शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड फकाउन एमालेका नेताहरू संवादमा, देउवालाई प्रचण्डको ‘प्रेसर’ !

बुधबार, २८ मङ्सिर २०७९, ०७ : ५४
बुधबार, २८ मङ्सिर २०७९

वाम गठबन्धन बनाउन भन्दै नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको पहल थालेका छन् । सत्ता गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै एमालेका नेताहरुले प्रचण्डलाई फकाउने प्रयास स्वरुप वाम गठबन्धन बनाउन जोडबल गरेका हुन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराई लगायत नेताहरुले भित्रभित्र प्रचण्डलाई भेटेर लविङ गरिरहेको एक माओवादी नेताले बताए । 

‘प्रचण्ड कमरेडलाई सत्ता गठबन्धनबाट अलग गराउने रणनीतिका साथ वाम गठबन्धन बनाउन भन्दै  भेटघाट जारी राख्नु भएको छ । बरु सरकारको नेतृत्व गर्नुस् हामी समर्थन गर्छौ भन्ने छ,’ ती माओवादी नेताले भने, ‘तर, तत्काल सत्ता गठबन्धन छोड्ने स्थिति छैन । यसैलाई निरन्तरता दिने सोचमा अध्यक्ष हुनुहुन्छ ।’ सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनेमा संघदेखि प्रदेशसम्म एमाले सत्ता बाहिर हुने निश्चितजस्तै छ । यस्तो अवस्थामा एमाले नेताहरु सत्ता गठबन्धन भत्काउने र वामगठबन्धन बनाउने रणनीतिमा लागेका हुन् । 

प्रचण्ड निर्वाचित भएपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर शुभकामना दिँदै सहकार्यको प्रस्ताव समेत गरेका थिए । तर, प्रचण्डले निर्वाचित परिणाम आउने क्रम जारी भएकाले अनुकुल समयमा छलफल गर्ने जवाफ फर्काएका थिए । यस्तै प्रचण्ड निर्वाचित भए लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताले समेत फोन गरेर शुभेच्छा प्रकट गरेका थिए । 

निर्वाचनको स्पष्ट नतिजा आएपछि एमालेका नेताहरु फेरि खुमलटार पुगेर प्रचण्डसँग वाम गठबन्धन र सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । तर, निर्वाचन सत्ता गठबन्धनबाट जित्ने र सरकार एमालेको समर्थनमा बनाउँदा अनैतिक हुने भएकाले यतातर्फ सोच्न नसकिने पक्षमा आफूहरु रहेको माओवादी केन्द्रका एक नेताले बताए । 

यस विषयमा एमाले स्थायी समिति सदस्य एवम् ओली निकट नेता राजन भट्टराईले प्रचण्डले कांग्रेससँगको गठबन्धन छोड्न तयार भए सहकार्य गर्न कुनै समस्या नहुने बताए । ‘प्रचण्डजी सत्ता गठबन्धन छोड्न तयार हुनुपर्‍यो । गठबन्धनमा देउवाजीलाई शीरमा राखेर वाम गठबन्धन गर्ने भन्न मिल्दै मिल्दैन ।  सत्ता गठबन्धन छोडेमा एमाले स्ट्याण्डबाइ छ’ रातोपाटीसँग कुरा गर्दै भट्टराईले भने, ‘सत्ता गठबन्धन हुँदा प्रचण्डजीसँग कसरी एजेण्डामा प्रवेश गर्न सकिन्छ ? कसरी विश्वास गर्न सकिन्छ ?’  

सत्ता गठबन्धन छोडेमा वाम गठबन्धन बनाउने वातावरण बन्ने अवस्था भने रहेको भट्टराईको भनाइ छ ।

प्रचण्डको जोड पहिलो चरणमै प्रधानमन्त्री लिने

यता प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र  सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् । यद्यपि संसदीय अंकगणितमा माओवादी तेस्रो  (त्यसमा पनि संख्या कम) भएपछि प्रचण्डले सजिलै कांग्रेसको समर्थनमा प्रधानमन्त्री पाउन भने कठिन छ । त्यसैले प्रचण्डले आफ्नो पक्षमा ६० भन्दा बढी सिट पार्न नेकपा एकीकृतसहितका विभिन्न साना दलका नेताहरुसँगको निरन्तर भेटघाट र लबिङमा छन् । 

प्रचण्ड माओवादीको ३२ सिटसहित एकीकृत समाजवादीको १० सिट, जसपाको १२ सिट, जनमत पार्टी ५ सिट, नागरिक उन्मुक्ति पार्टीको ४ सिट र  प्रभु साह समुहको २ सिट आफ्नो पक्षमा पार्न लबिङमा रहेका हुन्  । ती सबै दल तथा समूहका सांसदलाई आफ्नो पक्षमा पार्न प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत लागिपरेको नेताहरुको भनाइ छ । 

पहिलो चरणमै प्रधानमन्त्री हुन नसके दोस्रो चरणमा थप सकस हुने बुझाइका साथ प्रचण्डले पहिला आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप