महायज्ञमा उठ्यो रु एक करोड २७ लाख
आइतबार, २० मङ्सिर २०७२, ०८ : ५७
तनहुँ– महिलाद्वारा सञ्चालित वेदव्यास ज्येष्ठ नागरिक आश्रमको स्तरोन्नति गर्ने उद्देश्यले दमौलीमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह एवम् धनधान्याचल विराट महायज्ञमा यहाँका महिलाले महायज्ञ सम्पन्न गरेर ठुलो रकम उठाउन सफल भएका छन् ।
घरको चुलोचौकामा मात्र सीमित रहने महिला पछिल्लो समयमा घर बाहिर निस्केर सामाजिक क्रियाकलापमा समेत सक्रिय रुपमा लाग्न थालेको पाइन्छ ।
जिल्लामै पहिलो पटक महिलाद्वारा आयोजना गरेको महायज्ञ शनिबार सम्पन्न भएको छ । उक्त महायज्ञमा कुल रु एक करोड २७ लाख सङ्कलन भएको छ भने शनिबारमात्रै रु २४ लाख सङ्कलन भएको आर्थिक सङ्कलन समिति संयोजक अरुणा श्रेष्ठले जानकारी दिए ।
उक्त महायज्ञमा रु ५० हजारभन्दा माथि दान गर्ने दानवीरहरुलाई पञ्चेबाजाका साथ महिलाले नाचगान गर्दै रमाइलो गरेर महायज्ञस्थलसम्म ल्याएर सम्मान गर्ने अभियानले महायज्ञ सफल बनाउन थप सहयोग पुगेको महायज्ञका उपसंयोजक देवकुमार श्रेष्ठले बताए ।
यस्तो कठिन अवस्थामा पनि केको पैसा उठ्छ र भनेर कतिपय मानिसले निरुत्साहित गर्ने काम गरेका थिए तर लक्ष्य रु तीन करोड सङ्कलन गर्ने रहे पनि महिलाले साहस गरेर महायज्ञको आयोजना गरी उक्त रकम सङ्कलन गर्न सक्नु नै समाजका लागि सराहनीय भएको उपसंयोजक श्रेष्ठले उल्लेख गरे ।
तनहुँको ब्यासनगरपालिका वडा नं ८ चापाघाटस्थित ज्येष्ठ नागरिक आश्रमको घर भूकम्पले चर्किएपछि अन्यत्रै नयाँ भवन निर्माण गर्न आर्थिक स्रोत नभएका कारण महायज्ञको आयोजना गर्नुपरेको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिए ।
उक्त आश्रम निर्माणका लागि ब्यास– ८ चापाघाटमा डेढ रोपनी जग्गा रु ५८ लाखको लागतमा महिलाको सक्रियतामा खरिद गरिएको छ । आर्थिक सङ्कलन संयोजक अरुणा श्रेष्ठले भने – “उक्त आश्रममा आबद्ध रहेका ३०३ जना आजीवन महिला सदस्यबाट रु दुई÷दुई हजारका दरले र १२÷१५ जनाले रु ५० हजारका दरले रकम सङ्कलन गरी उक्त जग्गा किनेको हो ।
मुठी दानबाट सुरुवात गरिएको उक्त आश्रम हाल पाँच÷छजना वृद्धवृद्धाले आश्रम लिइरहेको र भवन अभावका कारण त्योभन्दा बढी सङ्ख्यामा वृद्धवृद्धा थप गर्न नसकिएकाले पनि भवन निर्माणार्थ महायज्ञको आयोजना गर्नुपरेको सचिव मल्लले बताए ।
केही महिनाअघि त्यस आश्रममा रहेकी एक वृद्धा आमाको निधन भएपछि महिलाले नै काँधमा बोकेर दमौलीघाटमा लगेर दाहसंस्कार गरेका थिए ।
उक्त महायज्ञ यही मङ्सिर १२ देखि १९ गतेसम्म सञ्चालन गरिएको थियो । महायज्ञमा पण्डित दिनवन्धु पोख्रेलले कथावाचन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण