख पर्ने नै भए । करारमै भए पनि सरकारी जागिर पाउन ठुलो मेहनत गर्नुपर्ने अवस्थामा सामान्य अन्तरवार्ताकै आधारमा करारमा जागिर मिल्ने, सरकारी ड्रेस नै लगाएर हिँड्न पाउने र आन्तरिक राजश्व विभागबाट जारी भएको परिचयपत्र पनि बोक्न पाइने भएपछि मक्ख पर्ने नै भए ।

यो सबैको व्यवस्था मिलाउने व्यक्ति थिए, डेभिड धामी । धामीले नै उनीहरूलाई सर्ट लिष्टिङ गरेका थिए । सर्ट लिष्टिङ गरिसकेपछि धामीले उनीहरूलाई रोजगारीको लागि फारम भर्न लगाए, उनीहरूको सबै वैयक्तिक विवरण पनि राखे । अनि आन्तरिक राजश्व विभागका लागि काम गर्न भन्दै उनीहरूसँग ६ महिनाको करार सम्झौता गरेर नियुक्ति दिए ।

नियुक्ति दिएसँगै उनीहरूलाई निजामती कर्मचारीले लगाउने सेतो सर्ट, निलो पाइन्ट र निलो कोटसमेत सिलाउन लगाए । नियुक्ति पाएका सबै कर्मचारीलाई विशालबजार नजिकैको एक टेलरमा लगेर उनीहरूको शरीरको नाप जाँच गरेर ड्रेस सिलाउन लगाइएको छ । त्यससँगै उनीहरूलाई आन्तरिक राजश्व विभागको कर्मचारीका रूपमा परिचय पत्र पनि बनाइएको छ । परिचयपत्रको डोरीमा समेत आन्तरिक राजश्व विभागको नाम छपाई गरिएको छ ।... अनि दिइयो ट्रेनिङ

डेभिड धामीले आफूलाई आन्तरिक राजश्व विभागको प्रमुख अधिकृत रहेको परिचय दिए । विभागले अहिले विभिन्न क्षेत्रमा टोली खटाएर करको दायरामा नआएका व्यापारिक फर्महरूलाई करको दायरामा ल्याउन लागेको र त्यसका लागि अनुगमन सहायकहरू करार लिन लागेको बताए । दुई तीन दिन धामीले कर प्रणाली, करको दर, दर्ता प्रक्रिया र जरिवानाका सम्बन्धमा उनीहरूलाई ट्रेनिङ दिए ।

करारमा भर्ती भएका ७ जना कर्मचारीलाई ट्रेनिङ दिएपछि उनले अब बजारमा जानेबारे जानकारी दिए । आफूहरूको जिम्मेवारी के हो र कसरी काम गर्दछौँ भनेर नयाँ भर्ती गरिएका कर्मचारीहरूलाई जानकारी गराए । नयाँ भर्ती भएका कर्मचारीहरूलाई मङ्सिर १९ गतेबाट काम सुरु गर्ने जानकारी गराए । आफूहरूको क्षेत्र नयाँ बसपार्क क्षेत्र रहेको र त्यहाँका व्यापारिक फर्महरूमा गएर अनुगमन गर्ने भनियो ।

आन्तरिक राजश्व विभागले करारमा लिएका कर्मचारी भने पनि तालिमका क्रममा अन्य समयमा पनि उनीहरूलाई विभागमा नलगेपछि केही ‘कर्मचारी’ले किन विभागमा नलगेको हो भनेर सोधे । जवाफमा प्रत्येक दिनको रिपोर्टिङ विभागमा गर्नुपर्ने र बेलुका प्रमुख अनुगमन अधिकृत अर्थात् डेभिड धामी आफै विभागमा गएर रिपोर्टिङ गरेर जरिवाना तथा कागजातको बुझबुझारथ गर्नुपर्ने कुरा भनियो । स्पेसल टिम भएको कारण विभागमा गइरहनु नपर्ने भनियो ।

सामान्य आशंका रहे पनि आन्तरिक राजश्व विभागकै स्ट्याम्प प्याड, कागजात, लेटर प्याड, नगदी रसिद, परिचय पत्र र सरकारी ड्रेस नै भएपछि ती कर्मचारीहरूलाई पनि डेभिडमाथि विश्वास भयो । त्यसपछि डेभिडले भने अनुसारकै कामहरू उनीहरूले गर्न थाले ।

मङ्सिर १९ गतेबाट सुरु भयो कर छलीको ‘अनुगमन’

मङ्सिर १९ गतेबाट यो समूहले नयाँ बसपार्क क्षेत्रका होटल तथा रेस्टुरेन्ट, पसलहरूमा अनुगमन गर्न थाल्यो । करसम्बन्धी कानुन तथा व्यवस्थाबारे जानकार डेभिडले अनुगमनका क्रममा कैफियत पाइएपछि नगद जरिवाना गराउँदै पैसा असुल गर्न थाले ।

नयाँ बसपार्क क्षेत्रका कतिपय गेष्ट हाउस २० वर्षदेखि सञ्चालनमा रहेको भए पनि कर कार्यालयमा दर्ता नै नगरेको र प्यान नम्बर समेत नभएको पाइयो । कतिपय होटल तथा रेस्टुरेन्टहरुले घर बहाल कर नतिरेको पाइयो भने कतिपयले आफ्नो व्यापारिक कक्षमा कम्पनी दर्ता तथा प्यान र सञ्चालनको इजाजत पत्र झुन्ड्याएको पाइएन । त्यसपछि कसुर अनुसार ऐन तथा नियमावलीको दफा दफाका आधारमा डेभिडले जरिवानाको रकम निकाल्न थाले । एकै होटललाई १ लाख ४४ हजारसम्मको जरिवानाको निर्णय समेत गरे ।

४ दिनको समयमा यो समूहले करिब ५ लाख रुपैयाँ बराबरको जरिवाना र कर निर्धारण गरे । केही स्थानबाट रकम असुल गरिसकेका थिए भने केही स्थानमा कर निर्धारण गरी अर्को पटक रकम असुल गर्न आउने गरी चिठ्ठी दिने गरे ।

यो समूहले मङ्सिर १९ गतेदेखि सुरु गरेको अनुगमनका क्रममा होटल मलाया प्रालिबाट १६ हजार, भूपू सैनिक त्रिवेणी गेष्ट हाउसबाट १ हजार २ सय, पोखरा सम्झना गेष्ट हाउसबाट ६२ हजार ४४० रुपैयाँ, होटल जक्सन एण्ड रेस्टुरेन्टबाट ३० हजार, होटल इमेजबाट ३ हजार, पवित्रा प्यालेस गेष्ट हाउसबाट ३० हजार रकम लिइसकेको पाइएको छ । त्यसैगरी दर्ता नभएका साना पसल, होटल र रेस्टुरेन्टहरुबाट पनि १ हजार रुपैयाँदेखिको रकम जरिवानाको नाममा असुल गरिएको छ । कतिपय स्थानमा पछि असुल गर्न आउने गरी १ लाख ४४ हजार रुपैयाँसम्म नगद जरिवानाको चिठी दिएर दुई तीन दिनमा लिन आउने भनिएको छ ।

वडा अध्यक्षले नै गरे सहयोग

आन्तरिक राजश्व विभागबाट अनुगमनका लागि आएको भनेपछि नयाँ बसपार्क क्षेत्रका वडाध्यक्षले समेत डेभिड धामीको टोलीलाई धन्यवाद दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । आवश्यक पर्दा एक जना कर्मचारी पठाइदिन्छु भन्दै केही परे भन्नुहोला भने ।

घरबहाल करसमेत नतिरेका कतिपय व्यवसायी अब करको दायरामा आउने र वडामा समेत दर्ता गर्नुपर्ने भएकाले वडाको आम्दानीमा समेत सहयोग पुग्ने भएकाले वडा अध्यक्षले उनीहरूलाई सहयोग गरे । आवश्यक परे प्रहरीलाई खबर गरेर बोलाउने भन्दै समूहका अन्य सदस्यलाई जानकारी दिँदै व्यवसायीलाई त्रासमा राख्ने काम धामीले गरिरहे ।

शङ्का लागेपछि प्रहरीमा गुनासो

राजश्वका कर्मचारीले कर छलीको सम्बन्धमा अनुगमन गर्नु सामान्य भए पनि नगद नै जरिवाना गरिएको र कर्मचारी आफैले नगद लिएर रसिद दिएको विषय एक व्यवसायीलाई सामान्य लागेन । उनले आफ्नो अडिट हेर्ने गरेका एक अडिटरलाई यसबारे जानकारी गराए । अडिटरलाई पनि उक्त विषय अचम्म लाग्यो । नगद नै जरिवाना गराउने व्यवस्था भए पनि जरिवाना तोकिएको चिठी पाएपछि आन्तरिक राजश्व कार्यालयको बैंक खातामा जम्मा गराउनुपर्ने थियो । तर यी कर्मचारीहरूले नगदमै जरिवाना गराएको र त्यहीँ नगद लिएको विषय नियमसंगत नलागेपछि ती अडिटरले प्रहरीलाई खबर गरे । सरकारी कर्मचारीकै नियतमा गडबड लागेर प्रहरीलाई खबर गरेका ती अडिटर तब छक्क परे, जब प्रहरीले पक्राउ गरेर ल्याएपछि ती कर्मचारी नक्कली रहेको पत्तो पाए ।

अघिसम्म सरकारी कर्मचारी ठानिएका ती व्यक्तिहरू त अक्षय कुमार, अनुपम खेर लगायतका कलाकार अभिनीत फिल्म ‘स्पेसल २६’ कै सिक्वेल रहेछन् भन्ने कुरा प्रहरी कार्यालयमा पुराएपछि मात्रै थाहा भयो । यो सबै कर्मकाण्ड त नक्कली रहेछ । ठगी गर्ने नियतले यो समूह करको अनुगमन गर्न पो व्यापारिक फर्मतिर प्रवेश गरेको रहेछ ।

डेभिड धामी नै थिए ठगीको मास्टरमाइन्ड

प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेर वृत्तमा ल्याएपछि थाहा भयो कि यसको मास्टरमाइण्ड त २७ वर्षीय डेभिड धामी पो रहेछन् । उनकै योजनामा यी सबै अपराध भएको रहेछ । नक्कली कागजात तयार पार्नेदेखि परिचयपत्र बनाउने सबै योजना धामीकै रहेछ । धामीकै योजनामा यो ठगी भएको रहेछ ।

धामीको योजना अनुसार नै कर्मचारी करारमा लिएर करको नाममा रकम उठाउने योजना बनेको रहेछ । धामीले आफू नक्कली कर अधिकृत हो भनेका पनि रहेनछन् र प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई धामीको योजनाबारे थाहा नभएको पाइएको छ ।

प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अङ्गुर जिसीका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरूलाई ठगीको योजना र अपराधबारे थाहा नभएको पाइएको छ । जिसीले भने, ‘अहिले नै यही हो भन्न त सकिएन, यद्यपि धामीको ठगीको योजनामा साथ दिएका युवायुवतीहरूलाई धामी नक्कली सरकारी कर्मचारी हो भन्ने थाहा रहेनछ । ठगी गर्ने नियतले यस्तो काम गरेको हो भन्ने पनि उनीहरूलाई थाहा छैन भन्छन् । धामीसँगको प्रारम्भिक सोधपुछबाट पनि अन्य व्यक्तिहरू अपराधको योजनाबारे अनभिज्ञ नै छन् । यस सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

करसम्बन्धी काम गर्थे धामी

कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भई हाल काठमाडौँको थापाथलीमा बस्ने २७ वर्षीय डेबिड धामी केही समय अगाडि शंखमूलमा रहेको एक अडिट फर्ममा काम गर्थे । धनगढीमा बिबिएस चौथो वर्षसम्मको अध्ययन गरेको दाबी गर्ने धामीले त्यहाँको फर्ममा काम गर्दा कार्यालयले दिएको जिम्मेवारीको आधारमा करसम्बन्धी कागजात तयार पार्ने, ट्याक्स म्यानेज्मेण्टको काम गर्ने गर्थे ।

उक्त कम्पनीमा इन्टर्न भई काम गरेका धामीले विभिन्न कर कार्यालयमा गएर करको हिसाब मिलान गर्नेदेखि सेटलमेण्टको काम गर्ने गरेका थिए । धामीकै दाबी अनुसार कुनै पनि कर कार्यालयका कर्मचारीले पैसा नखाई काम गर्दैनथे र त्यस क्रममा उनलाई कहाँ कहाँ कैफियत हुन्छ र कुन शीर्षकको जरिवाना कति हुन्छ भन्ने पनि थाहा थियो । जरिवाना कसरी गर्ने वा गराउने भन्ने विषयको पनि उनलाई राम्रो ज्ञान थियो ।

आफू कार्यरत रहेको फर्ममा समस्या लिएर आउने सेवाग्राहीको समस्याबारे जानकार उनले कर कार्यालयका कर्मचारीलाई धेरैपटक घुस खुवाउन परेपछि त्यहाँ पो आम्दानी हुने रहेछ भन्ने थाहा पाए ।

यही बीचमा उनलाई जागिरबाट पनि निकालियो । त्यसपछिको ६ महिना उनले जागिरको खोजी गरे । तर धामीले कहीँ कतै जागिर पाउन सकेनन् । कहीँ पनि जागिर नपाएपछि धामी आफैँले ठगीको योजना बनाए । होटल तथा रेस्टुरेन्टमा कर सम्बन्धी कैफियत बढी रहेकोबारे जानकारी धामीले त्यही क्षेत्रलाई निशाना बनाउने निधो गरे । त्यसपछि नक्कली कर अधिकृत बनेर अन्य व्यक्तिहरूलाई पनि साथमै लगेर अनुगमन गरी आतङ्कित बनाउने र जरिवानाका नाममा नगद असुल्ने योजना बनाए ।

योजना अनुसार नै धामीले फेसबुकमा भ्याकेन्सी खोलेर विज्ञापन गरे, सरकारी प्रोजेक्टका लागि भन्दै कर्मचारी माग गरे । कर्मचारीको न्यूनतम शैक्षिक योग्यता प्लस टु पास र लेखासम्बन्धी ज्ञान भएकालाई प्राथमिकता भने । सरकारी प्रोजेक्टमा रोजगारी भनेपछि धेरैको आवेदन आयो । त्यसमध्ये धामीले ७ जनालाई छनोट गरी अगाडि भनिएझैँ तालिम दिएर तयार पारे । अनि नयाँ बसपार्क क्षेत्रमा अनुगमनका नाममा करिब ५ लाख नगद उठाउन भ्याए । चार दिनको अवधिमा धामीले करिब ५ लाखको ‘जरिवाना’ गराएको र २ लाखको हाराहारीमा नगद नै लिएको पाइएको डीएसपी जिसीले रातोपाटीलाई बताए ।

धामी भन्छन् ‘यति चाँडै पक्राउ परिएला भन्ने लागेको थिएन’

प्रहरी हिरासतमा रहेका डेभिड धामीले आफू पक्राउ पर्छु भन्ने थाहा भए पनि यति चाँडै पक्राउ पर्छु होला भन्ने नलागेको बताए । उनले भने, ‘गल्ती गरेपछि एक दिन पक्राउ परिन्छ भन्ने त लागेकै थियो, तर यति चाँडै पक्राउ परिएला भन्नेचाहिँ लागेको थिएन । धेरै दिनपछि मात्रै थाहा हुन्छ होला भन्ने लागेको थियो, चाँडै नै थाहा पाएछन् र हामी पक्राउ प¥यौँ ।’

योजना कसरी बन्यो त भन्ने प्रश्नमा धामीले आफूले ६ महिनादेखि जागिर नपाएपछि ठगीको योजना बनाएको बताए । तर पक्राउ परेका अन्य कर्मचारीहरूलाई आफ्नो योजनाबारे केही जानकारी नभएको बताए । धामीले भने, ‘उनीहरूलाई मैले नै हायर गरेको हुँ, मेरो योजनाबारे उनीहरूलाई केही थाहा थिएन । उनीहरूले त आफूलाई करारमा लिइएको सरकारी कर्मचारी नै भन्ने ठानेका थिए ।’

पक्राउ परेकी सिर्जना भन्छिन्, ‘ठगीको अपराधबारे कुनै आभास नै भएन’

शुक्रबार प्रहरीले पक्राउ गरी आइतबार म्याद थप गरेपछि पक्राउ परेकी सिर्जना भट्टराईले आफूहरुलाई अपराधको योजनाबारे कुनै आभाससम्म नभएको बताइन् । उनले भनिन्, ‘सरकारी ड्रेस नै लगाउनु पर्ने र परिचय पत्र पनि हुने र अनुगमन सहायक भनिसकेपछि हामीलाई सक्कली नै हो भन्ने लाग्यो । म अहिले बिबिएस पढ्दै गरेको कारण लेखा र करसम्बन्धी काम भनेपछि अझै उत्साहित भएको थिएँ । नयाँ काम गर्न जोश पनि आएको थियो । रकम पनि सबै डेभिडले नै लैजाने र बुझबुझारथ गर्ने भएकाले होला भन्ने लाग्यो । समस्या पर्दा प्रहरीलाई पनि सँगै लैजानु पर्छ भनेकाले नक्कली हो भन्ने कहिल्यै लागेन । जब प्रहरीले समातेर ल्यायो, त्यसपछि पो यो मान्छे फ्रड रहेछ भन्ने थाहा भयो ।’

भट्टराईले रुँदै भनिन्, ‘प्लस टु सकिएपछि जागिरको खोजीमा थिएँ । त्यही क्रममा फेसबुकमा आएको विज्ञापनका आधारमा सम्पर्क गरेकी थिएँ । लामो प्रक्रिया पूरा गरेर सेलेक्ट भएपछि खुसी पनि भएको थिएँ । हामीलाई इन्टर्नका रूपमा राखिएको र २५ हजार तलब दिने भनिएको थियो । अहिले पक्राउ परेपछि पो थाहा भयो कि यो त ठगी रहेछ भन्ने । हामीबाट भएको गल्ती अञ्जानमा भएको हो, हाम्रो कुनै गल्ती छैन । हामीमाथि प्रहरीले अन्याय गर्दैन भन्ने लागेको छ । प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गर्छु ।’

प्रहरीका अनुसार ठगी र किर्तेमा संलग्न हुप्सेकोट गाउँपालिका ३ पूर्वी नवलपरासी घर भई हाल बालाजु बस्ने  २९ वर्षीया बिन बहादुर बिक, पाँचथरको फिदिम नगरपालिका १ की २२ वर्षीय सिर्जना भट्टराई, अछामको बान्नीगढी गाउँपालिका ६ घर भएका १९ वर्षीय सागर जंग लुहार, सोही स्थानकी २३ वर्षीय दुधकला बिक, सिन्धुपाल्चोकको साँगागढीचोक नगरपालिका ३ की २३ वर्षीया प्रमिशा तामाङ, नुवाकोटको बेलकोटगढी नगरपाकिला १ की २१ वर्षीया अञ्जना तामाङ र कञ्चनपुरको बेतकोट नगरपालिका ९ का २४ वर्षीय राजीव विष्टसहित धामीसमेतलाई आइतबार मात्रै प्रहरी सरकारी कागजात किर्ते र ठगीको अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

पक्राउ परेकाहरूमध्ये राजीव विष्टको साथबाट आन्तरिक राजश्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजश्व सम्बन्धी किताबहरु, आन्तिक राजश्व कार्यालयको परिचयपत्र ७ थान र नगद ८४ हजार ७३० रुपैयाँ बरामद गरिएको छ ।

त्यसैगरी पक्राउ परेका डेबिड धामीको डेरा कोठाबाट आन्तरिक राजश्व कार्यालय लाजिम्पाट लेखिएको ४९ ठेली रसिद, रोजगारी आवेदन फारमहरु, इम्प्लोइमेण्ट एग्रिमेण्ट फारमहरु, आन्तरिक राजश्व कार्यालय लेखिएको लेटर प्याड, आन्तरिक राजश्व कार्यालय लेखिएको परिचय–पत्र तथा परिचय–पत्र झुण्ड्याउने डोरी, एकथान कम्प्युटर, डि आर एकाउण्ट एण्ड ट्याक्स सोलुसल लेखिएको स्ट्याम्प लगायतका सामाग्रीहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले बताए ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद–२५ को २७६ को किर्ते गर्न नहुने कसुर मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप