सिरहामा जसपा कमजोर भएकोबारे यस्तो छ आन्तरिक समीक्षा
जसपा नेपालले सिरहा क्षेत्र नम्बर ४ को चुनावी समीक्षा गरेको छ । पार्टीको सम्बन्धित कमिटीले स्थानीय चुनावमा टिकट बाँडफाँटमा देखिएको बेथितिको प्रभावस्वरुप नै मंसिर ४ को निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको निष्कर्ष निकालेको हो ।
सिरहाको चारवटा क्षेत्रमध्ये दुई वटामा एमाले र दुई वटामा जसपा जितेको छ । प्रतिनिधिसभामा जसपा सफल भए पनि प्रदेशसभामा असफल भएको मानिएको छ । प्रदेशसभामा जसपाका तीन जना उम्मेदवार पराजित भए ।
त्यसको मुख्य कारण स्थानीय तहको चुनावलाई मानेको जसपा सिरहाका उपाध्यक्ष राकेश रोशन गुप्ताले बताए । सिरहा ४ (ख) बाट प्रदेशसभा सदस्यमा सुरेश मण्डल चुनाव हार्नुको मुख्य कारण स्थानीय चुनावमा भएको गडबड नै रहेको उनको भनाइ छ ।
कल्याणपुर नगरपालिकामा जसपाका रामबाबु साह र प्रदीप यादव गरी दुई जनाले टिकट पाएका थिए । दुवैजना आफू आधिकारिक रहेको दाबीसहित चुनाव प्रचारमा सक्रिय रहे । जब मौन अवधि सुरु भयो, त्यसपछि मात्र निर्वाचन आयोगले आधिकारिक उम्मेदवार प्रदीप यादव रहेको निर्णय सुनाएको थियो ।
अन्ततः प्रदीप यादव मेयरमा चुनाव हारे । रामबाबु साहले प्रदीप यादवलाई सहयोग गरेका थिएनन् । पछि रामबाबु साह लोसपामा प्रवेश गरे । लोसपाबाट टिकट लिएर उनी प्रदेशसभामा जसपाका सुरेश मण्डलसँग प्रतिस्पर्धामा उत्रिए । चुनावमा रामबाबु निर्वाचित हुँदा सुरेश मण्डल पराजित भए ।
पार्टीले स्थानीय तहको चुनावमा टिकटको व्यवस्थापन गर्न नसकेको कारण धेरै ठाउँमा असर गरेको देखिएको उपाध्यक्ष गुप्ताले बताए । उनले भने, ‘लहान नगरपालिकामा २४ वटा वडा छन् तर पार्टीले ११ वटामा मात्र उम्मेदवार उठाउन सक्यो । समयमा टिकट दिएन, दिएका टिकटमा पनि झमेला भएको कारण दिनुपर्ने ठाउँमा पनि उम्मेदवारी दिन नपाएपछि स्थानीय तहमा जसपा कमजोर भयो र त्यसको सिधै असर यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा देखियो ।’
क्षेत्रस्तरीय समीक्षा सकिएको छ । अब पालिका तथा वडास्तरमा पनि चुनावी समीक्षा गरी केन्द्रलाई प्रदेशमार्फत रिपोर्ट बुझाउने उनले बताए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंसिर २९ गते एक सर्कुलर जारी गरी सात दिनभित्र आआफ्नो प्रतिवेदन बुझाउन प्रदेश समिति र जिल्ला समितिलाई निर्देश दिएका थिए । उक्त सर्कुलर अनुसार बुधबार सात दिन पूरा हुँदैछ । हालसम्म केन्द्रलाई कहीँबाट पनि प्रतिवेदन प्राप्त नभएको जसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण