आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोरिया जाने नेपाली कामदारको महँगो हवाई भाडा घटाउन पहल

शनिबार, १६ पुस २०७९, ०६ : ०८
शनिबार, १६ पुस २०७९

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जाने नेपालीले अन्तर्राष्ट्रिय मापदण्डभन्दा दोब्बर बढी हवाई भाडा तिर्दै आएका छन् । कोरोना महामारीपछि ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकसँग दोब्बर बढी भाडा असुल गर्न थालिएको हो ।

सामान्यतया काठमाडौँदेखि कोरियासम्मको भाडा ५०० देखि ६६५ डलरसम्मको हुन्छ । तर, ईपीएस मार्फत कोरिया जाने नेपाली कामदारहरूले भने एक हजार २०० डलरभन्दा बढी तिर्दै आएका छन् ।

ईपीएस कोरिया शाखाले भाडा घटाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत पहल गर्दै आएको छ । तर, भाडा घट्ने कुनै छनक देखिएको छैन । यसरी भाडा महँगो हुनुको पछाडि २ वटा कारण छन् । एउटा, नेपालबाट कोरिया उडान गर्ने एउटा मात्रै एयरलायन्स छ । कोरियन एयरले नेपालबाट सिधा उडान भर्दै आएको छ ।

यसको दोस्रो कारण भनेको दक्षिण कोरिया सरकारले ईपीएसमार्फत लैजाने नेपाली कामदारका विषयमा राखेको सर्त हो । कोरोना महामारीपछि नेपाली कामदार कोरिया जान पाउने अवस्था थिएन । कोरोनाको कारण देखाउँदै कोरियन सरकारले नेपाली कामदार सिधा उडानमार्फत मात्र लिने सर्त राखेको थियो ।

त्यसअघि ट्रान्जिट हुँदै कोरिया जाने गरेका थिए । तर, कोरोनाको कारण देखाउँदै कोरियाले सिधा उडानबाट मात्र कामदार लैजाने सर्त राखेपछि नेपालले ‘हुन्छ’ भनेको थियो । सोही आधारमा कार्यविधि नै संशोधन गरेर कामदार लैजान थालियो । तर, त्यो सर्त मान्दा नेपाली श्रमिकको काँधमा दोब्बर बढी खर्च पुग्यो ।

हवाई भाडा घटाउने विषयमा ईपीएस शाखा कार्यालयले टेण्डर नै आह्वान गरेको छ । काठमाडौँबाट दक्षिण कोरियाको सिओलसम्म सिधा हवाई उडानमा ईपीएस मार्फत जाने नेपाली कामदारहरूको लागि टिकट आपूर्ति गर्न ९ मंसिरमा ३० दिने सूचना प्रकाशित गरेको थियो ।

विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो । इजाजत प्राप्त संस्था, फर्म÷कम्पनीहरूले विद्युतीय बोलपत्र आह्वान गर्न भनेको थियो । त्यसका लागि २ करोड ७५ लाख रुपैयाँ जमानत रकम तोकिएको छ ।

अहिले आवेदन आह्वानको म्याद सकिएको छ । अहिले मूल्याङ्कनको प्रक्रियामा रहेको र अबको १० दिनभित्रमा टुङ्गो लाग्ने ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए ।

यसअघि सरकारले कोरियन एयरसँग कुनै सम्झौता नगरी कामदार पठाउँदै आएको थियो । अहिले सार्वजनिक खरिद प्रक्रिया अनुसार नै सम्झौता गरेर अगाडि बढ्न खोजेको हो ।

त्यसैका लागि सरकारले टेण्डर आह्वान गरेको हो । कोरियन सरकारको सर्त अनुसार नेपालबाट सिधा उडानका लागि कोरियन एयरबाहेक अन्य प्रतिस्पर्धामा आउने सम्भावना न्यून छ । सरकारले त्यही कम्पनीलाई पनि सम्झौता गरेर अगाडि बढ्न खोजेको हो ।

‘पहिले सरकारले टेण्डर निकालेर सम्झौता गरेर पठाउने गरेको थिएन । अहिले हामीले सार्वजनिक खरिद ऐन अनुसार टेण्डर गर्‍यौँ भने सहज हुन्छ भन्ने हामीलाई लागेको छ । यस्तो गरियो भने घट्ने सम्भावना हुन्छ,’ निर्देशक कटुवालले भने ।

त्यसरी टेण्डर नै निकाल्नुपर्ने कारण के हो भन्ने प्रश्नमा निर्देशक कटुवालले भने, ‘अहिले कोरोनाको अवस्था सहज हुँदै आएको छ । ईपीएसका कामदार लग्दैन मेरो टिकट प्याक भयो भने कामदारको विचल्ली हुने भयो । हामीले बीना सूचना, बीना कानुनी प्रक्रिया काम गर्ने कुरा पनि भएन । त्यसका लागि त बोलपत्र आह्वान गर्नुपरेको हो ।’

प्रतिस्पर्धा गराउँदा रेट घट्न सक्छ भन्ने उद्देश्यका साथ टेण्डर आह्वान गरिएको उनको भनाइ छ ।

कोरियन सरकारले उडान तालिका हेरेर नै नेपाली कामदारको फाइनल लिष्ट तयार गर्ने गरेको छ । उक्त तालिका नेपाल पठाएपछि ईपीएस कोरिया शाखाले सूचना निकालेर कामदार पठाउने गरेको हो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवरको सचिवालयले भाडाका विषयमा जानकारी गराएको थियो । सोही आधारमा मन्त्री कुँवरले मन्त्रालयका सचिवसँग कुरा गरेका थिए र, भाडा घटाउनुपर्नेमा जोड दिएका थिए । तर, भाडा घट्न सकेको थिएन ।  

मन्त्रालयले भाडा घटाउने विषयमा कोरियन एयरलायन्सका अधिकारीहरूसँग समेत कुराकानी गरेको थियो । तर, भाडा घटाउन गाह्रो हुने जवाफ दिएको थियो ।

अझै कोरोनाको डर

दक्षिण कोरियामा पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रममा छ । हाल दैनिक ६० हजार जनाभन्दा बढीमा कोरोना संक्रमण फैलिरहेको छ । जसले गर्दा कोरियाले निकै कडाइ गर्दै आएको छ ।

कोरियाले अहिले नै सिधा हवाई उडानको सर्त हटाउने सम्भावना छैन । ‘कोभिडको अवस्था अझै बढ्ला जस्तो भइरहेको छ । कोभिड बढ्यो भनेर उसले ट्रान्जिटबाट लैजाने कुरै भएन । हामीले कसरी हुन्छ भाडा कम गराउने प्रयत्नमा लागिरहेका छौं ।’ निर्देशक कटुवालले भने ।

कोरोना महामारीको कारण देखाउँदै कोरियाले दुई वर्षसम्म कामदार लैजान रोकेको थियो । जसले गर्दा भाषा परीक्षा पास गरेर पनि धेरै नेपाली कोरिया जान पाएका थिएनन् ।

कोरियाले कामदार लैजाने निर्णय गरेपछि विगतमा भाषा परीक्षा पास गरेर रोकिएका कामदार सबै जना गइसकेका छन् । अहिले नयाँ छनौटमा परेका कामदारहरू गइरहेका छन् ।

कोरियाले यो वर्ष १० हजारभन्दा बढी नेपाली कामदार लैजाने बताएको थियो । तर, कृषि तथा पशुपालन क्षेत्रमा कम कामदार छनौटमा परेपछि पुनः आवेदन आह्वान गरिएको छ । ६ हजार जनाको लागि पुनः माग गरिएको आवेदनमा भने यो पटक ३७ हजार भन्दा बढीले फाराम भरेका छन् ।

‘यो वर्षकै लागि माग अनुसार कोटा पूरा नभएपछि फेरि खोलिएको हो । जसमा ३७ हजार २७७ जनाले आवेदन दिनुभएको छ । माघ १६ गतेदेखि परीक्षा सञ्चालन हुनेछ,’ निर्देशक कटुवालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप