शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल–भारत सीमा सुरक्षा बैठक विराटनगरमा

सोमबार, १४ मङ्सिर २०७२, १३ : २८
सोमबार, १४ मङ्सिर २०७२
मोरङ– नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । सोमबार दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् । त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको उपस्थिति छ । बैठकमा दुबै देशका नापी विभागका प्रतिनिधिहरुको समेत सहभागी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए । बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र अतिक्रमण भएको दशगजा क्षेत्र खाली गराउने बारेमा छलफल भइरहेको छ । प्रजिअ कार्कीले दुई देशको सिमाना छुट्याउन निर्माण गरिएका सीमास्तम्भबारेमा पनि छलफल गरिने बताए । “सिमानामा रहेका पिलरका बारेमा दुई देशका अधिकारीबीच छलफल हुनेछ,” प्रजिअ कार्कीले भने– “पुराना र जीर्ण भएका पिलरको मर्मतसम्भार र पुनःनिर्माणबारे एउटा टुङ्गोमा पुगिनेछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप