बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो घरायसी विद्युतीय सामग्रीको आयात

४ महिनामै १ अर्ब ३३ करोडको चुलो, हिटर, ओभन भित्रियो
सोमबार, ०४ पुस २०७९, १४ : १६
सोमबार, ०४ पुस २०७९

विद्युत् उत्पादन बढेसँगै नेपालमा विद्युतीय वस्तुको आयात बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले उत्पादन थालेसँगै नेपालमा बिजुलीको पर्याप्तता छ । यो वर्ष राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उक्त आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि भारततर्फ ४०० मेगावाटसम्म बिजुली निर्यात हुन थालेको छ । यससँगै, नेपालमा समेत विद्युतीय वस्तुको प्रयोग बढ्न थालेको हो ।

केही वर्ष अघिसम्म लोडसेडिङले ग्रस्त नेपाली उपभोक्ता यति बेला घरमा विद्युत्बाट चल्ने सामाग्रीहरूको जोहो गर्न थालेसँगै आयात समेत बढ्न थालेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को ४ महिनाको अवधिमै झन्डै डेढ अर्ब रुपैयाँ बराबरको विद्युतीय घरायसी सामाग्री आयात भएको छ । विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १ अर्ब ४७ करोडभन्दा बढीको विद्युत्बाट चल्ने घरायसी वस्तुको आयात भएको हो ।

विभागका अनुसार यति बेला नेपालमा हेयर ड्रायर, आइरन, माइक्रोवेभ ओभन, इन्डक्सन र इन्फ्रारेड चुलो, राइस कुकर, कित्तली, चिया/कफि मेकर, टोस्टर, पानी तताउने मेसिन र हिटर लगायतका वस्तुको आयात ह्वात्तै बढेको हो । गत आर्थिक वर्षको ४ महिनाको अवधिमा विदेशबाट ९८ करोड रुपैयाँ बराबरका यस्ता सामाग्री आयात भएका थिए । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा गत वर्षमा समेत विद्युतीय सामाग्रीको आयात बढेको थियो । खास गरी, माथिल्लो तामाकोसीले गत वर्ष असार २१ देखि उत्पादन थालेसँगै नेपालमा बिजुलीको पर्याप्तता बढ्यो ।

यससँगै, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल लगायतले सार्वजनिक मञ्चहरूमै विद्युत् बढी भएको घोषणा गर्न थाले । फलस्वरूप: उपभोक्ताहरू भावी दिनमा लोडसेडिङ नहुने बरु विद्युत्को खपत बढाउनु नै चुनौतीपूर्ण भएको भन्दै घरमा प्रयोग हुने विद्युतीय वस्तु जोड्नतर्फ जोड दिए ।

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले गत वर्षको तुलनामा घरमा प्रयोग हुने विद्युतीय वस्तुको आयात उकालो लागेको बताए । उनले पर्याप्त मात्रामा विद्युत्को उपलब्धता बढेसँगै उपभोक्ताले घरमा विद्युत्बाट चल्ने सामाग्रीको आयात बढिरहेको बताए । ‘गत वर्ष सबै प्रकारका विद्युतीय सामाग्री कूल आयात १ खर्ब १३ अर्बभन्दा बढीको भित्रिएको जनाए । ‘उपभोक्ताहरूमा आयातित एसपीजी ग्यासको सट्टा विद्युतीय सामाग्रीको प्रयोग गर्नुपर्छ भन्ने चेतना वृद्धि भइरहेको छ,’ पौडेलले भने, ‘सरकारले नै निरन्तर विद्युतीय सामाग्रीको प्रयोग गर्न उपभोक्तालाई घचघच्याइरहेको छ ।’

यस्तै, पछिल्लो समय रुस–युक्रेन युद्धका कारणले बढेको पेट्रोलियम पदार्थको मूल्यका कारणले पनि घरायसी सामाग्रीको प्रयोग बढ्दो छ । केही समय अघिसम्म प्रतिसिलिन्डर १६ रुपैयाँमा पाइने एसपीजी ग्यासको मूल्य यति बेला १८ सय रुपैयाँ पुग्दा पनि नेपाल आयल निगम प्रतिसिलिन्डर २०० रुपैयाँ घाटामा छ । सोहीकारण, उपभोक्ताहरू बढेको मूल्यमा एसपीजी ग्यासको सट्टा विद्युतीय सामाग्रीको प्रयोग गर्नतर्फ अग्रसर भएको हुन सक्ने पौडेलको भनाइ छ ।

आर्थिक वर्षको ४ महिनामा कुन वस्तु कति भित्रियो ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप