शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियाबाट ल्याइएका शुद्ध नस्लका गाई किसानलाई वितरण

मङ्गलबार, १२ पुस २०७९, ११ : ५४
मङ्गलबार, १२ पुस २०७९

दक्षिण कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालका किसानहरूलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनलद्वारा नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट सतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर कमलामाई नगरपालिका सिन्धुलीका किसानलाई वितरण गरेको हो । 

दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका ६ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको बताएको छ । हेफर कोरियाबाट प्राप्त गाई पौष ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले पौष ९ गते कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरी गाई सिन्धुली पुर्‍याएको छ । 

उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ । नेपालमा पहिलो पटक शुद्ध नस्लका धेरै गाई आएको हेफरले बताएको छ । हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभइ नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाईहरु ल्याएको बताए । उनले दक्षिण कोरियाबाट ल्याएका सतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारको लागि ल्याएको बताए । 

उनले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए । उनले नेपालमा रहेको ७३ लाख गाई मध्ये करिव २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको बताए । डा.श्रेष्ठले नस्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताए । उनले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरुको संरक्षण गरी नस्ल सुधारको काम समेत गरिरहेको बताए । 

नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै उनले शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए ।  दूधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता तथा आहारा, स्वास्थ्य र पालनपोसनमा भर पर्ने उनले बताए । उनले कोरियाबाट आएका गाई जेनेटिक रुपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रुपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको बताए । उनले नेपाली गाईपालक किसानहरुलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरु राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने बताए । 

डा.श्रेष्ठले नस्ल राम्रो भएको गाई ल्याएर पालनपोषण नेपालमा भएको गाईको भन्दा पनि नराम्रो हुने भन्दै किसानलाई तालिम समेत दिएको बताए । उनले कोरियन गाई पाल्नको लागि सिन्धुलीका किसानलाई समूहमा आवद्ध गरेर गाई वितरण गरिएको बताए । उनले किसानहरुलाई उन्नत गाई पाल्ने प्रविधि,स्वच्छ दूध उत्पादन प्रविधि र आहारा व्यवस्थापनको बारेमा तालिम दिएको बताए ।  डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाउने बताए । 

गाईहरूलाई आवश्यक पर्ने शुद्ध नश्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईहरु क्षमता ८ देखि १६ हजार लिटर प्रतिबेत रहेको जानकारी प्राप्त भएको छ । 

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप