काँग्रेसको संशोधन प्रस्ताव नै मोर्चाको माग पूरागर्ने कडी
बिहीबार, २४ मङ्सिर २०७२, १४ : ४३
पोखरा– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गरेका छन् ।
नेपाली काँग्रेस कास्कीले ‘कस्तो बन्यो संविधान, एकताको अभियान’ मूलनाराका साथ आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संविधान संशोधन प्रस्तावमा केही परिमार्जन गरेर अघि बढाएमा सहमति हुने सङ्केत मधेसी मोर्चाबाट आएकाले त्यसलाई संसद्बाट छिटो पास गराई मोर्चाको आन्दोलन र भारतको नाकाबन्दी अन्त्य गर्नुपर्ने बताए ।
“नयाँ संविधान लोकतन्त्र र समाजवादलाई चरितार्थ गर्नसक्ने सन्तुलित र समावेशी खालको छ”, उनले भने –“संविधानले मधेसी, उत्पीडित, दलित र महिलालाई अधिकार सम्पन्न बनाएको सन्देश जनता माझ प्रचार गर्न नसक्दा असन्तुष्टिका आवाज निस्केका हुन् ।”
उपसभापति पौडेलले नेपालमा अरु कसैले मान्छे मार्दा पनि चर्चा नहुने तर नेपाली काँग्रेस आँ गर्दा पनि हल्लाखल्ला हुने विचित्रको राजनीति हुने गरेको टिप्पणी गरे । पार्टीको आसन्न महाधिवेशनमा समयसापेक्ष चुनौतीलाई आत्मसात् गर्ने खालको नेतृत्वलाई निर्वाचित गर्नुपर्नेमा जोड दिँदै उनले कार्यकर्ता तहबाट नेतृत्वको मूल्याङ्कन गर्ने अवस्था आएको बताए ।
नेपाली काँग्रेस र नेकपा (एमाले) दुई समदूरीका पार्टी भएको चर्चा गर्दै उनले लोकतन्त्रमा प्रतिस्पर्धी पार्टीबीच एकापसमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको उल्लेख गरे । नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले नेपालको नयाँ संविधान सामावेशीतालगायतका दृष्टिबाट उत्कृष्ट भएको बताए ।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, सभासद्द्वय शारदा पौडेल र वृन्दादेवी राना, काँग्रेस पर्वतका सभापति लालाकाजी गुरुङ, भोजप्रसाद गुरुङलगायतले देशको जारी सङ्कटको समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण