सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देवघाटमा माघे संक्रान्तिको रौनक (फोटोफिचर)

शुक्रबार, ०१ माघ २०७२, १३ : ३९
शुक्रबार, ०१ माघ २०७२

चितवन - हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट धाममा आज ३ लाखभन्दा बढी माघे संक्रान्ति मेला भर्न आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । मेलामा विहीवार देखि नै विभिन्न जिल्लाबाट भक्तजनहरु आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले बताए । पेट्रोलियम पदार्थको अभावमा यातायातको सहज सञ्चालन हुन नसक्दा पनि भक्तजनहरु हिँडेर, साइकलमा ठूला तथा साना सवारी साधन प्रयोग गरेर आउने क्रम अधिक रहेकाले देवघाटप्रति भक्तजनहरुको धार्मिक आस्था उचो रहेको देखिएको उनले बताए ।

माघे संक्रान्तिमा देवघाटमा गएर स्नान गर्दा दुख हरण हुने, सन्तान सुख प्राप्ति हुने र पितृ मुक्त हुने पौराणिक विश्वासको आधारमा देवघाटमा हरेक वर्ष माघे संक्रान्तिमा लाखौँ भक्तजनहरु स्नानको लागि पुग्ने गर्दछन् । मेला परिसर र देवघाट क्षेत्रमा झत्तजनहरुको आवगमन सहज बनाउन र सहजै स्नान गर्न मिल्ने गरी सुरक्षा निकायको सहकार्यमा काम भएकाले कुनै पनि भक्तजनहरुले अप्ठ्यारो महसुस गर्न नपरेको र अप्रिय घटना हुन नपाएको क्षेत्र विकास समिति सदस्य तथा प्रचार–प्रसार समिति सदस्य टंकनाथ पौडेलले बताए । समितिले सशस्त्र प्रहरी बलको आपतकालिन उद्दार टोली प्रयोग गरि जल सुरक्षा गरेको थियो भने नेपाल प्रहरीलाई मेला क्षेत्रको सुरक्षाको जिम्मा दिइएको छ ।

त्यस्तै नेपाली सेनाले स्वास्य शिविर सञ्चालन गरि स्वास्थ्य उपचारको व्यवस्था मिलाएको थियो । मेलामा बिहीबारदेखि नै भक्तजनहरु आउने क्रम भएकोले उनीहरुका लागि खाने र बस्ने व्यवस्थासमेत विभिन्न संघ संस्थाले गरेको उनले बताए । मेला परिसरमा सामुदायीक सेवा केन्द्र नारायणगढले पनि निःशुल्क चिया बिस्कुटको व्यवस्था मिलाएको छ ।

समितिले बिगतका वर्षभन्दा यो वर्ष मेलालाई थप व्यवस्थित गरेको पाइएको भक्तजन अमृत अधिकारीले बताए । क्षेत्र विकास समितिले नुहाउने स्नान घाट, स्नानस्थलसम्म जाने साधन, पार्किङको व्यवस्था, भक्तजनको सुरक्षा र अन्य सबै कुराको बन्दोबस्त मिलाएकाले स्नानमा सहज भएको उनले बताए । क्षेत्र विकास समितिले सवारी साधनको आवगमन व्यवस्थित बनाउन एकतर्फी यातयात सञ्चालन गरी पार्किङको पनि उचित व्यवस्था मिलाएको छ ।

ट्राफिक प्रहरीको परिचालन गरि देवघाट जानको लागि रामनगर, ठिमुरा सडक र फर्कनका लागि बागेश्वरी आपटाँडी सडक प्रयोग गरिएको थियो । भक्तजनहरुको सहजताका लागि एकै पटकमा १ सय बढिले नुहाउन मिल्ने गरि काम गरेकाले मेला व्यवस्थित भएको कार्यकारी निर्देशक जयकृष्ण शर्माले बताए । यसैगरी बोटिङको उचित व्यवस्था र पैदल मार्गबाट जाने झोलुंगे पुलमा पनि सुरक्षाकर्मी परिचालन गरी एकपटकमा एक सयजना मात्र यात्रु हिँड्न दिने व्यवस्था गरिएकाले बिगतमाभन्दा अझै मेला प्रभावकारी भएको उनको भनाई छ । समितिले भक्तजनको सवारी पार्किङ गर्दा र बोटमा नदि वारपार गर्दा चर्को शुल्क लिने गरेको गुनासो बढेपछि यो वर्ष मोटरसाइकलको १०, जिप, कारको २५ बसको ५० पार्किङ शुल्क र बोटको एकतर्फी २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप