सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक वर्षभित्र २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न हुनेछः उपप्रम रायमाझी

शुक्रबार, ०१ माघ २०७२, १२ : ५२
शुक्रबार, ०१ माघ २०७२

फलेवास -उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै २५० मेगावटका जलविद्युत आयोजना सम्पन्न हुने बताएका छन् ।

शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्षभित्र लोडसेडिङ कम गर्ने बताए ।

उनले एक वर्षभित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गरे ।

उनले नाकाबन्दीको प्रभावकाबीचमा पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत् उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको बताए ।

मन्त्री रायमाझीले ऊर्जा सङ्कटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा विद्युत्मा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको बताए ।

उनले नेपालमा तेल र ग्यासको अभावका कारण विद्युत्को माग बढी भएको बताउँदै विद्युत्को माग बढी भएकै कारण लोडसेडिङ पनि बढाउनुपर्ने बाध्यता रहेको बताए । रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी सरकारले कार्ययोजना अघि बढाइसकेको पनि जानकारी दिए ।

विद्युत् अत्यधिक खपत हुँदा अहिलेसम्म साढे पाँच सय भन्दा बढी ट्रान्समिटर पड्किएको बताउँदै लोडसेडिङ बढाउनु पर्ने बाध्यता भएको स्वीकार गरे ।

रायमाझीले नाका सहज हुने वित्तिकै लोडसेडिङ पनि कम हुने बताए । सहजरुपमा ग्यास र इन्धन भित्रिने वित्तिकै लोडसेडिङ पनि कम हुन्छ, मन्त्री रायमाझीले भने–‘त्यसपछि लोडसेडिङ पनि क्रमशः घट्दै जान्छ ।’ उपप्रधानमन्त्री रायमाझीले तराई केन्द्रित दलको वार्ता सहमति नजिक पुगेकाले एक साताभित्रै नाका सहज हुने समेत दाबी गरे ।

रायमाझीले सबै दल र वर्गको सहभागिता गराउन मन्त्रिमण्डल जम्बो बने पनि जनभावनाअनुसार काम गर्ने दाबी गरे । एनेकपा ९माओवादी० सरकारप्रति रुष्ट छ भन्ने हल्ला गलत भएको बताउँदै गठबन्धनको सरकार तत्काल नढल्ने दाबी समेत गरे ।

ऊर्जामन्त्री रायमाझीले शुक्रवार बिहानै पर्वतको कुश्मा नगरपालिका– १२ मा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत परियोजनाको निरीक्षण समेत गरे । सो अवसरमा आयोजनाको निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन समेत निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप