शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दानाको अभावमा दूध उत्पादन घट्यो

सोमबार, १४ मङ्सिर २०७२, १२ : ३३
सोमबार, १४ मङ्सिर २०७२
पाल्पा– व्यावसायिक पशुपालक कृषक जीवनाथ ढुङ्गाना हिजोआज साँझबिहान गोठमा गएर गाई सुमसुम्याउँदै टोलाएर बस्न बाध्य छन् । दूध बेचेर मनग्य कमाई गर्ने सोच राखेर गाईपालन व्यवसाय अवलम्बन गरेका ढुङ्गाना गाईलाई दाना खुवाउन नपाउँदा निकै चिन्तित छन् । पशुलाई आवश्यक पर्ने दाना खुवाउन नपाउँदा साँझबिहान दूध दुहुने समय उनी टोलाएर गोठमा बस्छन् । विगत तीन वर्षदेखि गाईपालन व्यवसाय थालनी गरेका ढुङ्गानाले दूध बेचेर घर व्यवहार चलाउँदै आएका थिए, अहिले भने दानाको अभावमा गाईले दूधको उत्पादन घटाएपछि उनको दैनिकी गुजारामा समस्या परेको छ । “दिनमा ५० लिटर दूध उत्पादन हुन्थ्यो, दूध बेचेर राम्रोसँग घर व्यवहार चलेको थियो अहिले नाकाबन्दीले दाना ढुवानी गर्न नपाउँदा दूधको उत्पादन घटेर ३० लिटर पनि मुस्किलले हुने गरेको छ,” उनले भने– “दानापानी मिलाएर खुवाउँदा दूध पनि राम्रो दिन्थ्यो, महँगो मूल्यमा गाई किनेर ल्याए पनि दूध बेचेर उठाउँछु भन्ने हिम्मत हुन्थ्यो, अहिले त गाई कहाँ पन्छाउने जस्तो भएको छ ।” उनको गोठमा उन्नत जातका ६ वटा गाई रहेका छन् । दूधको उत्पादन र बिक्री मूल्यबाट सन्तुष्टि लिएका ढुङ्गाना गाईको सङ्ख्या बढाएर दूध उत्पादनमा जोड दिने इच्छा राखे पनि दानाको अभावले व्यवसाय नै धरापमा परेको बताउँछन् । जिल्लाका थुप्रै व्यावसायिक किसान तथा फार्म सञ्चालकलाई दाना ढुवानी गर्न समस्या पर्दा व्यवसाय नै निल्नु न ओकल्नु जस्तै भएको छ । व्यापारीले पनि इन्धनको अभावले दाना ढुवानी गर्न नसक्दा व्यावसायिक पशुपालक किसान तथा फार्म सञ्चालकहरु मारमा परेका छन् । आवश्यक मात्रामा पशुआहारा पूरा गर्न नसक्दा दूधको उत्पादनमा कमी आएको किसान बताउँछन् । ‘प्रतिमा एन्ड प्रतीक दाना सप्लायर्स’का सञ्चालक कीर्तिनाथ श्रेष्ठ भन्छन्, “किसानबाट दानाको माग आइरहेको छ, ढुवानी गर्न इन्धनको अभावले ल्याउन सकिएको छैन ।” “पाँच लिटर दूध दिने एक गाईलाई दिनमा तीन किलो दाना खुवाउनुपर्छ । अहिले त दाना पनि छैन, घाँसको भरमा मात्रै व्यवसाय धान्नु पर्दा दूधको उत्पादन निकै कम छ, त्यही दूध पनि बजार पु¥याउन समस्या छ,” मिलिजुली गाई फार्मका सञ्चालक ज्ञानबहादुर पोखरेलले भने– “विदेश गएर तीन वर्ष बिताए, राम्रोसँग कमाउन सकिएन, स्वदेशमै फर्केर केही होला कि भनेर बैंकबाट ऋण झिकेर रु १२ लाखको लगानीमा व्यवसाय थालनी गरेको अहिले नाकाबन्दीले व्यवसाय नै धरापमा पा¥यो ।” उनको फार्ममा अहिले दुहुना र ब्याउने गरी १२ वटा गाई रहेका छन् । दैनिक रुपमा ४० लिटरसम्म दूध उत्पादन हुने गरे पनि अहिले दानाको कमीले २० देखि २५ लिटरसम्म दूध उत्पादन हुने गरेको छ । अमृत दुग्ध डेरी फार्मका सञ्चालक माधव आचार्यका अनुसार दिनमा तीनदेखि साढे तीन सय लिटरसम्म दूध सङ्कलन हुने गरेकामा अहिले घटेर डेढ सयको हाराहारीमा पुगेको छ । “किसान र फार्मवालाबाट गत एक महिनादेखि नै दूध कम आउने गरेको छ” उनले भने । उपभोक्ताको मागअनुसार दूध पु¥याउन कठिन भएको आचार्यको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप