बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

थिबे छोरा खोलामा बगेपछि आमा थिबियाको व्यथा

शुक्रबार, १८ मङ्सिर २०७२, १३ : ३३
शुक्रबार, १८ मङ्सिर २०७२
काठमाडौं । ‘मिथकअनुसार एउटा किराती बस्तीमा आमा थिबियाले छोरा पाउँछिन् । छोराको नाम थिबे हुन्छ । थिबे असाध्यै सुन्दर हुन्छ । उसको सुन्दरता देखेर गाउँलेले इष्र्या गर्छन् । र, सबैले आफ्ना छोरालाई भेलबाढीमा बगायो भने पूरै किराती बस्तीलाई शुभ हुने बताउँछन् । अनि, छोरा पनि फर्की आउने बताउँछन् । यो कुरा केवल थिबे सुन्दर भएको इष्र्यामा भनिएको हुन्छ । सबैले बगाउने भएपछि थिबिया पनि छोरा बगाउन मन्जुर हुन्छिन् । गाउँलेले थिबियालाई धोका दिँदै कुचोलाई कपडाले बेरेर बगाएका हुन्छन् र सबैका छोरा घरमै हुन्छन् । तर, थिबियाले साँच्चिकै छोरो थिबेलाई बगाएकी हुन्छिन् । थिबे फर्केर आउँदैन । त्यसपछि थिबियाले थिबेउ–थिबेउ भनी बोलाउँदै छोरा खोज्न हिँड्छिन । अन्तमा उनी अग्लो रुखमा चढेर छोरा कतै खोला किनारमा छ कि भनेर हेर्छिन् । छोरालाई खोज्दाखोज्दै थाकेकी थिबिया रुखमा अडिन नसकेर खस्छिन् र उनको मृत्यु हुन्छ । पछि उनी चराको जुनी लिएर आएको मानिन्छ । जुन चरालाई किराती बस्तीमा ‘थिबिया चरा’ भनिन्छ । यो चरा अझै पनि खोला–खोला कराउँदै हिँड्छ । तर, ‘थिबेउ–थिबेउ’ आवाज निकाल्दै गाउँ पस्यो भने अशुभ हुन्छ भन्ने पनि मानिन्छ,’ रातोपाटीमा आएर जानुका राईले मिथक सुनाइन् । गायिका जानुका राईको सांस्कृतिक भिडियो संग्रह थिबिया बजारमा आएको छ । थिबियामा ए थिबेउ, ओ तोरेम्पा, भाइ हेच्छाकुप्पा, तानमा धागो बोलका गरी चार गीत रहेका छन् । थिबियामा भुपाल राई, वीरेन्द्र राई, टीका चाम्लिङ, खुक्सङ खम्बुको शब्द रहेको छ भने जितेन राई, शान्तिराम राई, सुरेश अधिकारी मनोज साङसोनको संगीत रहेको छ । जानुका एक दशकदेखि संगीत साधनारत छिन् । उनले फिल्म र कलेक्सन एल्बममा गरी दुई दर्जन जति गीत गाएकी छिन् । ‘थिबिया किराती वियोगान्त मिथकमा आधारित सांस्कृतिक भिडियो संग्रह हो । यसको भिडियोमा हामीले मिथकलाई नै उतार्ने कोसिस गरेका छौँ । यसमा शब्द, लय मौलिक छ । यो मेरो पहिलो एल्बम हो । निकै मेहनत गरेर यो एल्बम गरेकी हुँ,’ जानुका भन्छिन्, ‘मैले विभिन्न ठाउँमा संगीत सिकेँ, विगत दश वर्षदेखि साधनारत छु । अहिले सुम्निमा कल्चर एकेडेमीमा कैलाश राईसँग पाँचौँ वर्षमा संगीतको कक्षा लिँदै छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप