शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

बुधबार, २८ मङ्सिर २०७९, १२ : २७
बुधबार, २८ मङ्सिर २०७९

हिन्दुवादी पार्टी राप्रपाले धर्म परिवर्तनको चर्को विरोध गर्दै आएको छ । सनातन हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको पार्टीले मंसिर ४ को निर्वाचनअघि सार्वजनिक गरेको घोषणापत्रमा ‘योजनाबद्ध धर्म परिवर्तनलाई नियन्त्रण र निरुत्साहित गरिने’ उल्लेख गरिएको छ । 

यतिमात्रै होइन मठ मन्दिर, गुम्बा, मस्जिद, माङ्गहिम जस्ता धार्मिक संघसंस्थाहरुको विकास र संरक्षण गर्ने भनिएको छ । यस्तै क्रिश्चियन मेसिनरीहरुले कारण निरन्तर हिन्दु धर्म खुम्चिने क्रममा रहेको र धर्म परिवर्तन गराइने क्रम बढ्दो क्रममा रहेको भन्दै पार्टीले निरन्तर आवाज उठाउँदै आएको ​ छ । 

तर, सोही पार्टीले एक ‘क्रिश्चियन प्रचारक’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । यसबारे पार्टी बाहिर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । 

केही नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रै छलफलै नगरी बिनालाई समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् । ‘हिन्दुवादी पार्टीमा क्रिश्चियन मेसिनरीको प्रवेश शोभनीय भएन । सुरुमा त हामीले निर्वाचन आयोगमा नाम गएको पनि थाहा पाएनौँ । आयोगले बन्दसूची सार्वजनिक गरेपछि मात्रै थाहा भयो । अहिले धर्म परिवर्तनमा सक्रिय क्रिष्चियन पास्टरलाई सांसद बनाउने काम भयो’, राप्रपाका एक नेताले बताए । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् ।  

यसैबीच बिनालाई समानुपातिक सांसद बनाएको विषयमा पार्टीभित्र र बाहिर समेत टीकाटिप्पणी बढेपछि केही नेता भने बचाउमा उत्रिएका छन् । यसमध्येका एक प्रवक्ता मोहन श्रेष्ठले विभिन्न ९ बुँदामा पार्टीको तर्फबाट धारणा राख्दै बिनाको समानुपातिक यात्राको बचाउ गरेका छन् । श्रेष्ठले बिना हिन्दु राष्ट्रका लागि एक दशकदेखि संघर्षरत रहेको दाबी गर्दै उनी हिन्दु राष्ट्रकै एजेन्डा लिएर ०७४ मा धादिङको रुबीभ्याली गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको उल्लेख गरेका छन् । 

‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पटक-पटकको सडक आन्दोलनमा बिना होमिएकी छिन् । नेपाल हिन्दु राष्ट्र हुनुपर्छ पनि भन्ने तर धर्म निरपेक्ष पक्षधरलाई भोट हाल्नेजस्तो अपराध बिनाले गरेकी छैनन्’, श्रेष्ठको भनाइ छ, ‘राप्रपाले हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन भनेर पार्टी सदस्यतामा विभेद गरेको छैन । पार्टीको एजेन्डा मुख्य सर्त हो। हरेक सदस्य पार्टीको नीति, विचार र सिद्धान्तप्रति समर्पित र प्रतिबद्ध हुनुपर्छ र छन् ।’

विविध कारणले मुस्लिम वा क्रिश्चियन धर्ममा आस्था राख्ने व्यक्ति भएतापनि सनातन हिन्दुराष्ट्रका लागि योगदान गर्ने, संलग्न हुने व्यक्ति वा समूहलाई राप्रपाले समेट्ने श्रेष्ठको भनाइ छ । 

बाल्यकालमा अभिभावक गुमाएकी बिनालाई क्रिश्चियन संस्थाले हुर्काएको र  पढाएका कारण उनी क्रिश्चियन भएको स्वीकार्दै श्रेष्ठले तर प्रचार गरिएजस्तो पास्टर नभएको दाबी गरेका छन् । 

‘राप्रपाको मुख्य एजेन्डा नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने हो। यो एजेन्डा प्राप्त गर्न नेपालका हिन्दुको मात्रै होइन मुस्लिम, बौद्ध, क्रिश्चियन समुदायको समेत समर्थन छ र रहनुपर्छ’, श्रेष्ठको भनाइ छ । 

श्रेष्ठले लोभलालचमा पारी जबर्जस्ती गरिने धर्म परिवर्तन राप्रपाका लागि अक्षम्य हुने भन्दै यसका लागि विद्यमान कानुनमा संशोधन गरेर अझै कडा र दण्डनीय बनाइनुपर्नेमा जोड दिएका छन् । 

श्रेष्ठले बिना लामा वा कोही पार्टी सदस्य धर्म परिवर्तनमा संलग्न भएको पाइएमा जिम्मेवारीबाट मुक्त गरिनुका साथै उसको पार्टी सदस्यता नै खारेज गरिने समेत बताए । 

विश्व हिन्दु महासंघको विरोध
यसैगरी विश्व हिन्दु महासंघ नेपालले एमालेमा खस आर्यको कोटावाट एकनाथ ढकाल  र क्रिश्चियन मिसनमा संलग्न राप्रपाकी विना लामालाई जनजातिका नाममा समानुपातिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको  लक्ष्यलाई कमजोर पार्न खोजिएको भन्दै विरोध गरेको छ । 

महासंघले जारी गरेको विज्ञप्तिमा जनताको मनोभावना विपरीत हिन्दु धर्म र ॐकार विरोधी कामकार्यमा नलाग्न सचेत गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप