शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शपथ ग्रहणका रोचक दृश्य : ओलीले समातेनन् शपथ पत्र, रवि लामिछानेलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई

बिहीबार, ०७ पुस २०७९, २१ : ४९
बिहीबार, ०७ पुस २०७९

बिहीबार प्रतिनिधिसभाका नव निर्वाचित २७१ सांसदले शपथ लिए । ४ जना सांसदले भने शपथ लिन पाएनन् । आमाको निधन भएका कारण एकीकृत समाजवादीका सांसद प्रेम आले, प्लेन छुटेका कारण माओवादी केन्द्रका रामकुमार राई, सुत्केरी भएका कारण कांग्रेस सांसद माया राई शपथ लिन छुटे ।

यस्तै नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव नागरिकतामा ज्येष्ठ सदस्य रहेको प्राविधिक कारण सभामा उपस्थित भएनन् । उनको शुक्रबार  ११ बजे सिंहदरबारमा शपथ लिने कार्यक्रम छ ।

दिउँसो २ बजे राप्रपाका वरिष्ठ नेता एवं संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सांसदहरुलाई शपथ गराएका थिए ।

जब एकनाथ ढकाललाई ‘तपाई कुन पार्टीको सांसद’ भनेर प्रश्न सोधियो

संसद भवनमा शपथका लागि पुगेका सांसद एकनाथ ढकाल सञ्चारकर्मीको जवाफ नदिइ भागेका छन् । शपथका लागि संसद भवन वानेश्वर पुगेका उनलाई सञ्चारकर्मीले ‘तपाई कुन पार्टीको सांसद’ भनेपछि त्यसको उत्तर नदिइ संसद भवन छिरेका थिए । नेपाल परिवार दलका अध्यक्ष रहेका ढकाल नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद बनेका छन् । आफ्नै दलको नेतालाई सांसद नबनाएर फरक दलको पार्टी अध्यक्षलाई समानुपातिक सांसद बनाएको भनेर एमालेभित्रै आलोचना भइरहेको छ ।

ओलीले समातेनन् शपथको ब्यहोराको पत्र

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ खुवाउँदा सांसदहरुलाई उनीहरूले पढ्ने शपथको ब्यहोराको पत्र दिइएको थियो । सबै सांसदहरुले सो पत्रसमेत हातमा लिई शपथ लिएका थिए । तर पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने शपथको ब्यहोराको पत्र लिएनन् । उनले शपथ पत्र टेबलमा राखेर शपथ लिएका थिए ।

रवि लामिछाने र ज्ञानेन्द्र शाहीलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई

रवि लामिछाने र ज्ञानेन्द्र शाही सांसदको रुपमा प्रतिनिधिसभामा प्रवेश गरेपछि युट्युवरको एक समूह पनि संसद भवन पुगेका थिए । युट्युवर, टेलिभिजन र अनलाइन मिडियाका सञ्चारकर्मीको आकर्षणमा लामिछाने र शाही परेका थिए ।

संसद भवन प्रवेश गरेपछि शपथ ग्रहण अगाडि र शपथ ग्रहण पछाडि उनीहरू अन्तर्वार्ता दिन व्यस्त देखिन्थे । संसदमा अब उनीहरूको भूमिका, सरकारमा जाने वा नजाने लगायतका प्रश्न उनीहरुतिर सोझिएको थियो । साथै उनीहरूसँग सेल्फी खिच्नेहरूको पनि घुइँचो लागेको थियो ।

संसद भवनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु एकै ठाउँमा जम्मा भएर बसेका थिए । पार्टीका सभापतिसमेत रहेका सांसद लामिछाने आएपछि एउटै टोली बनाएर उनीहरु संसद भवन प्रवेश गरेका थिए ।

चियापानका बेला प्रचण्ड–ओलीको साउती

नवनिर्वाचित सांसदहरुको शपथपछि संघीय संसद सचिवालयले चियापान कार्यक्रम गरेको थियो । चियापान कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बस्ने सिट वल्लोपल्लो मिलाइएको थियो । एकछिन वल्लो पल्लो कुर्सीमा बसेका उनीहरू सुस्तरी केही कुरा गरेजस्तो देखिन्थे । उनीहरूले के कुरा गरे भन्ने प्रष्ट नभए पनि उनीहरूले साउती मारेको दृश्यले सञ्चारकर्मीहरूको ध्यान खिचेको थियो ।

आफ्नै मौलिक पोसाकमा सांसदहरु

शपथ लिन आएका अधिकांश सांसदहरु आफ्नै मौलिक पोशाकमा शपथ लिन आएका थिए । अधिकांश सांसदहरु दौरा सुरुवाल, ढाकाटोपी, साडीचोलोमा सजिएर आएका थिए भने आदिबासी, जनजाति, केही मधेसी सांसद भने आफ्नो संस्कृति अनुसारको पोसाकमा आएका थिए ।

संसदमा पहिलो पटक प्रवेश गरेको नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठ चौधरी थारु पोसाक लगाएर आएकी थिइन् भने जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव आफ्नै मौलिक पोशाकमा आएका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायत जुम्लाको स्थानीय पोशाक लगाएर आएकी थिइन् । छिरिङ लामा आफ्नै समुदायले लगाउने स्थानीय पोशाकमा आएका थिए ।

र सीके राउत ओशोको मालामा....

ओशो सन्यासी बनेका जनमत पार्टीका अध्यक्ष सीके राउत ओशोको चित्र रहेको लकेट सहितको माला लगाएर शपथका लागि संसद भवन पुगेका थिए । केही महिना पहिले उनी ओशो सन्यासी बनेका थिए । काठमाडौंको रानीवनमा रहेको ओशो आश्रममा स्वामी आनन्द अरुणबाट दीक्षित भएर उनी ओशो सन्यासी बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप