आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनमा जान लबिङ गर्दै जसपा र लोसपा

शुक्रबार, ०१ पुस २०७९, १८ : ४२
शुक्रबार, ०१ पुस २०७९

सत्ता गठबन्धनमा सहभागी हुन जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी आआफ्नो तर्फबाट लविङ गर्न थालेका छन् । सत्ता गठबन्धनसँग मिलेर लोसपाले चुनावमा भाग लिए पनि चुनावपछि उसलाई गठबन्धनमा राखिएको छैन । उपेन्द्र यादव नेतृत्वको जसपा गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा सत्ता गठबन्धनसँग नजिकिएको थियो ।

चुनाव सकिएपछि गठबन्धनको बैठक पटक पटक बसे पनि कुनै पनि बैठकमा लोसपालाई सामेल गराइएको छैन । लोसपाले आफूलाई सत्ता गठबन्धनको हिस्सा भनेर दाबी गर्दै आइरहेको छ । सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु पनि गठबन्धनको एक हिस्सा रहेको बताए । गठबन्धनसँग चुनावी तालेमल गरेको कारण लोसपा गठबन्धनमध्येको एक दल हो, त्यही अनुसार अगामी दिनमा हामी सहकार्य गर्छौं,’ उनले भने, ‘हामी गठबन्धनको साथमा छौं, उसले बनाउने सरकारलाई सहयोग गर्न पनि हामी तयार भएका छौं ।’

तर गठबन्धनमा सहभागी गराइ पाउन लोसपाका अध्यक्ष महन्थ ठाकुर दिनदिनै कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने गरेका छन् । ‘सरकारलाई समर्थन गर्ने सहमति हामीले गरिसकेका छौं, अब गठबन्धनमा लोसपालाई सहभागी गरेर अगाडि बढ्नुपर्छ,’ लोसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई भनेको कुरालाई उद्धृत गर्दै सो पार्टीका एक नेताले भने, ‘गठबन्धनमा रहने, गठबन्धनको सरकारलाई सहयोग गर्ने सारा निर्णय लोसपाले गरिसकेको छ, तर गठबन्धनले हालसम्म भित्र्याएको छैन, त्यसका लागि हाम्रो दलका शीर्ष नेताहरु प्रधानमन्त्रीलाई पटक पटक भेटिसक्नु भएको छ ।’

प्रधानमन्त्री देउवाले पनि गठबन्धनमा सल्लाह गरेर बोलाउने आश्वासन दिएर पठाइरहेका छन् । तर गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृतलगायतका दलहरुले लोसपालाई गठबन्धनमा ल्याउन त्यति चासो देखाएका छैनन् । कांग्रेसकै कतिपय नेताहरु लोसपालाई गठबन्धनमा ल्याउन सकारात्मक देखिएका छैनन् ।

बरु माओवादी र नेकपा एकीकृत समाजवादीले जसपालाई गठबन्धनमा ल्याउन पाए हुन्थ्यो भन्ने कुरा राख्न थालेका छन् । तर जसपालाई गठबन्धनमा ल्याउन प्रधानमन्त्री देउवा सकारात्मक देखिएका छैनन् । एमाले नेतृत्वको गठबन्धन छाडिसकेका जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पटक पटक छलफल गरेका छन् । गठबन्धनमा सहभागी हुन अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालमार्फत उनले पहल गरिरहेका छन् ।

सिट बाँडफाँटमा कुरा नमिलेपछि जसपाले पाँच दलीय गठबन्धन छाडेको थियो । त्यसमा कांग्रेसलाई चित्त बुझेको थिएन । त्यही भएर जसपाले चाहँदैमा गठबन्धन छाडेर जाने, जसपाले चाहँदैमा गठबन्धनमा आउने ! त्यो हुँदैन,’ कांग्रेसका एक नेताले भने, ‘जसपालाई गठबन्धनमा लिने कि नलिने विषयमा गठबन्धनमा विचार विमर्श भइरहेको छ ।’

जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले कुन गठबन्धनमा वा सरकारमा सहभागी हुने बारेमा हालसम्म कुनै निर्णय नभएको बताए । ‘हरेक पक्षसँग कुराकानी चलिरहेको छ, जोसँग मुद्दा र विचार मिल्छ, उसैसँग सहमति गरेर अगाडि बढ्ने हाम्रो लाइन हो,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य मुद्दा र एजेण्डा हो, जनताको अधिकार र पहिचान हो, त्यसमा जो सहमत हुन्छ, उसैसँग हाम्रो सहकार्य हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप