शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वयम्बर गरेको डेढ दशकपछि तोडियो बिहे, स्वयम्बर गर्दा लागेको खर्च फिर्ता

सोमबार, १४ मङ्सिर २०७२, १६ : १९
सोमबार, १४ मङ्सिर २०७२
भीमदत्तनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाकी २० वर्षीया जेनिशा राना आइतबार दिउँसोपछि प्रफुल्ल मुद्रामा भेटिइन् । डेढ दशकअघि जेनिशाको देखतभूली गाविसका रामवकस रानासँग विवाहका लागि स्वयम्बर भएको रहेको छ । आफ्नो इच्छा विपरीत बुवा–आमाले बाल्यावस्थामै गरेको स्वयम्बरलाई सहमतिअनुसार तोडेपछि जेनिशाको खुसीको सीमा नै रहेन । चेतनास्तर बढ्दै गएसँगै जेनिशाले आइतबार आफ्नो समुदायको परम्पराअनुसार रामवकससँग विवाह नगर्ने निधो अनुरुप स्वयम्बरलाई ‘ब्रेक’ लगाइन् । “हाम्रो समुदायमा बाल्यकालमै स्वयम्बर हुन्छ”–जेनिशाले भनिन्–“पछिल्ला वर्षमा तत्काल स्वयम्बर गरेर विवाह गर्ने प्रचलन भएकाले मैले पनि पुरानो स्वयम्बरलाई इन्कार गरेकी हुँ ।” “डेढ दशकअघि घरमा स्वयम्बर गर्न आउँदा केटा पक्षले लड्डु, मिठाइ खुवाएर भोज गराएको रहेछ”–उनले भनिन्, “हामीले स्वयम्बरलाई तोडेपछि रु साढे आठ हजार स्वयम्बर खर्च (जारी) बुझायौँ ।” राना थारु समुदायमा परिवारले स्वयम्बर गरेको केटासँग विवाह नगरेर स्वयम्बरमा लागेको खर्च फिर्ता गर्नुपर्ने प्रावधान अनुरुप आइतबार जेनिशाका बुवा रामचन्द्रले सो रकम फिर्ता गरेका हुन् । “छोरीले हामीले स्वयम्बर गरेको केटासँग विवाह गर्न नै मानिनन्”–रामचन्द्रले भने, “अब छोरीको इच्छा विपरीत कसरी विवाह गर्न लगाउँ भनेर कर गरिन् ।” स्वयम्बरलाई यो समुदायको चलचल्तीको भाषमा ‘मङ्गनी’ भनिन्छ । “बीस वर्ष उमेर पुगिसक्दा पनि अहिलेसम्म मैले स्वयम्बर गरेको केटालाई देखिन”–जेनिशाले भनिन्, “केटाको बारेमा सामान्य जानकारी नै नभई कसरी स्वयम्बरकै आधारमा बिहे गर्नु रु” उनले अब असल केटा पाए बिहे गर्ने योजनासमेत सुनाइन् । दुई पक्षको आपसी लेनदेनपछि आइतबारबाट उनीहरुको मित्रताको सम्बन्ध टुटेको छ । “हामीले सहमतिमै विवाह नगर्ने निर्णय गरेका हौँ”–रामचन्द्रले भने, “अन्तिमपटक केटाको बुबाले छोरीकै मुखबाट इन्कार गरेको सुनेपछि सहमतिमा सामेल भए ।” देखतभुलीका रामवकस वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्षदेखि कतारमा छन् । आइतबार उनका दाइ र बुबासहित गाउँका मान्यजनसहितको टोली जेनिशाको घरमा पुगेर स्वयम्बरमा लागेको खर्च लिएर फिर्ता भएको छ । सुदूरपश्चिममा राना थारु समुदायको बाहुल्यता रहेको कञ्चनपुरमा यो समुदायले छोरा छोरीको बाल्यकालमै विवाह कोसँग गर्ने रु भनेर निधो गरिसकेका हुन्छ । “पहिले त गर्भमै पनि छोरा–छोरी भए विवाह गर्ने छोरा–छोरा भए मितेरी लगाउने प्रथा नै थियो”–भीमदत्तनगरपालिका–१९ बागफाँटाका पूर्व भलमन्सा सेन रानाले भने, “आजकाल त हाम्रो समुदाय पनि शिक्षित हुँदै गयो, यो प्रथा पनि हट्दैछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप