शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उत्तर–दक्षिण कोरिया वार्ता सुरु

बिहीबार, १० मङ्सिर २०७२, १३ : ०६
बिहीबार, १० मङ्सिर २०७२
सोल–उत्तर र दक्षिण कोरियाका सरकारी अधिकारीहरु बिहीबार द्विपक्षीय औपचारिक वार्ताका लागि बसेको छ । बिगत लामो समयदेखि यस्तो औपचारिक वार्तालाई अस्वीकार गर्दै आएका यी दुई देशले पछिल्लो समयमा आपसी वार्ताको प्रस्तावलाई स्वीकारेका थिए । सोही बमोजिम नै वार्ता सुरु भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । उनीहरुका अनुसार बिहीबार स्थानीय समयअनुसार अपरान्ह १ बजे दुवै देशका प्रतिनिधि अधिकारी वार्तामा बसेका छन् । सीमा क्षेत्रीय एक गाँउ पानुमजोममा सो वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । अपरान्ह १ बजेबाट सुरु भएको सो वार्ता गएको अगष्ट पछिको पहिलो वार्ता हो । गएको अगष्ट महिनामा यी दुई देशबीचको आन्तरिक द्वन्द्व निकै चर्किएपछि र त्यसका कारण सैन्यस्तरमा नै आक्रमणको अवस्था देखापरेपछि यी दुई देशबीच एक औपचारिक वार्ता भएको थियो । सो वार्तापछि दुई देशबीचको तनाव केही कम भएको र अर्को वार्ता केही महिनापछि गर्नेगरी सो वार्ता टुंगिएको थियो । त्यसयता यो वार्ता पहिलो पटक हुन लागेको बताइएको छ । उता सन् २०१३ मा नै यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने भनी व्यापक मात्रामा तयारी पनि भएको थियो । सो वार्ता छ वर्षपछि पहिलो पटक दुई देशका उच्चस्तरीय अधिकारीबीच हुने भनिएको थियो । तर वार्ताको लागि तय गरिएको समयको अघिल्लो दिनमात्र आएर सो वार्ता स्थगित भएको थियो । त्यसयता यस्तो उच्चस्तरमा अर्को वार्ता अहिलेसम्म भएको छैन । आज सुरु भएको यस वार्ताबाट यस्तो अपेक्षित अर्को उच्चस्तरको वार्ताको लागि मार्गप्रसस्त गर्नसक्ने सम्भावना भने देखिएको छ । तरपनि अधिकारीहरु यस कुराका लागि विश्वस्त भने हुन सकेका छैनन् । यी दुई देश आपसमा टुक्रिएर दुई अलग राष्ट्र बनेपछि सत्रुतापूर्ण सम्बन्ध रही आएको छ । समय समयमा आपसी वार्ताहरु हुने गरेका भएपनि त्यसले असल छिमेकी सम्बन्धका रुपमा भने विकास गर्न सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप