आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रस्तावक, समर्थकको नै मत पाएनन् मुख्यमन्त्रीका आकांक्षी अर्यालले

शुक्रबार, १५ पुस २०७९, १० : ५४
शुक्रबार, १५ पुस २०७९

नेपाली काँग्रेस प्रदेश १ संसदीय दलमा उद्धव थापा निर्वाचित भएका छन् । थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए । अर्का उम्मेदवार केदार कार्कीले ९ र अमृत अर्यालले २ मत पाए । 

निर्वाचित भएका थापा काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । यद्यपि उनलाई अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवाले सहयोग गरेको मत परिणामबाट प्रष्ट हुन्छ । यस्तै कार्की संस्थापन इतर पक्ष (शेखर कोइराला)का हुन् । उनले अपेक्षित नै परिणाम हात पारेका छन् । तर, संस्थापन पक्षकै नेता अर्यालले भने अनपेक्षित मत हात पारे । 

अझै भन्ने हो भने अर्यालले प्रस्ताव र समर्थक कै मत पाएनन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिताकुमारी गुरुङ (राम) थिए । दुवै जना समानुपातिक सांसद हुन् । संस्थापन पक्षले एक जनामात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका थिए । 

 ९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । तर, थापाले भने पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत पाउँदा अर्यालले भने लज्जास्पद हार व्यहोर्नु पर्यो । 

कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो । देउवा समूहले सिटौला समूहलाई सहयोग गर्दा थापाको जित सहज बन्यो भने आफ्नै पक्षका नेता अर्यालको लज्जास्पद पराजय भयो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप