बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित सांसदको दिनचर्या : कार्यक्रममा प्रमुख अतिथि बन्नेदेखि संसदीय प्रक्रिया अध्ययन गर्नेसम्म

शनिबार, १६ पुस २०७९, १२ : ४३
शनिबार, १६ पुस २०७९

प्रतिनिधिसभा सदस्यको शपथ लिए पनि नवनिर्वाचित सांसदले संसदीय गतिविधिमा भाग लिइसकेका छैनन् । सरकार गठनको प्रक्रिया र दलहरुबीच राज्यका मुख्य–मुख्य पदहरूको भागबण्डाको काम नटुङ्गिएका कारण संसद् अधिवेशन केही पर धकेलिएको छ । यही पुस २५ गतेका लागि प्रतिनिधिसभाको पहिलो बैठक डाकिएको छ ।

संसदीय गतिविधिमा सहभागी हुने तयारी अवस्थामा रहेका सांसदहरू संसद् बैठक नचलेका बेला के कस्ता काममा व्यस्त भइरहेका छन् त ? हामीले विभिन्न दलका नवनिर्वाचित केही सांसदसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीहरूको भनाइका सम्पादित अंश–

विकासका काम निरीक्षणदेखि जनतासँगको भेटघाटमा व्यस्त छु : जुली महतो

सांसद, नेकपा एमाले

निर्वाचित भइसकेपछि जनतासँग भेटघाटलाई निरन्तरता दिइरहेको छु । निर्वाचित गराएकोमा उहाँहरूलाई धन्यवाद दिने काम गरिरहेको छु । जनताले जुनजुन विकासका कुरा उठाउनुभएको थियो, किसानका जुन समस्या उठाउनुभएको थियो, ती विषयहरूलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल, भेटघाटमा समय बितिरहेको छ ।

अहिले त सरकार बनाउने काम चलिरहेकोले संसद् बैठक केही दिनपछि सुरु हुने भएको छ । सरकारलाई पूर्णता दिने विषयमा पार्टीका बैठकहरू पनि भइरहेको छ ।

पर्सितिर जिल्लामा जाँदैछु, मेरो क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरूको निरीक्षणदेखि लिएर जनतासँग भेटघाट गर्नेछु । पुस २५ गते हुने सदनका लागि २३ गतेतिर काठमाडौँ फर्कन्छु ।

पार्टीले जिम्मेवारी दियो भने म फेरि मन्त्री हुने भन्ने कुरा हो । मन्त्री भए पनि नभए पनि जनताको काम त गरिरहने नै छु । बिहानदेखि बेलुकासम्म जनताका समस्या सुन्ने अनि समाधानको पहलका लागि नै समय बितिरहेको छ ।

जनताले बोलाएका हरेक ठाउँमा पुगिरहेको छु : सन्तोष चालिसे

सांसद, नेपाली कांग्रेस

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि मेरो दैनिकी निकै व्यस्त बनेको छ । यतिबेला विभिन्न सहकारी संस्थाहरूको वार्षिक साधारणसभा चलेको छ । दिनमा तीन–चार वटा कार्यक्रममा प्रमुख अतिथि हुन्छु । मलाई मतदान गरेका मतदातालाई वडा वडामा, टोल टोलमा गएर बिहानको समयमा धन्यवाद दिने गरेको छु ।

पार्टीको क्षेत्रीय सभापति भएका कारण विभिन्न कार्यक्रमबाट निम्तो आउँछ, ती कार्यक्रममा अतिथि भएर सहभागी हुने गरेको छु । कता–कता विभिन्न ठाउँबाट निम्तो आइरहेको हुन्छ । कहिले आर्यघाट पुग्छु, कहिले पूजा छ आइदिनुस् न भन्छन्, कतै जन्मदिनमा बोलाएका हुन्छन्, जनताले जता बोलाएका छन्, उतै पुगिरहेको हुन्छु । सबै ठाउँमा पुग्न पनि भ्याइँदैन तर भ्याएसम्म सबै ठाउँमा पुग्ने गरेको छु ।

संसदीय अभ्यास र प्रक्रियाहरूबारे अध्ययन गरिरहेको छु : माधव सापकोटा ‘सुबोध’

सांसद, माओवादी केन्द्र

निर्वाचित भइसकेपछि निर्वाचन क्षेत्रमा पुगेर मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेँ । केही पूर्व सांसदलाई भेटेर उहाँहरूका अनुभव सुनिरहेको छु । संसदीय अभ्यास र प्रक्रियाहरूबारे पनि अध्ययन गरिरहेको छु । विगतका संसद्ले गरेका काम कारबाहीहरू, संसद्सँग सम्बन्धित विभिन्न पुस्तक, सन्दर्भ सामग्रीहरू अध्ययन गरिरहेको छु ।

म निर्वाचित भएको क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरूको अनुगमन गर्नुपर्‍यो भनेर जनताहरूले माग गर्नुभएको छ । केही आयोजनाको अनुगमन गरेको छु । ठेकेदारको लापरवाहीले समयमा काम नभएको भनेर गुनासो आइरहेको छ । मेरो क्षेत्रमा २ दर्जन जति सडक, पुल लगायतका विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको छ । ती आयोजनाको काम गुणस्तरीय ढङ्गले सम्पन्न गराउनका लागि स्थलगत रूपमा अनुगमन गर्ने तयारीमा छु ।

यस्तै नेपाल–चीनको महत्त्वपूर्ण व्यापारिक नाकाको रूपमा रहेको तातोपानी नाका खुलाउनका लागि कूटनीतिक रूपमा पहल गर्न लागिपरेको छु । सकभर छिटो यो नाका खुलाउन जोड दिएर लागिपरेको छु ।

जनताका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग पहल गरिरहेको छु :  दीपक सिंह

सांसद, राप्रपा

आजभोलि त म पार्टीको बैठकहरूमा बढी व्यस्त भइरहेको छु । अहिलेको सरकारसँग के के माग राख्ने, सरकारलाई कस्तो एजेन्डा प्रस्तुत गर्ने भन्ने लगायतका बैठकमा व्यस्त भएँ । पार्टीको प्रमुख सचेतक, सचेतक चयन गर्ने लगायत पार्टीको छलफलमा व्यस्त भएका छौँ ।   

जनताले आफूलाई परेको समस्याहरू सुनाउने गर्नुभएको छ । निर्वाचित हुनुभन्दा पहिले पनि उहाँहरूले सम्झनुहुन्थ्यो, अहिले अलि बढी जिल्लाका समस्याहरू आइरहेको छ । अहिले कतै केही नभइरहेको अवस्थामा जनताले हामीप्रति आशा राख्नु स्वाभाविकै हो । कहिले जिल्लामा, कहिले काठमाडौँमा हुन्छु । जिल्लामा छ–सातवटा जल्दोबल्दो समस्या समाधानका लागि पनि लागिपरेको छु ।

हेटौडा औद्योगिक क्षेत्रमा भइरहेको विद्युत् समस्या समाधानका लागि लागिपरेको छु । विवाद भएर रोकिएका कामहरूको मध्यस्थता गरेर समाधानको पहल पनि गरिरहेको छु । जनताका लागि परेका समस्याहरू समाधानका लागि सरोकारवाला पक्षसँग कुराकानी गरेर लागिपरेको छु ।

पूर्व कर्मचारी, न्यायाधीशहरूको अनुभव सुनिरहेको छु : सोविता गौतम

सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी

अहिले मैले गरिरहेको कामको प्रकार छुट्याउने हो भने तीन चार प्रकारका काम गरिरहेको छु । सामान्यता संसद्को काम, कर्तव्य र अधिकार के के रहेछन् भन्ने कुराहरू, अहिले ठ्याक्कै अधिवेशन पनि सुरु भइनसकेको, भर्खर भर्खर निर्वाचित भएको, यो सरकारी संयन्त्रले के कसरी काम गर्छ भन्ने बुझ्नका लागि अवकाश प्राप्त कर्मचारी, पूर्व सचिवहरूसँग, प्रशासकीय क्षेत्रमा काम गर्नुभएकाहरुसँग बसेर उहाँहरूको अनुभव कस्तो थियो ? कहाँ कस्तो समस्याहरू आउँछन्, के कारणले गर्दा विकासको काम कम भयो भन्नेबारेमा बुझिरहेको छु ।

यस्तै कानुनी ज्ञान राख्ने पूर्व न्यायाधीश, पूर्व सभामुखहरू, हामीले आदर्श मान्ने व्यक्तिहरूसँग भेटघाट गरेर संसद्बाट के कस्तो काम गर्न सकिँदो रहेछ भनेर बुझिरहेको छु । नेपालमा विधिको शासन स्थापित गर्न संसद्बाट के के काम गर्न सकिन्छ भन्ने बारेमा उहाँहरूसँग सिकिरहेको छु । भोलि मैले काम गर्दै गर्दा गल्ती नहोस् भनेर उहाँहरूबाट सिकेर अघि बढ्न खोजिरहेको छु ।

अर्को कुरा, निर्वाचित भइसकेपछि जनअपेक्षा कस्तो हुँदो रहेछ भने, हामीले भोट हालेर पठाएको, हाम्रो जीवन सहज हुनुपर्छ, विकास निर्माणका कामहरू गर्नुपर्छ भन्ने अपेक्षा हुँदो रहेछ । हाम्रो काम यो हैन भनेर जनताहरूलाई बुझाउन पनि नसकिने, भन्न पनि नमिल्ने के ! उहाँहरू आफैले बुझिदिए राम्रो हुन्थ्यो, नबुझेपछि यो मेरो काम त हैन भनेर पन्छिन पनि नमिल्ने भएको कारण उहाँहरूको ठाउँको समस्या कुन कुराले अल्झिएको रहेछ भनेर एकहिसाबले सहजीकरण पनि गरिरहेको छु ।

बाटो ढलका कुराहरूमा हाम्रो काम भएन, लौन तपाईलाई हामीले भोट हालेर जितायौँ भनेर भन्नुहुन्छ । किन त्यस्तो समस्या भएको रहेछ भन्ने बुझेर काम अगाडि बढाउन सहजीकरण पनि गरिरहेको छु ।

जनताहरूलाई भन्न त के भन्नु, उहाँहरूको अपेक्षा हो, हामीले भोट हाल्यौँ हामीले देख्नुपर्‍यो, भेट्नुपर्‍यो भन्नुहुन्छ तै पनि भेट्न जाँदा सम्बन्धित एउटा काम बुझिरहेको छु, सुझाव लिइरहेको छु । यसरी नै मेरो दिन बितिरहेको छ । एउटा असल सांसद हुन आफूलाई तयार पार्दैैछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप